Logo

विदेशमा मृत्यु, अंगभंग श्रमिकलाई ५८ करोड सहयोग

काठमाडौं– वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग तथा शव व्यवस्थापनमा सरकारले ५८ करोड रुपैयाँँ आर्थिक सहयोग वितरण गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनामा विदेशमा मृत्यु, अंगभंग, उद्दार तथा शव व्यवस्थापनमा सो सहयोग रकम खर्च गरेको हो । चालु आर्थिक वर्ष साउनदेखि पुससम्म वैदेशिक रोजगारीका क्रममा ७५५ श्रमिकको विदेशी मृत्यु भएको थियो भने २४१ श्रमिक अंगभंग भएका थिए ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै वैदेशिक रोजगार बोर्डले दिनुपर्ने अनिवार्य आर्थिक सहयोग रकमको भारसमेत बढेको बोर्डले जनाएको छ । चालु वर्षको सो अवधिमा बोर्डले मृत्यु भएका श्रमिकका परिवारलाई ४६ करोड ८६ लाख रुपैयाँँ आर्थिक सहायता वितरण गरेको बोर्डका निर्देशक टिकाराम ढकालले जानकारी दिए ।

यसैगरी अंगभंग भएका २४१ श्रमिकको उपचारका लागि ७ करोड २८ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरिएको छ । विदेश अलपत्र ३७ शव नेपाल ल्याउन एक करोड ६१ लाख, विदेशबाट ल्याइएका ४३४ शव गृहजिल्ला ढुवानीका लागि एक करोड २५ लाख रुपैयाँ खर्च गरेको बोर्डले जनाएको छ ।

बोर्डले श्रम स्वीकृति लिई सो अवधी भित्र स्वदेश वा विदेशमा मृत्यु भएको अवस्थामा मृतकका नजिकका हकवालालाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने गरेको छ । यो वर्षबाट मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता ७ लाखबाट बढाएर १० लाख रुपैयाँ बनाएपछि बोर्डलाई आर्थिक भारसमेत बढेको छ ।

विदेशमा मृत्यु भएका तर सरकारबाट आर्थिक सहायता माग गर्ने मापदण्डमा नपरेको संख्या जोड्दा भने विदेशमा मृत्यु हुनेको संख्या भने केही बढी हुने विज्ञको भनाइ छ । यद्दपि गत आर्थिक वर्षमा भने हालसम्मकै सबै भन्दा बढी नेपाली श्रमिकले विदेशी भूमिमा मृत्युवरण गरेको बोर्डले सार्वजानिक गरेको तथ्यांकमा उल्लेख छ । बोर्डले सार्वजानिक गरेको प्रगति प्रतिवेदन उल्लेख छ ।

स्वदेशमा कडा स्वास्थ्य परीक्षण गरेर गएर युवाको मृत्यु संख्या प्रतिवर्ष बढ्दै गएर छ । बिगत १० वर्षको मृत्यु आंकडा हेर्दा १० हजार २७४ बढीको विदेशमा मृत्यु भइसकेको छ । बोर्डका अनुसार आव २०७१/०७२ देखि आव २०८०/०८१ सम्म १० वर्षको अवधीमा सो संख्यामा नेपालीले ज्यान गुमाएका हुन् । यो संख्या बिगत ५ वर्षदेखि भने उच्च देखिन थालेको छ ।

बिगत ५ वर्षमा मात्र ६ हजार ७५ युवाले रोजगारीका क्रममा ज्यान गुमाएका छन् । गत आर्थिक वर्षमा मात्र १ हजार ४९२ नेपाली श्रमिकले ज्यान गुमाएको थिए । यो संख्या मृत्युको तथ्यांक राख्न सुरु गरेपछि सबै भन्दा बढी हो । यसैगरी गत आवमा ५७८ जना अंगभंग भई स्वदेश फर्किएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ ।

औद्योगिक दर्घटना, आत्महत्या र सडक दुर्घटनालगायतले विदेशमा धेरै नेपालीको मृत्यु हुने गरेको विवरण धेरै आउने गरे पनि त्यसबारे अध्ययन भएको छैन । बोर्डको पछिल्लो तथ्यांकले रोजगारीका क्रममा विदेशमा मृत्यु हुने नेपालीको संख्या घटेको देखिँदैन । रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या घटेसँगै गन्तब्य मुलुकमा मृत्यु हुनेको संख्या पनि घटेको देखिन्छ । तर हाल पुन: बढ्ने क्रममा रहेको छ ।

श्रम स्वीकृति लिएर कडा स्वास्थ्य परीक्षण गरेर गएका नेपालीको मृत्यु हृदयघात, सडक दुर्घटना, औद्योगिक दुर्घटना तथा आत्महत्यालगायत कारणले बढी हुने गरेको देखिए पनि यसको कारण भने खोजिएको छैन । यसरी मृत्यु हुनेमध्ये कारण पत्ता नलाग्नेको संख्या पनि धेरै रहेको छ । मृत्युको कारण नै नहुने गरी कस्तो अवस्थामा ज्यान गएको भन्ने विषयमा खोजी गर्नुपर्ने आवाज उठन थालेको छ ।

रोजगारीका लागि विदेश जाने १८ वर्षदेखि ४५ वर्षको उमेर समुहको मृत्युदरलाई आधार मानेर नेपालमा सोही उमेर समुहका कति युवाको मृत्यु हुने गरेको छ भन्ने अध्ययान सरकारले गर्न सकेको छैन । यसरी नेपालमा रहँदा सो उमेर समुहमा हुने मृत्यु र विदेशमा हुने मृत्युको अध्ययान हुनसके विदेशमा हुने मृत्युको कारण र स्वास्थ्य परीक्षणका मापदण्डका सम्बन्धमा जानकारी हुन सक्ने विज्ञहरुले बताएका छन् । साउदी अरब, कतार र युएइको तुलनामा मलेसियामा रोजगारीको क्रममा हुने श्रमिकको मृत्यु दर धेरै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्