दुई सरकारी भवन अलपत्र

नेपालगञ्जमा निर्माणाधिन दुई सरकारी भवन अलपत्र परेका छन् । तत्कालीन जिल्ला कृषि विकास कार्यालय र जिल्ला शिक्षा कार्यालयका भवन तीन तहका सरकारबीच समन्वय नहुँदा एक वर्षदेखि अलपत्र परेका हुन् ।
तत्कालीन जिल्ला कृषि विकास कार्यालय भएको समयमा २ करोड ८७ लाख ७८ हजार रुपैयाँमा ठेक्का भएको भवन हालसम्म अधुरो अवस्थामै अलपत्र परेको कृषि ज्ञान केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७३-०७४ मा गाल्भा जेभी भट्टराईले ठेक्कामा लिएको कार्यालय भवन आर्थिक् वर्ष २०७५-०७६ मा सम्पन्न गरिसक्नु भएपनि सरकारी उदासीनताका कारण हालसम्म अलपत्र भएको छ
भवन निर्माण नहुँदा हाल बाँके र बर्दिया हेर्ने जिम्मेवारी पाएको कृषि ज्ञान केन्द्र जीर्ण भवनमै कार्यालय सञ्चालन हुँदै आएको छ । भवन निर्माणका लागि पटक–पटक संघीय सरकारमा धाएर नीगतगत अन्यौलता हटाइएपछि भर्खरैमात्र संघले भवनको जिम्मा प्रदेश सरकारलाई दिएको बताइएको छ । तर हालसम्म भवन निर्माणको काम हुन नसकेको ज्ञान केन्द्र बाँकेले जनाएको छ । भवन निर्माणमा एक करोड खर्च भएपनि थप अढाई करोड रुपैयाँ बजेट आवश्यक पर्ने बताइएको छ । हाल भवन निर्माणका लागि निर्माण कम्पनीसँग भएको सम्झौताको समयावधी सकिएको छ ।
त्यस्तै साविकको जिल्ला शिक्षा कार्यालयको भवन समेत निर्माण हुन सकेको छैन । कार्यालय खारेज भएर शिक्षा विकास तथा समन्वय एकाइ गठन भएर कार्यालय सञ्चालन हुँदै आएपनि भवन अलपत्र अवस्थामा रहेको छ । साविकका जिल्ला शिक्षा कार्यालय खारेज भएर शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयको भवन २ वर्षदेखि निर्माण हुन सकेको छैन । दुई करोड ११ लाखमा निर्माणकार्य सुरु भएको कार्यालय भवनको झण्डै ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी २० प्रतिशत काम पूरा गर्न गत आर्थिक वर्षमा विनियोजन भएर आएको ५० लाख रुपैयाँ फ्रिज भएर गएको छ ।
निर्माण व्यवसायीले पछिल्लो चरणमा गरेको कामको रकमसमेत भुक्तानी पाउन सकेका छैनन् । ठेक्काको समयावधि २०७५ चैतमा सकिएको भए पनि हालसम्म म्याद थपसम्म हुन सकेको छैन । चालू आवमा भवन निर्माणको काम सम्पन्न गर्नका लागि एक करोड विनियोजन भएर आए पनि हालसम्म ठेक्काको म्याद थप र अनुगमन गर्ने प्राविधिकको टुङ्गो नलागेको समन्वय इकाइले जनाएको छ ।