शिक्षामा प्रविधिको प्रयोग «

शिक्षामा प्रविधिको प्रयोग

शिक्षा तथा सूचना र सञ्चार प्रविधिबीच गहिरो सम्बन्ध छ । शिक्षामा प्रविधिको प्रयोगलाई अर्थपूर्ण रूपमा हेर्न थालिएको छ ।

समयको गतिसँगै विज्ञान तथा प्रविधिको क्षेत्रमा भएका नवीनतम आविष्कार तथा ज्ञानको विस्फोटले मानव जीवनलाई सहजतासँगै थुप्रै चुनैतीहरू पनि थपिदिएको छ । ज्ञानको संसारमा सिक्ने–सिकाउने प्रक्रियामा नवीनतम आयामहरू थपिँदै आएको छ, जसले गर्दा व्यक्तिले आफ्नो अस्तित्व स्थापित गर्न र युगानुकूल ज्ञानको संसारमा आफूलाई अद्यावधिक गर्नुपर्ने टड्कारो आवश्यकता महसुस गरिएको छ ।
आजको युग सूचना प्रविधिको युगको नामले पनि चिनिन्छ । सूचनाको संकलन, सम्प्रेषण, एवं सञ्चार गर्ने कम्प्युटर, हार्डवेयर, सफ्टवेयर, नेटवर्क, इन्टरनेट, टेलिकम्युनिकेसनलगायतका प्रविधिको समष्टिगत रूपलाई नै सूचना तथा सञ्चार प्रविधि भन्ने गरिन्छ । यसै सन्दर्भमा युगानुकूल सूचना र प्रविधिको विकास तथा प्रयोगमा अगाडि बढेका मुलुकहरूको शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय एवम् अन्य क्षेत्रमा भएको प्रगति उल्लेखनीय छ भने यसको विपरीत सूचना र प्रविधिमा कम पहुँच हुने मुलुकहरूको बीचमा ठूलो खाडल रहेको आभास हुन्छ । यही असमानतालाई मध्यनजर गर्दै नेपालले पनि शिक्षामा सूचना तथा सञ्चार प्रविधिको पहुँचको अभावले सिर्जना गरेको खाडल कम गर्दै लैजाने प्रयासको थालनी गरेको पाइन्छ ।
शिक्षा तथा सूचना र सञ्चार प्रविधिबीच गहिरो सम्बन्ध छ । शिक्षामा प्रविधिको प्रयोगलाई अर्थपूर्ण रूपमा हेर्न थालिएको छ । कक्षा कोठामा प्रविधि प्रयोगका कारण हाम्रो परम्परागत पठनपाठनको सिद्धान्तलाई विस्थापित गरी नयाँँ अवधारणाको सुरुवात भएको पाइन्छ । द्रुतगतिमा विकास हुँदै गएको प्रविधिले थुप्र्रै अवसर तथा चुनौतीहरू ल्याएको छ । विश्वका थुप्रै राज्यमा विभिन्न शैक्षिक उपकरणहरूको प्रयोग अत्यधिक प्रचलनमा आएको पाइन्छ । शिक्षण विधि र प्रक्रियाका सन्दर्भमा विभिन्न विद्वान्हरूका फरक–फरक मत छन् ।
विश्वविख्यात मनोविद् प्याभलभले सिकारुले भूल र प्र्रयत्नका आधारमा सिक्न सक्छन् भनेका छन्् । एलिस क्रोले सिकाइलाई प्रेरणाको उपजका रूपमा लिएका छन् र प्रेरणाले व्यक्तिलाई सिकाइमा ऊर्जा प्रदान गर्छ भन्ने तर्क राख्छन् । त्यस्तै अर्का प्रख्यात शिक्षाविद जोन डिवेका अनुसार शिक्षकले सिकारुलाई जटिल अवस्थामा मार्गप्रशस्त गरिदिने मात्र हो, किनभने ऊ अनुभवी र व्यावहारिक हुन्छ भनेका छन् । यसरी हेर्दा शिक्षण सिकाइमा शिक्षकको भूमिका अत्यन्तै महŒवपूर्ण रूपमा रहेको पाइन्छ ।
हाम्रो मुलुकमा शिक्षाको स्तर र गुणस्तरको विषयले बारम्बार चर्चा पाउने गरेको छ । देशका सम्पूर्ण शैक्षिक संस्थाहरू परम्परागत शिक्षण शैलीको मानसिकताबाट माथि उठ्न सकेका छैनन् । परम्परागत चालचलनहरूलाई अनुसरण गर्दै विद्यार्थीहरूलाई शिक्षकले भनेका शब्दहरू दोहो-याएर, कराएर वाचन गर्ने शिक्षण पद्धति चलनचल्तीमा छन् । शिक्षकका भाषण, प्रवचन, व्याख्या, वर्णनजस्ता शैक्षणिक विधिले अब शिक्षामा गुणस्तरीयता खोज्नु कति सान्दर्भिक हुन्छ, सबैले सोच्नुपर्ने बेला आएको छ । किताबमा लेखिएका विषयवस्तुहरू कण्ठ पारेर परीक्षामा हुबहु जसले नक्कल गर्न सक्यो उसैले उपल्लो ग्रेड प्राप्त गर्ने पद्धतिले गुणस्तर खस्केको छ ।
