Logo

तिब्बत जोड्न अब एक किमिमात्रै बाँकी

भीर खोप्दै अघि बढ्दै सडक

दोलखा– विगू गाउँपालिका–१ लामाबगरदेखि उत्तर जाँदा अहिले धमाधम भीर खोपिँदै छ । बाँदरसमेत लड्ने भीर खोप्न आजभोलि दैनिक पाँच सयभन्दा बढी मजदुर परिचालित छन् । ड्रिल गर्दै विष्फोटक पदार्थ चट्टानका प्वालमा हाल्ने र विस्फोट गराउन सिभिल मजदुरका साथमा नेपाली सेना र प्रहरी पनि सँगसँगै भेटिन्छन् । साइटमा स्काभेटर, ट्याक्टर र मेसिनलाई आवश्यक तेल ढुवानीका लागि मजदुर पनि भेटिन्छन् ।

मोबाइलको नेटवर्क, इन्टरनेट र बिजुलीजस्ता आधुनिक प्रविधिभन्दा टाढा हुने यस क्षेत्रमा सडक निर्माण जारी छ । चार वर्षदेखि जारी सडक निर्माणको कामले लामाबगरदेखि थाम्चेम्बूसम्म २० किलोमिटरमा सडकको ट्रयाक खोल्ने काम चलिरहेको छ । सडकको ट्रयाक खोल्नका लागि सबैभन्दा कठिन हुरहुरे भीरसम्म हो । यही क्षेत्रमा द्रैनिक भीर खोप्दै विष्फोटक पदार्थ भर्दै विष्फोट गराउँदै सडकको ट्रयाक निकाल्ने काम जारी छ । अब यसको पनि काम अन्तिम चरणमा पुगेको छ ।

बाहिरबाट सडक निर्माण गर्न नसक्ने लामाबगरको सुरुवाति विन्दु– माथिल्लो तामाकोसी बाँध क्षेत्र) मा ११ सय मिटरको सुरुङमार्ग बनेको छ । यहाँ दुई वर्षदेखि गाडी आवतजावत गरिरहेका छन् । पैदलयात्री स्थानीय पनि यही सुरुङमार्ग प्रयोग गर्छन् । अहिले खराने खोलासम्मको पाँच किलोमिटरसम्म भीर काटेर तयार भएको सडकमा गाडी गुड्छ । खराने खोलामा बेलिब्रिज राख्ने तयारी छ । पुल राख्ने जग पनि भीर नै काटेर तयार गरिएको छ ।

खराने खोलादेखि जुम खोला खण्ड र हुरहुरे भीर काट्ने काम जारी छ । लप्ची खोला र जुम खोला मिसिएर बनेको तामाकोसी नदीको केही तल पनि बेलिब्रिज बनाउने तयारी छ । यसका लागि सबै सामान लामाबगर आइपुगेका छन् । खराने खोलाबाट एक किलोमिटर जति गएपछि एउटा सडक नदी तरेर हुरहुरे भीर हुँदै लप्चीतिर लाग्छ । लप्चीतिर जाने सडकको हुरहुरे भीरभन्दा माथितिरको १३ किलोमिटर सडक ट्रयाक दुई वर्षअघि नै खोलेर ट्याक्टर, बोलेरो र मोटरसाइकल चल्छन् ।

यहाँ सडक निर्माणका लागि स्काभेटर, ट्याक्टर, बोलेरो हेलिकप्टरबाट उडाएरै लगिएका हुन् । त्यसैगरी जुम खोला बगरमा पनि एक वर्षअघि एउटा स्काभेटर उडाएरै लगियो । त्यसले पनि सडक ट्रयाक खोल्दै लामाबगरतिर आउँदै छ । अब जुम खोलातिरबाट आएको डोजरले खराने खोलातिर सडक जोड्न तीन सय मिटरजति मात्रै बाँकी छ । त्यहाँ पनि धमाधम काम हुँदैछ । अब कठिन भीर काटेर बनेको सडक र दुई वटा पुल तयार भएपछि यही वर्षभित्रै गाडी चल्न योग्य हुनेछ ।

