सबै ७५३ स्थानीय तहमा बैंकिङ सेवा

काठमाडौं– देशका ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार भएको छ । बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा विस्तार भएसँगै देशका सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको हो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हेलिकप्टरमार्फत साइपाल गाउँपालिका पुगेर सोमबार एभरेष्ट बैंकको शाखा उद्घाटन गरे । संघीय संरचना निर्माण भएको ८ वर्षपछि गत असोजमा ७५३ औं स्थानीय तहमा एभरेष्ट बैंकले शाखा सञ्चालनमा ल्याएको थियो । भौगोलिक रुपमा विकट बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकले शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले गत असोजमा नै उक्त शाखा सञ्चालनमा ल्याएको थियो । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेसँगै गभर्नर अधिकारी बैंकको उक्त शाखा उद्घाटन गर्न पुगेका हुन् । एभरेष्ट बैंकको व्यवस्थापन र सञ्चालक समितिका पदाधिकारीसहित गभर्नर अधिकारी हेलिकोप्टरमा शाखा उद्घाटनको लागि पुगेका हुन् ।
सुदूरपश्चिम प्रदेश बझाङको विकट स्थानीय तह साइपाल गाउँपालिकामा बैंक शाखा विस्तार गर्ने एभरेष्ट बैंक पहिलो हो । संघीयता लागु भएपछि हरेक पालिकामा बैंक तथा वित्तीय संस्थाको पहुँच पुगे पनि साइपाल गाउँपालिकामा पुगेको थिएन ।
सरकारले चालु आवको बजेट सार्वजनिक गर्दै यसै वर्ष साइपालमा बैंक शाखा पुर्याउने घोषणा गरेको थियो । राष्ट्र बैंकले २०७४ सालमै साइपाल गाउँपालिकामा बैंकिङ सेवा दिने जिम्मा एभरेष्ट बैंकलाई दिएको थियो । सडक, सञ्चार, सुरक्षालगायत पूर्वाधार स्थानीय स्तरसम्म उपलब्ध नभएसम्म त्यहाँ शाखा स्थापना गर्न नसक्ने भन्दै एभरेष्टले शाखा खोलेको थिएन । चालु आवको सुरुवातदेखि नै पूर्वाधार विस्तार पनि बढ्दै गएकाले बैंकले शाखा विस्तारका लागि सक्रियता बढाएको थियो ।
आफ्नो पालिकामा बैंकको शाखा नहुँदा साइपालबासी करिब चार दिन पैदल यात्रा गर्दै सदरमुकाम चैनपुर पुगेर कारोबार गर्न बाध्य थिए । साइपाल गाउँपालिकाका प्रतिनिधिले यसअघि आफ्नो गाउँपालिकामा शाखा विस्तार गर्न बैंकहरूलाई आग्रह गर्दै आए पनि सफल भइसकेको थिएन ।
केही समयअघि बैंक स्थापना गर्न सकिने–नसकिनेबारे स्थलगत अध्ययन गर्न राष्ट्र बैंकको टोली साइपाल गाउँपालिकाको केन्द्र काँडासम्म पुगेको थियो । सो टोलीले साइपालमा बैंक स्थापना गर्न सम्भव भएको निष्कर्ष निकालेपछि यसतर्फ काम अगाडि बढाइएको थियो ।
साइपाल गाउँपालिकामा तीन हजारभन्दा बढी नागरिक बसोबास गर्छन् । उनीहरूमध्ये करिब ७ सयले मात्रै विभिन्न कामको शिलशिलामा बैंक खाता खोलेका छन् । बैंक शाखा गाउँपालिकामै हुँदा स्थानीयलाई धेरै सहज हुने र वित्तीय पहुँचमा पनि सबै नागरिक समेटिने विश्वास गाउँपालिका अध्यक्ष मानविर बोहराको छ । साइपालमा धेरै पुरुषले जाँडरक्सीमा पैसा खर्च गर्दै आएका छन् । बचतको बानी नहुँदा उनीहरूले पैसा जोगाउन सकेका छैनन् । अब भने बैंकमा पैसा राख्ने बानी गराउन सकिए कुलत न्यूनीकरणमा समेत सहयोग पुग्ने स्थानीयको अपेक्षा रहेको बोहराले बताए ।