सरकारी नीति, नियमले निर्माण व्यवसायी मर्कामा परेको गुनासो

यस क्षेत्रका निर्माण व्यवसायीहरूले सरकारी नीति, नियमका कारण आफूहरू मर्कामा परेको गुनासो गरेका छन् । अव्यावहारिक नीतिकै कारण आफूहरूलाई काम गर्न समस्या भइरहेको उनीहरूले बताएका छन् ।
निर्माण व्यवसायी संघ बाँकेका कोषाध्यक्ष सुनील प्रकाश शाहले निर्माणमा प्रयोग भएका सामग्रीको गुणस्तरीयता राज्यस्तरबाटै जाँच हुनुपर्ने बताए । टेन्डर प्रक्रियामा हुने घूसखोरीलगायतका कामलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले भने, “कुनै पनि निर्माणका काममा ठेकेदारको मात्रै कमजोरी हुँदैन, ठेकेदारको लापरबाहीले गुणस्तरहीन काम भयो भन्नु गलत हो ।”
निर्माण व्यवसायी संघ प्रदेश नम्बर ६ का अध्यक्ष मोहनप्रसाद आचार्यले विदेशी निर्माण व्यवसायीलाई झैं स्वदेशी निर्माण व्यवसायीलाई काम गर्ने सहज वातावरण भइदिए विकास निर्माणका काम समयमै गर्न सकिने बताए ।
विगतमा स्वदेशको ढुंगा, गिट्टी भारत निकासी हुँदा धमाधम हुने तर स्वदेशी व्यवसायीले ढुंगा, गिट्टी उत्खनन् गर्दा सहज रूपमा उपभोग गर्न नपाइरहेको गुनासो उनले गरे ।
उनले निर्माण व्यवसायीलाई गलत बाटो देखाउने र काममा गुणस्तरीयता ल्याउन नदिने कार्य सरकारी कर्मचारीबाटै हुने गरेको बताए । यस्तै एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले राजनीति सङ्लिए सबै कुरा सङ्लिने बताए ।
राजनीतिक अस्थिरताका कारण विगतको राजनीति धुमल्लिएको बताउँदै कोइरालाले भने, “विगतको राजनीतिलाई धुमिल्याउने काम निर्माण व्यवसायीबाट नै भएको छ, पार्टीका नाममा मोटो चन्दा दिई आफू अनुकूलको काम निकाल्ने कार्यमा अब निर्माण व्यवसायी लाग्नु हुँदैन ।
देशमा राजनीतिक स्थिरताको लागि जनताले वाम गठबन्धनलाई विश्वास गरेकाले अबको राजनीति सङ्लिएको कोइरालाले बताए । कुनै पनि नीति निर्माणको काममा राजनीतिक दलको महत्वपूर्ण भूमिका रहने औँल्याउँदै उनले भने, “वाम गठबन्धनको सरकारले विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर विगतमा भएका अगुणस्तरीय कामको लेखाजोखा गर्दैछ, गुणस्तरहीन काम गरेका निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याउनेलगायत अबको निर्माण कार्य तोकेकै मापदण्ड बमोजिम नगर्ने व्यवसायीलाई अर्को ठेक्कापट्टामा सहभागी नगराउने लगायतका नीति नियम ल्याउँदैछ, त्यसैले अबको विकास निर्माण गुणस्तरीय हुनेछ ।”
संघको बाँके शाखाको नेपालगन्जमा भएको १७ औं साधारणसभामा निर्माण व्यवसायीबाट जनप्रतिनिधि बनेका ३ र विगत ३७ वर्षदेखि निर्माण व्यवसायमा क्रियाशील एक व्यक्तिलाई सम्मान गरिएको छ ।
सम्मानित हुने जनप्रतिनिधिमा क्रमशः नेपालगन्ज उपमहानगरपालिका–१० का वडाध्यक्ष बिन्दुभूषण बस्नेत, राप्तीसोनारी–९ का वडाध्यक्ष महाबीर ओली र कुमाउ गाउँपालिका सल्यानका वडाध्यक्ष गोपाल बुढाथोकी छन् । यसैगरी ३७ वर्षदेखि निर्माण व्यवसायमा क्रियाशील चौधरी साह कन्ट्रक्सनका चौधरी साहलाई सम्मानित गरिएको छ ।