यसका लागि दुई महिना लाग्ने सडक निर्माणमा खटिएका इन्जिनियरको भनाइ छ । सडक निर्माणका लागि अर्बौं खर्च भइरहेको छ । यो सडक निर्माण गर्न कुनै सरकारी निकायले काम गरेको होइन । यी सबै निजी क्षेत्रका कम्पनीले गर्दैछन् । लगानी पनि आफैं गरिरहेका छन् । लामाबगरदेखि माथिल्लो क्षेत्रमा निर्माण प्रस्ताव गरिएका जलविद्युत आयोजनाका लागि निजी क्षेत्रबाटै कठिन भीर खोप्दै सडक निर्माण भइरहेका हुन् ।

लप्ची खोलामा प्रस्ताव गरिएको १६० मेगावाटको लप्ची खोला जलविद्युत आयोजनाका लागि प्रवद्र्धक नासा हाइड्रोपावर कम्पनीले चार वर्षदेखि सडक निर्माण गर्दैछ । नासा हाइड्रोमा एमभी दुगड ग्रुपको लगानी छ । ११ सय मिटर सुरुङमार्ग सहितको २० किलोमिटर सडक यसैले निर्माण गरिरहेको छ । यो निजी क्षेत्रको सबैभन्दा ठूलो निर्माणाधीन जलविद्युत आयोजना हो । त्यसैगरी जुमखोलामा ५६ मेगावाटको सानिमा हाइड्रोपावर कम्पनीले प्रस्ताव गरेको जलविद्युत आयोजना छ ।

एक वर्ष अघिदेखि सानिमा हाइड्रोपावर सडकको ट्रयाक खोल्ने काममा परिचालन भइरहेको इन्जिनियर मनोज सेढाईंले जानकारी दिए । सानिमाको एउटा डोजरले जुमखोलाको हेडवक्र्सको अन्तिम विन्दुबाट ट्रयाक खोल्न थालेको हो । एक किलोमिटर सडक खनिसकेको छ । अब तीन सय मिटर भीर काट्दा तामाकोसीतिरको ट्रयाक जोडिन्छ ।

खराने खोलादेखि तामाकोसी पुलसम्मको एक किलोमिटर सडक पनि सानिमा जुमले नै निर्माण गरिरहेको छ । सुरुवाति चरणमा धेरै सडक नासाले नै खने तापनि सानिमा जुम कम्पनी पनि गएपछि दुई वटा पुलसहित एक किलोमिटर सडक सानिमाले बनाउन लागेको सानिमा जुम जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृत कमल खकुरेलले जानकारी दिए ।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीसहितको टोली सडक निर्माण क्षेत्रको स्थलगत निरीक्षणमा पुग्यो । निजी क्षेत्रले कठिन भीर छिचोलेर गरेको सडक निर्माणले देशकै सडक सञ्जाल विस्तारमा सहयोग पुग्ने बताए । माथिल्लो क्षेत्रमा सडक निर्माणका कारण तल्लो तटीय क्षेत्रमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जलाशयमा भने असर गर्ने हुँदा यसप्रति सबै पक्ष सजग हुनुपर्ने जिसस प्रमुख घतानीले बताए ।

उत्तरी नाका जोड्न एक किमिमात्रै बाँकी
निजी क्षेत्रले सडक निर्माण गरेका कारण उत्तरी नाका जोड्न पनि सहज भएको छ । नेपाल–चीन सिमाको ६१ नं. पिलरभन्दा एक किलोमिटर मात्रै तल्लो तटीय क्षेत्रमा सानिमा जुम खोला जलविद्युत आयोजनाको हेडवक्र्स पर्छ । हेडवक्र्ससम्म सडक ट्रयाक खोलेकाले अब एक किलोमिटरमात्रै सडक ट्रयाक खोले चीनको सिमाना सडक सञ्जालले जोडिन्छ । चिनियाँ पक्षले नौ महिनाअघि नै यहाँबाट नाका खोलेको छ । ६१ नं. पिलर हुँदै जाँदा तिब्बतको रोङसिया पुगिन्छ ।

