Logo

सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव

सिरहा- सिरहाको लहान नगरपालिका-१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । पर्यटकीय स्थल समेत रहेको यस क्षेत्रमा बजेट अभावमा पोखरीको वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित लहान बजारबाट छ किलोमिटर उत्तरतर्फ चुरेका फेदमा अवस्थित यस दहको उचित संरक्षण गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने निश्चित छ । देवीदह सामुदायिक वन भित्र पर्ने छ हेक्टर क्षेत्रफलमा फैलिएका यस सिमसार क्षेत्रको संरक्षण र सम्बर्द्धनका लागि निरन्तर पहल गरेतापनि उल्लेख्य प्रगति हुन नसकेको वन उपभोक्ता समुह तथा देवीदह संरक्षण समितिका अध्यक्ष कपिलेश्वर यादव बताए ।

”यस दह धार्मिक तथा ऐतिहासिक हिसाबले प्रसिद्ध छ । मेला तथा चाडबाडमा मानिसहरुको घुइँचो लाग्ने गर्दछ । भक्तजनले भाकल गरे मनोकांक्षा पुरा हुने तथा रोगव्याधि हटेर जाने जनविश्वास रहेको छ”, उनले भने, ”तर बजेट नहुँदा संरक्षण हुन सकिरहेको छैन । बनेका कतिपय संरचनाहरु जीर्ण छन भने कतिपय अधुरै छन् ।”

उनका अनुसार पोखरीमा ‘जलयात्रा’का लागि रहेका पाँच डुंगामध्ये दुई मात्रै सञ्चालनमा रहेका छन् । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले आफ्नो कार्यकालमा यस क्षेत्रमा भ्रमण गरि पोखरीको संरक्षणको लागि ‘राष्ट्रपति चुरे विकास कार्यक्रम’ अन्तर्गत एक करोड ५९ लाख बजेट विनियोजन भएको अध्यक्ष यादवले जानकारी दिए ।

उक्त रकमबाट पोखरी परिसरमा रामजानकी मन्दिर, खानेपानी व्यवस्थापन, लगाएतका काम भएको उनले जानकारी दिए । नेपाल पर्यटन वोर्डबाट २०७७ साल भदौ १ गते देवीदह पोखरीको संरक्षण र सौन्दर्यकरणको लागि पाँच करोड २२ लाखको योजना सम्झौता समेत भएको तर कार्यान्वयन हुन नसकेको अध्यक्ष यादवले जानकारी दिए ।

नगरले आफ्नो तर्फबाट व्यहोर्नुपर्ने ३० प्रतिशत उत्तरदायित्व बहन नगरेकाले आयोजनाले परिकल्पना गरेको लहानको खुट्टीखोलादेखी देवीदहसम्मको छ किलोमिटर सडक कालोपत्रे, पोखरी परिसरमा ‘पेभिलियन’ भ्यु टावर, क्वीमिङ्ग पुल लगाएतका संरचना अघि बढ्न नसकेको उनको भनाइ छ । वर्तमान नगरप्रमुख महेशप्रसाद चौधरीलाई धेरैपटक ताकेता गर्दापनि कुनै सुनुवाई हुन नसकेको उनले गुनासो गरे ।

देवीदहको विकासका लागि आफूले सकेको सहयोग गरिरहेको यसै वडाका वडाअध्यक्ष प्रथमलाल चौधरी बताउँछन् । उनले भने, ”वडाको स्रोत र साधन कति नै हुन्छ र । त्यही पनि हामीले सकेको सहयोग गरिरहेका छौँ ।” गत वर्ष वडाको आठ लाख आर्थिक सहयोगमा देवी मन्दिर निर्माण गरेको उनले जानकारी दिए । चुरे क्षेत्रमा भूमिगत पानीको सतह घटदै गएको अवस्थामा यस प्रकारका पोखरीहरुको संरक्षण र सम्बर्द्धनका लागि तीनै तहका सरकारले प्रथमिकता दिनुपर्ने वडाअध्यक्ष चौधरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्