शिक्षकलाई गुणस्तरीय बनाउन समय–समयमा विभिन्न खालका तालिम गोष्ठीको पनि सरकारले विभिन्न निकायमार्फत व्यवस्था गरेको हुन्छ । तालिमले शैक्षणिक सीप र क्षमतालाई थप परिष्कृत बनाई सिकाइलाई सहजीकरण गर्न मद्दत गर्ने अपेक्षा राखिएको हुन्छ । पूर्वज्ञानलाई थप परिष्कृत गर्न तालिमले सहयोग पु-याउने अपेक्षा गरिएको भए पनि तालिममा सिकेका ज्ञान, सीप, प्रविधि र तरिकालाई सफलतापूर्वक विद्यार्थीको सिकाइमा हस्तान्तरण नगरेको आरोपबाट भने शिक्षक वर्ग अछुतो छैन । यस्ता आरोपलाई गलत सावित गराउन पनि अबका शिक्षक प्रविधिमैत्री हुनैपर्ने बाध्यता सिर्जना भएको छ ।
शैक्षिक संस्था तथा शिक्षकहरूले प्रविधिको प्रयोगमार्फत आफ्ना पठनपाठनका कार्य गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । रेडियो, टेलिभिजन, कम्प्युटर, प्रोजेक्टर, डिजिटल क्यामेरा तथा इमेल इन्टरनेटजस्तो सूचना तथा सञ्चार प्रविधिका उपकरणहरू शिक्षण सामग्रीका रूपमा परम्परागत सामग्रीभन्दा बढी सान्दर्भिक, उपयुक्त, दक्ष र प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ । चित्र, रंग र ध्वनिको सम्मिश्रण हुने हुनाले यसबाट प्रभावकारी शिक्षा प्रदान गर्न सम्भव हुन्छ । ग्रामीण भेगमा दूर शिक्षाको माध्यमबाट सहरी क्षेत्रको सुविधा सम्पन्न विद्यालयमा भएका विविध शैक्षिक क्रियाकलाप एवं पठनपाठनका तरिका देखाउन सकिन्छ ।
भौतिक पूर्वाधारको अभावमा प्रयोगात्मक कक्षा हुन नसक्ने ठाउँमा अन्यत्र भएका प्रयोगात्मक कक्षाको श्रव्यदृश्य सामग्रीको प्रयोग देखाउन सकिन्छ । सूचना प्रविधिको द्रुततर विकास, बढ्दो प्रयोग, यसमा निहित विषय वस्तुको प्रकृति र घट्दो मूल्यका कारण शिक्षण सिकाइ प्रक्रियामा यसको प्रयोग अर्थपूर्ण हुने देखिन्छ । शिक्षाको गुणस्तरलाई नयाँ आयाम दिने, शिक्षाको दायरा फराकिलो हुनुका साथै शिक्षाको सामथ्र्यलाई अझ बढी ऊर्जा प्रदान गर्ने अपेक्षा गर्न सकिन्छ ।
शैक्षिक संस्था तथा शिक्षकहरूले अत्यधिक रूपमा प्रविधिको प्रयोगमार्फत आफ्ना पठनपाठनका कार्यहरू गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । सेटेलाइट प्रविधिका कारण परम्परागत प्रविधि विस्थापित हुने र द्रुत गतिमा चल्ने इन्टरनेटको सेवा अब प्रत्येक शैक्षिक संस्थाले प्रयोगमा ल्याउनुपर्ने बाध्यताको सिर्जना भएको छ । हाम्रा दूरदराजका शैक्षिक संस्थाहरूमा अहिले नै कायापलटको सम्भावना नरहला, तर पनि त्यसतर्फको पूर्वतयारीका साथ लाग्नुपर्ने अवस्था भने बाध्यकारी बन्दै गएको छ ।
