Logo

पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात

झापा- काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा १४ अर्ब ५६ करोड ६३ लाख बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् ।

छ महिनामा सबैभन्दा धेरै चिया छ अर्ब ८२ करोड, अलैँची चार अर्ब २२ करोड ६० लाख, प्लाइ तथा भेनियर एक अर्ब ९१ करोड १३ लाख मूल्य बराबरको निर्यात भएको उनले बताए । यस्तै, अदुवा २६ करोड १३ लाख, अम्लिसो ४९ करोड ७४ लाख, बन्दा आठ करोड १७ लाख, जडीबुटी दुई करोड ६३ लाख मसुरो दाल एक रोड ५५ लाख मूल्यको निर्यात भएको छ ।

सूचना अधिकारी ठाकुरले सोही अवधिमा पूर्वी नाकाबाट एक अर्ब ९६ करोड ६७ लाख ५० हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको जानकारी दिए । आयात हुने मुख्य वस्तुमा कोदो, गेँडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् ।

क्वारेन्टिन कार्यालयको तथ्यांकअनुसार कोदो १० करोड ९५ लाख ६८ हजार, चामल तीन करोड तीन लाख, ताजा तरकारी १८ करोड २३ लाख मूल्य बराबरको आयात भएको छ । यसैगरी ताजा फलफूल २० करोड १८ लाख, लसुन ६१ करोड ७५ लाख, आलु २१ करोड ७४ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्