नौ महिनाअघि चिनियाँ पक्षले आयोजना गरेको नाका उद्घाटन कार्यक्रममा गत जेठमा रोङसिया पुगेर फर्केका विगू गाउँपालिका–१ का वडाध्यक्ष मेम्बा तामाङका अनुसार सिमाना नजिकसम्म चिनियाँ पक्षले सडक ट्रयाक खोलिसकेको छ । तर तीन वर्षअघि आएको बाढीले क्षति पुर्‍याएपछि मर्मत भएको छैन । खोला तर्न चिनियाँ पक्षले अहिले झोलुंगे पुल हालेको छ । त्यहाँबाट थप आधा घण्टा हिँडेपछि तिब्बतको पक्कि सडक भेटियो । सानिमा जुमको हेडवक्र्सबाट ढिलोमा आधा घण्डा हिँड्दा चिनियाँ सिमाना पुगिन्छ ।

सडक विभागले लामाबगरदेखि उत्तर सिमाना जोड्ने सडकका लागि अर्थ मन्त्रालयबाट २० करोडको अख्तियारी पाएको छ । त्यो बजेट यही सडकमा खर्च गर्ने हो भने दुवै देशको सडक सञ्जाल जोडिएर व्यापारिक कारोबार गर्नसमेत योग्य पुराना व्यापारीसमेत रहेका विगू गाउँपालिका–४ का वडाध्यक्ष रामन्द्र खड्काको भनाइ छ । लप्चीतिरको गाउँ पुग्न पनि थाम्चेम्बुबाट १० किलोमिटर थप सडक निर्माण गर्दा गाउँ नजिक पुग्छ । तर लप्ची परम्परागत रूपमै ध्यान स्थल भएकाले यसलाई सुरक्षित राख्नु पर्ने आवाज पनि उठ्दै आएको छ ।

नेपाल, भारत र चीन त्रिदेशीय नाकाको रूपमा पनि उत्तर–दक्षिण सबैभन्दा छोटो अर्थात् महोत्तरीको भिट्टामोडदेखि लामाबगरसम्म २६४ किमि सडकमा यातायात सञ्चालन भइरहेको छ । भित्तामोडदेखि चरिकोटहुँदै सिंगटीसम्म २३६ किलोमिटर कालोपत्रे सडक छ । सिंगटीदेखि लामाबगरसम्म २८ किलोमिटर ग्राभेल सडक छ । सिंगटीदेखि तामाकोसी बजारसम्म तामाकोसी करिडोर पनि निर्माणाधीन छ । त्यो करिडोर पूरा हुँदा थप ३० किलोमिटर सडक छोटिन्छ । लामाबगरबाट चीनको सिमाना ६१ पिलर पुग्न आठ किलोमिटर मात्रै सडक पर्छ ।

लामाबगर नाका हुँदै चीन जोड्ने अन्य सडकभन्दा छोटो र वर्षात्मा पहिरोको जोखिम पनि कम भएको सुरक्षित सडकको रूपमा यसलाई व्यापारिक नाका हुने विगू गाउँपालिका अध्यक्ष सञ्जीव ओलीले बताए । २०२२ सालमा तातोपानीबाट सडकमार्ग खुल्नु अघिसम्म काठमाडौंको तिब्बतसँगको परम्परागत व्यापारिक नाका लामाबगर नै हो । उही बेला स्थापना गरेको भन्सार कार्यालय अहिले पनि छ । सीमा प्रशासन कार्यालय, सशस्त्र प्रहरीको सीमा सुरक्षा बल, सीमा प्रहरी चौकी लामाबगरमा छ ।

प्रतिक्रिया दिनुहोस्