Logo

नेपाल लाइफले २१.०५ प्रतिशत लाभांश दिने

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा वीरगन्जमा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष गोविन्दलाल संघईले प्रस्तुत गरेको आ.व.२०८०/०८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरी पारित गरिएको छ ।

लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व.२०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आ.व. २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।

साधारण सभाले आ.व. २०८०/८१ को वितरण योग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको २१.०५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

२०८१ असोज मसान्तसम्ममा कम्पनीको लगानी २१५ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २०८ अर्ब रुपैयाँ र सेयरधनी कोष १२ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । यसका साथै कम्पनीले हालसम्म २८८ अर्ब रुपैया बीमाशुल्क आर्जन गरेको छ भने ८४ अर्ब जम्मा दावी भुक्तानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्