नेपाल बिल्डटेक एक्स्पो २०२० शुक्रबारदेखि «

नेपाल बिल्डटेक एक्स्पो २०२० शुक्रबारदेखि

नेपाल निर्माण व्यवसायी महासंघको २१ औं साधारण सभा यही माघ ३ र ४ गते भक्तपुरको सल्लाघारीमा हुने भएको छ । देशभरका १५ सय भन्दा बढी व्यवसायीको सहभागिता रहने साधारणसभाको तयारी पूरा भएको महासंघले मंगलबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन र पूरा हुन बाँकी रहेका अन्य मागहरुका विषयमा साधारण सभामा छलफल भइ महासंघको भक्तपुर घोषणापत्र जारी गरिने महासंघका महासचिव रोशन दाहालले बताए ।
दाहालका अनुसार साधारणसभा सम्पन्न गर्नका लागि महासंघका अध्यक्ष रवि सिंहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । साधारणसभाको उद्घाटन सत्रमा उपप्रधानमन्त्री इश्वर पोख्रेलबाट निर्माण क्षेत्रमा केन्द्रीत रही विज्ञहरुका लेख रचना समेटिएको महासंघको मुखपत्र ‘नेपाली निर्माण विशेषांक’को विमोचन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । 
साधारणसभासँगै महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा माघ ३ देखि ५ सम्म साधारणसभास्थल भक्तपुरको सल्लाघारी मैदानमा नेपाल बिल्डटेक एक्स्पो २०२० पनि आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
महासंघले आफ्नो इतिहासमा नै पहिलो पटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रियस्तरको यस एक्स्पो निर्माण क्षेत्रमा रुची राख्ने सबैका लागि उपयुक्त मञ्च हुने महासंघका अध्यक्ष सिंहले बताए । “निर्माण व्यवसायीलाई विश्व बजारमा आएका नयाँ नयाँ निर्माण यन्त्र र उपकरणबारे अवगत गराउन एक्स्पो उपयुक्त मञ्च बन्नेछ” अध्यक्ष सिंहले भने ।

 

प्रतिक्रिया दिनुहोस्