नेपाललाई पनि महाकुम्भ मेलाबाट फाइदा

प्रयागराज (उत्तरप्रदेश, भारत)– भारतीय राज्य उत्तरप्रदेशको प्रयागराजमा सञ्चालन भइरहेको महाकुम्भ मेलाले विश्वभर धार्मिक पर्यटनमा हलचल मच्चाएको छ ।
४० करोडभन्दा बढी नागरिकले स्नान र भ्रमण गर्ने अपेक्षा गरिएको महाकुम्भ मेलाले विश्वभरका हिन्दूसहित अन्य समुदायको पनि ध्यान तानेको हो । प्रयागराजमा सञ्चालन भइरहेको महाकुम्भ मेलाले नेपाललगायत मुलुकलाई पनि प्रत्यक्ष फाइदा पुग्ने जानकारहरु बताउँछन् । महाकुम्भमा नेपाली तीर्थयात्रु र श्रद्धालुहरुको पनि बाक्लो उपस्थिति छ ।
महाकुम्भ मेला २०२५ का सूचना अधिकारी गगन यादवले हिन्दू जागरणका दृष्टिले मेला ऐतिहासिक रुपमा सफल भएको उल्लेख गरे । उनले यो मेलाले नेपाललाई पनि फाइदा पुग्ने बताए । ‘नेपाल र भारतका हिन्दू तीर्थस्थलहरु एक आपसमा जोडिएका छन् । त्यसैले यो महाकुम्भ सफल हुनु भनेको भारतका लागि त फाइदाजनक छँदैछ, नेपालका लागि पनि उत्तिकै महत्वपूर्ण छ,’ यादवले भने, ‘नेपालका पशुपतिनाथ, मुक्तिनाथ लगायतका कतिपय तीर्थस्थल नपुगी हिन्दूहरुको धार्मिक यात्रा पूर्ण नहुने भएकाले नेपालले पनि यसको लाभ अवश्य प्राप्त गर्नेछ ।’
उनका अनुसार मेलास्थल प्रयागराज रहेको उत्तरप्रदेशसँगै सिंगो भारतले यसबाट लाभ प्राप्त गर्दा नेपालको धार्मिक पर्यटनमा पनि त्यसको प्रभाव पर्नेछ । ‘महाकुम्भको लाभ क्षणिक होइन, पछिसम्म रहिरहनेछ । नेपालले पनि त्यसको महशुस गर्नेछ,’ उनले नेपालका केही पत्रकारसँगको अन्तरक्रियामा भने, ‘हिन्दू सर्किटलगायत हाम्रा परियोजनाहरु अघि बढाउने उपयुक्त बेला आएको छ ।’ उत्तरप्रदेशको अर्थतन्त्रलाई मेलाले माथि उठाउने र भारतको सबैभन्दा बढी जनसंख्या भएको यस प्रान्तलाई विश्वलाई नै चिनाउने अवसरको रुपमा मेलालाई लिइएको छ । महाकुम्भपछिका दिनमा यस क्षेत्रको विकास ‘भाइब्रेन्ट उत्तरप्रदेश’का रुपमा अघि बढ्ने उनी बताउँछन् ।
फागुन १४ अर्थात् शिवरात्रिसम्म रहने मेलाको व्यवस्थापकीय पक्ष पनि निकै चुस्त र सशक्त रहेको छ । यसअघि भागदौडको एक घटनाबाहेक अहिले व्यवस्थापनलाई निकै सशक्त रुपमा अघि बढाइएको छ । महाकुम्भ मेला संसारकै सबैभन्दा ठूलो धार्मिक जमघट भएकाले यसको व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण रहे पनि आफूहरु सफल रहेको यादवको भनाइ छ । भारत सरकार, उत्तरप्रदेश सरकार, स्थानीय प्रशासन तथा विभिन्न संस्थाहरूको सहकार्यमा महाकुम्भ मेला भव्य रूपमा सञ्चालन भइरहेको छ । मेलामा करोडौं तीर्थयात्री, साधुसन्त, विदेशी पर्यटकहरू सहभागी छन् । मेलामा सुरक्षा, यातायात, आवास, खानपान, स्वास्थ्य आदि पक्षहरूको उच्च व्यवस्थापन गरिएको छ ।
