जाजरकोटमा जडिबुटी प्रशोधन सुरु

वीरेन्द्रनगर– जाजरकोटको भेरी नगरपालिका–१/३ को राताचौरमा जडिबुटी प्रशोधन केन्द्रमा जडिबुटी प्रशोधनको काम सुरु भएको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम पूरा भएसँगै व्यावसायिक रूपमा कामको सुरुवात भएको छ । भेरी करिडोरको बीचमा रहेको उक्त प्रशोधन केन्द्रमा हाल टिमुर प्रशोधन गरेर कामको सुरुवात भएको छ ।
३० टन टिमुर प्रशोधन गरेर पठाउने लक्ष्य लिइएकोमा साडे चार टन टिमुर खरिद गरी प्रशोधनको काम पूरा भएको छ । पहिलो चरणमा सुगन्धवाल, जटामसी र टिमुर संकलन गरेर प्रशोधन गर्ने कम्पनीको लक्ष्य छ । जाजरकोट मात्र नभई अन्य जिल्लाबाट पनि यहाँ जडिबुटी ल्याएर प्रशोधन गर्न सकिने र कम्पनीले खरिद गर्ने लक्ष्य लिएको छ । जाजरकोट र छिमेकी जिल्लामा उत्पादन भएको जडिबुटीलाई प्रशोधन केन्द्र स्थापना भएसँगै व्यावसायिक रूपमा काम गर्न सजिलो भएको छ ।
किसानले उत्पादन गरेका जडिबुटी सजिलै बजारीकरण गर्नसक्ने अवस्था सिर्जना भएको छ । सडकको पहुँच राम्रो भएकाले यातायातका साधनमार्फत् नै प्रशोधन केन्द्रमा जडिबुटी ल्याउन सजिलो भएको छ । प्रशोधन केन्द्रका कार्यालयका प्रमुख बखतबहादुर साउदले काम सुरु भएसँगै उत्साहसमेत आएको बताए । भेरी करिडोरको बीचमा पर्ने भेरी नगरपालिका–१र ३ राताचौरमा निर्माण कार्य सम्पन्न भएको प्रशोधन केन्द्रले यहाँका सर्वसाधारणलाई फाइदा पुगेको छ ।
सरकारी स्वामित्वको यो प्रशोधन केन्द्रले यहाँका धेरै सर्वसाधारणलाई रोजगारी दिनुका साथै भेरी करिडोर हुँदै जिल्ला बाहिर जाने जडिबुटी जिल्लाभित्र नै प्रशोधन भएर बाहिर जाने अपेक्षा लिइएको छ । डोल्पा, जाजरकोट र रुकुमपश्चिमका व्यापारी अहिले यहाँ प्रशोधनको काम सुरु भएपछि सम्पर्कमा आएको प्रमुख साउदको भनाइ छ । तीन करोड २९ लाखको लागतमा उक्त भवन निर्माण हुन लागेको हो ।
भवन निर्माणलगत्तै अन्य उपकरण ल्याएर जडानको काम भएको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले जनाएको छ । सरकारी स्वामित्वमा रहेको यो केन्द्रले जाजरकोटका साथै जुम्लालाई समेत सहयोग पुग्ने छ । जाजरकोट–जुम्ला सडक जोडिने बित्तिकै जाजरकोट हुँदै कर्णालीका सर्वसाधारण देशका विभिन्न ठाउँमा जाने बाटोसमेत खुल्ने छ । उत्पादन भएको जडिबुटीसमेत भेरी करिडोर हुँदै यहाँ ल्याउन सजिलो हुने गर्दछ ।
भेरी करिडोर नेपाल–भारतको सिमाना जमुनाहबाट सुरु भएर चीनको तिब्बतसम्मा जोडिने गर्दछ । त्रिदेशीय सडकका रूपमा लिइने भेरी करिडोरको जाजरकोटबाट स्तरोन्नति अहिले सुरु भएको छ । स्तरोन्नति सकिएपछि सबैभन्दा बढी जडिबुटी व्यापारीका साथै आर्थिक उपार्जनका रूपमा स्थानीयबासीलाई पनि पर्नेछ । धल्दा रुकुमपश्चिम, सल्यान र डोल्पाको बीचमा भागमा पर्दछ ।
डोल्पालगायतका जिल्लामा उत्पादन हुने रातो च्याउ, अल्लो, टिमुर, काँकडसिङ्गो, लोक्ता, कटुकी, सुगन्धवाल, चिराइतो र काउलो, बोझो, कुरिलो, गुच्ची च्याउ, पदमचाल, तिल्याइलो, विषजरा, यार्सागुम्बु र भृङ्गीराज देशका अन्य स्थानका साथै चीन र भारत निकासी हुँदै आएको छ । चिराइतो, पदमचाल, कटुकी, वनलसुन, सतुवा, सुनाखरी, सेतकचिनी, लोक्ता, अल्लो, सिटमुर, रिठ्ठाको संकलन तथा निकासी भएको छ । प्रशोधन केन्द्रमार्फत् वार्षिक १० करोडको व्यापार हुने अनुमान गरिएको छ ।