इन्टरनेट सेवाले विश्वलाई एउटा सानोे गाउँ र प्रत्येक विद्यार्थी तथा शिक्षकलाई एकआपसमा जोड्ने सेतुको कार्य गर्छ । विश्वको कुनै एउटा कुनामा बसेर अर्को कुनाको हालखबर तथा ज्ञानका कुरा सहजै हासिल गर्न सकिने र आफ्ना प्रतिक्रियाहरू पनि तुरुन्तै प्रदान गर्न सकिनेछ । यसका कारण शैक्षिक संस्थाहरूमा केही आर्थिक बोझ भने अवश्य पर्न सक्छ र शिक्षकले पनि आफूलाई प्राविधिक रूपमा पनि दक्ष बनाउनुपर्ने देखिन्छ । जब हाम्रा शैक्षिक संस्थाहरू प्रविधिमैत्री हुन्छन्, तब विद्यार्थीले आवश्यकताअनुसार एकल अथवा समूहमा शैक्षिक क्रियाकलापहरू गर्नेछन्, जसले गर्दा उनीहरूलाई बढी सामाजिकीकरण हुन सघाउँछ । यस अवस्थामा शिक्षक र विद्यार्थीको प्रत्यक्ष भेटघाट आवश्यक नहुन सक्छ । यो शिक्षक केन्द्रितभन्दा प्रविधिकेन्द्रित हुनेछ, जसले विद्यार्थीलाई आफंै सिक्न प्रेरित गर्छ र शिक्षकको परम्परागत भूमिकामा परिवर्तन ल्याउनेछ । विकसित देशहरूले यो प्रविधिलाई धेरै पहिले नै प्रयोग गरी शैक्षिक क्षेत्रमा ठूलो फड्को मारिसकेको परिवेशमा प्रविधिप्रति वेवास्ता गर्नु शिक्षालाई पुरानै ढाँचा र ढर्रामा हिँडाउने प्रतिगामी सोचबाहेक केही पनि हुन सक्तैन ।
शिक्षामा सूचना प्रविधिले सिर्जना गरेका चुनौती चिर्नुपर्ने र पाठ््यक्रमलाई समयसापेक्ष प्रविधिमैत्री बनाउँदै परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकता महसुस गर्न थालिएको छ । अबका शैक्षिक नीति–निर्माताहरूले शिक्षण सिकाइको गुणस्तरलाई वृद्धि गर्नका लागि सफलतापूर्वक आईसिटीको प्रयोगमार्फत शैक्षिक सेवाहरू दुर्गम ठाउँसम्म कसरी हस्तान्तरण गर्न सकिन्छ भन्नेतर्फ सोच बनाउनुपर्छ । सूचना–प्रविधिका साधनको अभावमा अबको शिक्षा अपूर्ण रहने अवस्था छ । नेपालमा २०२८ सालमा राट्रिय कम्प्युटर केन्द्रद्वारा तालिम दिन सुरु गरी २०४९ सालदेखि विद्यालय तहको शिक्षामा कम्प्युटरसम्बन्धी पठनपाठन सुरु भएको थियो । त्यसपछि सूचना–प्रविधि नीति, २०६७ जारी भई सो नीतिले सबै कार्यमा जोड दिएको छ । आ.व. २०७२-७३ को बजेटमार्फत ग्रामीण र दुर्गम क्षेत्रका १ सयवटा सामुदायिक विद्यालयमा परीक्षणका रूपमा ब्रोडल्यान्ड इन्टरनेटका माध्यमबाट अङ्ग्रेजी, विज्ञान, गणित विषयको पठनपाठन सुरु भएको छ ।
विद्यालाय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी निर्देशिका, २०७९ अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०६३ ले राखेका उद्देश्य पूरा गर्न सूचना–प्रविधिलाई सबै जनतासम्म पु-याउन विद्यालयहरूलाई इन्टरनेट सञ्जालमा जोड्न तथा विद्यालय क्षेत्र सुधार योजना (२००९–२०१५) ले अगाडि सारेको नीतिअनुरूप सूचना तथ सञ्चार प्रविधिको प्रयोगबाट विद्यालयय शिक्षाको गुणस्तर सुधार गरी सहरी तथा ग्रामीण, सुगम तथा दुर्गम र निजी तथा सामुदायिक विद्यालयहरूबीच देखिएको शैक्षिक गुणस्तरको दूरी घटाउने र विद्यार्थीको ज्ञानको दायरा फराकिलो पार्ने भनिएको छ । त्यस्तै सरकारले आ.व. २०७५-७६ को बजेटमा सूचना प्रविधिमैत्री शिक्षामार्फत सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न ग्रामीण दूरसञ्चार कोषको रकमसमेत उपयोग गरी सबै सामुदायिक विद्यालयमा उच्च गतिको निःशुल्क इन्टरनेट सेवा पुर्याउने भनेको छ, तर यस्ता सरकारी प्रतिबद्धता कति पूरा होलान् र त्यसबाट शिक्षामा कस्तो परिवर्तन आउला, त्यो त समयले नै बताउला ।

प्रतिक्रिया दिनुहोस्