महाकुम्भ मेला धर्म, संस्कृति, अध्यात्म तथा व्यवस्थापनको अनौठो संगम रहेको मेलाका सहभागीहरु बताउँछन् । ४० करोडभन्दा बढी श्रद्धालु सहभागी हुने महाकुम्भ मेला इतिहासकै सबैभन्दा ठूलो धार्मिक जमघट हो । प्रयागराज कुम्भमेला विश्वकै सबैभन्दा ठूलो धार्मिक तथा सांस्कृतिक मेला हो । यो भारतको उत्तरप्रदेश राज्यको पहिले इलाहाबाद भनिने प्रयागराजमा गंगा, यमुना र सरस्वती नदीको संगम तटमा आयोजना गरिएको छ । कुम्भमेला हिन्दू धर्ममा निकै पवित्र मानिन्छ । पौराणिक कथाका अनुसार जब देवता र असुरहरूले समुद्र मन्थन गरे, त्यतिबेला अमृतको घट (कुम्भ) बाट केही थोपा पृथ्वीमा खस्यो । यसले गर्दा चार पवित्र स्थानहरू प्रयागराज, हरिद्वार, उज्जैन र नासिकमा कुम्भमेला मनाइन्छ ।
प्रत्येक १२ वर्षमा एकपटक प्रयागराजमा पूर्ण कुम्भमेला आयोजना गरिन्छ भने प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला आयोजना गरिन्छ । प्रत्येक १४४ वर्ष अर्थात् १२ कुम्भ चक्रपछि महाकुम्भ मेला हुने भएकाले यसपटक प्रान्तीय सरकारसँगै केन्द्रको नरेन्द्र मोदी सरकार समेतले यसलाई प्रतिष्ठाको विषय बनाएको छ । कुम्भमेलामा मकर संक्रान्तिमा पहिलो शाही स्नानसहित पौष पूर्णिमा, मौनी अमावस्या, बसन्त पञ्चमी, माघी पूर्णिमामा बढी भीडभाड रहेको र अब अन्तिम दिन अर्थात् महाशिवरात्रिमा श्रद्धालुहरुको बढी भीड हुने बताइएको छ ।
मेलामा डिजिटल प्रविधिको प्रयोग गरी लाइभ स्ट्रीमिङ, मोबाइल एप्स, टेन्ट सिटी जस्ता सुविधाहरू उपलब्ध गराइएका छन् । भारतीय रेलले विशेष कुम्भ एक्सप्रेस तथा थप ट्रेन सेवा सञ्चालन गरेको छ भने प्रयागराज जंक्शन, प्रयाग स्टेशन, झूसी तथा अन्य नजिकका रेलवे स्टेशनहरूमा यात्रुलाई सुविधा पुर्याइरहेको छ । यस्तै, उत्तरप्रदेश राज्य यातायात निगमद्वारा विशेष बस सेवा सञ्चालन गरिएको छ । दिल्ली, लखनऊ, वाराणसी, कानपुर जस्ता ठूला शहरहरूबाट अतिरिक्त बस सेवा उपलब्ध गराइएको सूचना अधिकारी यादवले जानकारी दिए । प्रयागराज विमानस्थलमा अतिरिक्त उडानहरूको व्यवस्था गरिएको छ भने निकटवर्ती लखनऊ र वाराणसी विमानस्थलबाट पनि उडान संख्या थप गरिएको छ । गंगा नदीमा विशेष बोट सर्भिस तथा फेरी सर्भिसको व्यवस्था गरिएको छ, जसले मेलाको विभिन्न क्षेत्रहरूमा आवतजावत सहज बनाइरहेको छ ।
कुम्भमेलामा करोडौं श्रद्धालुहरूको बसोबासको व्यवस्था गर्न विभिन्न स्तरका आवास सुविधा उपलब्ध छन् । जसमा टेन्ट सिटी अन्तर्गत सामान्य टेन्टदेखि लक्जरी कटेजसम्म छन् । ती टेन्टहरूमा शौचालय, पानी, बिजुली तथा सुरक्षा व्यवस्था मिलाइएको छ । विभिन्न धार्मिक संस्था तथा मठ–आश्रमहरूले निःशुल्क वा सस्तो शुल्कमा आवास सुविधा प्रदान गरिरहेका छन् । प्रयागराज तथा आसपासका शहरहरूमा विभिन्न स्तरका होटल तथा गेस्ट हाउसहरू उपलब्ध छन् भने महाकुम्भ मेलामा लाखौं मानिसलाई निःशुल्क भोजन तथा अन्य खानपान सुविधा उपलब्ध गराइएको छ ।
धार्मिक तथा सामाजिक संस्थाहरूले निःशुल्क प्रसाद तथा भोजन वितरण गरिरहेका छन् । मेलामा हजारौं प्रहरी, राष्ट्रिय विपद् व्यवस्थापन बल तथा विशेष टास्क फोर्स परिचालन गरिएको छ । ड्रोन तथा सीसीटीभी क्यामेराको प्रयोग गरी निगरानी गरिएको छ ।