Logo

सिमरा रंगशालाको पूर्वाधार बनाउँदै निजी क्षेत्र

बारा– निजी क्षेत्रका उद्योग प्रतिष्ठान तथा ब्यवसायीले बाराको सिमरा रंगशालामा खेलकुदको पूर्वाधार निर्माण गर्न थालेका छन् । मधेस प्रदेशको सिमरा रंगशालामा निरन्तर सञ्चालन तथा फुटबल एकेडेमी सञ्चालन गरी नव जनजागृति युवा क्लबले खेलाडी उत्पादन गरी राष्ट्रिय टिममा योगदान दिन थालेपछि रंगशालाको भौतिक पूर्वाधार निर्माणमा निजी क्षेत्रका उद्योग तथा ब्यवसायीले सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्वाधार विकासमा लगानी गर्न थालेको हो ।

मुलुककै प्रतिष्ठित सिमरा गोल्डकप डेढ दशकदेखि सञ्चालित छ । पथलैया–वीरगन्ज औद्योगिक करिडोरको सहरका रूपमा विकसित बन्दै गएको सिमरालाई मधेस प्रदेशको स्पोर्टस जोनको रूपमा विकास गर्ने उद्देश्यले निर्माण भइरहेको रंगशालामा रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्न सूर्य नेपालले थप दुईवटा गरी ६ वटा फ्लड लाइट जडान गरिरहेको छ ।

करिब ढेड करोड लागतमा बन्दै गरेको उक्त फ्लड लाइट अन्तर्राष्ट्रिय मापदण्डको हुने तथा रात्रिकालिन प्रतियोगिता स्मार्ट तरिकाले सञ्चालन गर्न सकिने बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले बताए । व्यावसायिक पृष्ठभूमिका राजी राणाले निजी गुठीमार्फत् दुई करोड बढीको लागतमा यस क्षेत्रका बालबालिका उच्चस्तरीय फुटबल प्रशिक्षणका लागि आवाशीय सुविधायुक्त भवन निर्माण गरिरहेको छ भने हुलास स्टिलले प्रतियोगिता सञ्चालनमा चाहिने स्ट्रक्चर निर्माणमा जोड दिएको क्लबका महासचिव शम्भुसिंह ठकुरीले बताए ।

प्रत्येक वर्ष सञ्चालन हुने सिमरा गोल्ड कपको मुलुककै ठूलो स्टिल उद्योग जगदम्बा स्टिल प्रायोजक बन्दै आएको छ । अन्य उद्योगले प्रतियोगिता सञ्चालनमा योगदान गर्ने गरेका छन् । मधेस प्रदेशका खेलकुदमन्त्री प्रमोद जैसवालले सिमरा रंगशाला निर्माण तथा यहाँको प्रतियोगिता सञ्चालनमा सरकारभन्दा निजी क्षेत्रको उत्साहजनक सहभागिता रहेको आफूले पाएको बताए । करिडोरमा सञ्चालित उद्योगले सिमरा रंगशालालाई विकास गर्न आफ्नो वार्षिक योजना राख्ने गरेपछि यसको निर्माणले गति लिन थालेको छ ।

स्थानीय सरकार जितपुर–सिमरा उपमहानगरले यसै आर्थिक वर्षबाट अन्तर्राष्ट्रिय मापदण्डको स्मार्ट कभर्ड हल निर्माण गर्दैछ । त्यसबाहेक पनि फुटबल प्रतियोगिता सञ्चालन गर्न ५१ लाख प्रत्येक वर्ष योगदान गरेको बताउँदै उपमहानगरका प्रमुख राजन पौडेलले सिमरा मधेसमै खेलकुदको केन्द्र बन्ने आधार तयार भएको दाबी गरे । १५ हजार दर्शक अट्ने क्षमता रहेको रंगशालामा संघ तथा प्रदेश सरकारले दर्शक बस्ने धमाधम प्यारापिट निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्