हिमामा बेलिब्रिज बनाउन ९० लाख स्रोत सुनिश्चित

जुम्ला– हिमा गाउँपालिका–१ को दियारगाउँदेखि वडा नं. ३ को मोफ्ला गाउँ जोड्ने बेलिब्रिज निर्माण हुने भएको छ । हाल झोलुंगे पुलका भरमा आवतजावत भइरहेका दुई गाउँलाई जोड्न बेलिब्रिज निर्माण गरिने भएको हो । त्यस क्षेत्रमा मोटरेबल पुल नहुँदा गाउँमा उत्पादन हुने कृषि उपजले अपेक्षाकृत रूपमा बजार पाउन सकेको छैन ।
स्याउको सिजनमा ज्यालादारीमा मान्छे लगाएर वडा नं ३ क्षेत्रमा उत्पादन हुने स्याउलाई सडकसम्म पुर्याउने गरिएको छ । लामो प्रयासपछि हिमा गाउँपालिकामै पहिलो बेलिब्रिज निर्माण हुने भएपछि हिमाबासी उत्साहित भएका छन् । पुल निर्माणका लागि सुरुदेखि पहल गरिरहेका जुम्ला निर्वाचन क्षेत्र (ख)बाट निर्वाचित सांसद टेकराज पछाईले लामो समयदेखिको प्रयास सफल भएको बताए ।
‘दियारगाउँदेखि मोफ्ला जोड्न पहिला पक्की पुल निर्माण गर्ने डिजाइनदेखि डिपिआरसमेत भएको थियो,’ उलने भने, ‘पक्की पुल निर्माणको डिपिआर फाइनल भए पनि लगानी जुटाउन नसकिने भएपछि पूर्वाधार विकास कार्यालयसँग समन्वय गरी डिजाइन परिवर्तन गरी बेलिब्रिज बनाउने भनिएको हो । करिब दुई महिनाको पहलपछि बल्ल स्रोत सुनिश्चित भएको छ । चालु आर्थिक वर्षका लागि ९० लाख विनियोजन भएको छ । करिब दुई वर्षभित्र निर्माण सम्पन्न हुन पुलको कुल लागत अनुमान पाँच करोड गरिएको छ ।’
चालु आवमा कार्यान्वयन हुने गरी पहिलो चरणमा आर्थिक मामिला तथा योजना मन्त्रालयले ९० लाख स्रोत सुनिश्चित गरेको छ । फाइल योजना आयोगमा जाने र आयोगले भौतिक पूर्वाधार मन्त्रालयमामा फाइल पठाएपछि मन्त्रालयले जुम्लास्थित पूर्वाधार विकास कार्यालयलाई पुल निर्माण प्रक्रिया अघि बढाउन सहमति दिने सांसद पछाईले जानकारी दिए ।
भौतिक मन्त्रालयको सहमतिपछि पूर्वाधार विकास कार्यालय ठेक्का आह्वान गरी पुलको निर्माण प्रक्रिया अघि बढाउने छ । पुल निर्माणका लागि माओवादीको सरकार हुँदा पनि थोरै बजेट विनियोजन भएको थियो । तर पुल निर्माणले पूर्णता पाउने गरी स्रोत सुनिश्चित नभएपछि काम अघि बढ्न सकेन । निरन्तरको पहलपछि बल्ल चालु आवमा ९० लाख स्रोत सुनिश्चत भएपछि पुल निर्माणको बाटो खुलेको छ ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमामा निर्माण हुने बेलिब्रिजले स्थानीयको दैनिकीलाई सहज बनाउनुका साथै आयआर्जन वृद्धिमा टेवा पुग्ने बताए । अर्थमन्त्रीसँंग भेटेपछि बेलिब्रिज बनाउन स्रोत सुनिश्चित भएको जानकारी दिए । उनले भने, ‘स्रोत सुनिश्चित भएसंँगै पुल निर्माण हुने कुराले निकै उत्साहित छु । हिमा गाउँपालिका–१ देयारगाउँ र वडा नं. ३ मोफ्ला गाउँ जोड्ने गाउँ बेलिब्रिज निर्माणले गाउँमा विकासको अनुभूति हुने अपेक्षा छ । पुल निर्माण प्रक्रिया थालनी गर्नेदेखि हाल स्रोत सुनिश्चित हुने बेलासम्म पहल तथा समन्वय गर्नेलाई धन्यवाद दिन चाहन्छु ।’
साथै हिमाका युवा उद्यमी बलबहादुर रोकायाले चाँडै ठेक्का आह्वान भई निर्माण प्रक्रिया अघि बढाउनु पर्ने बताएका छन् । गाउँगाउँमा सडक पुगे पनि हिमानदी माथि पुल नहुँदा पिठ्यूँका भरमा स्याउ बोक्नुपर्ने बाध्य रहेको उनको दु:खेसो छ । अब चाँडै पुल निर्माण भएर कृषि उत्पादनको सहज निर्यात गर्न पाउने उनको अपेक्षा छ ।