सुदूरपश्चिममा विदेशी पर्यटक आगमन बढ्दै

धनगढी– सुदूरपश्चिम प्रदेशमा विदेशी पर्यटन आगमन सुस्त गतिमा वृद्धि भइरहेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार सुदूरपश्चिममा गतआर्थिक वर्षमा ३० हजार ९२५ जना बाह्य पर्यटकले भ्रमण गरेका थिए भने अघिल्लो वर्ष २० हजार २१६ जना बाह्य पर्यटकले यस प्रदेशको भ्रमण गरेका थिए ।
२०७८/०७९ मा पाँच हजार ७९२ र २०७७/०७८ मा १३४ जनामात्रै विदेशी पर्यटक आएका थिए । २०७६/०७७ देखि २०७७/०७८ सम्म कोभिड–१९ को प्रभाव रहेको हुँदा पर्यटक आगमन शून्य सरह थियो । पछिल्लो समयमा विदेशी पर्यटक आउने क्रम बढे पनि सुदूरपश्चिम प्रदेश पर्यटन क्षेत्र लयमा फर्किन सकेको छैन । कोभिड–१९ ले थला परेर लयमा फर्किसकेको सुदूरपश्चिम प्रदेशको पर्यटन क्षेत्र कोभिडपछिको आर्थिक मन्दीले पुन: शिथिल बन्न पुगेको छ ।
पर्यटन व्यवसायी किशोर खड्काले विदेशी पर्यटकसँंगै स्वदेशी पर्यटन आगमन झनै धेरै बढेको छ तर स्वदेशी पर्यटकको लेखाजोखा नहुने भएकोले संख्यामा देखाउन सकिएको छैन । ‘विदेश पर्यटक आएपछि स्थानीय गाइड खोज्छन्, बस्ने ठाउँ पनि पर्यटनस्तरकै होटल रोज्छन्,’ उनले भने, ‘स्वदेशी पर्यटकको कुनै रेकर्ड हुँदैन र नेपालीले बजेट अनुसारकै बासस्थानमा बस्ने भएकाले पर्यटनसम्बन्धी तथ्यांकमा जोडिएको छैन ।’
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/०८० मा सुदूरपश्चिमका नौ जिल्लामा पर्यटनस्तरका होटल संख्या ४८ वटा थियो भने आर्थिक वर्ष २०८०/०८१ मा उक्त होटल घटेर ४६ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा होटल अकुपेन्सी ५०.४१ प्रतिशत थियो भने गत आर्थिक वर्ष २०८०/०८१ मा होटल अकुपेन्सी ४२.४ प्रतिशत छ । २०७९/०८० मा होटल शैयाको संख्या १.०३ प्रतिशतले घटेर १६ सय ३१ पुगेको थियो भने २०८०/०८१ मा होटल शैयाको संख्या १.४७ प्रतिशतले घटेर १६ सय ७ पुगेको छ ।
अघिल्लो वर्ष होटल तथा लजको संख्यामा कुनै परिवर्तन नआएकोमा गतआर्थिक वर्ष पर्यटकस्तरीय होटल तथा लजको संख्यामा ४.१७ प्रतिशतले कमी आएको छ । यसैगरी, अघिल्लो वर्ष पर्यटकस्तरीय होटल तथा लजमा प्रत्यक्ष रोजगारी संख्या ३.४९ प्रतिशतले वृद्धि भई ५९३ पुगेको थियो भने गत वर्ष पर्यटकस्तरीय होटल तथा लजमा प्रत्यक्ष रोजगारी संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८५ प्रतिशतले वृद्धि भई ६०४ पुगेको छ ।
‘आर्थिक वर्ष २०७९/०८० मा यस प्रदेशमा १५ हजार ८८१ जना भारतीय, १२ सय २३ चिनियाँ तथा ३१ सय तेस्रो मुलुकका पर्यटकले यस प्रदेशको भ्रमण गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक वर्ष २०८०/०८१ मा यस प्रदेशमा २४ हजार ४४० जना भारतीय, ८५० चिनियाँ तथा ५६ सय ८५ तेस्रो मुलुकका पर्यटकले भ्रमण गरेका छन् ।’ कोरोना महामारीको प्रभाव न्यून भएको र आर्थिक गतिविधि चलायमान भएसँगै बाह्य पर्यटकको संख्यामा अघिल्लो वर्ष २६१.० प्रतिशतले उत्साहजनक वृद्धि भएको थियो भने गतआर्थिक वर्षमा ५३ प्रतिशतले मात्रै वृद्धि भएको थियो ।
गतवर्ष विदेशी पर्यटक आउने क्रम उत्साहजनक वृद्धि भएको भन्दै राष्ट्र बैंकले आर्थिक गतिविधि चलायमान हुनुका साथै सडकको स्तरोन्नति भएसँगै बाह्य पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको दाबी गरेको छ । १० वटा पर्यटकस्तरको होटल तथ्यांक समीक्षा गर्दा २०८०/०८१ मा स्वदेशी पर्यटक ४४ हजार १०३, भारतीय १६ हजार ७७२, चिनियाँ ५६४ र तेस्रो मुलुकबाट ३९ सय ६८ जना गरी ६५ हजार ४०७ जनाले सुदूरपश्चिम भ्रमण गरेको राष्ट्र बैंकले जनाएको छ ।
२०७९/०८० मा समेत १० वटा पर्यटकस्तरीय होटलको तथ्यांक विश्लेषण गर्दा स्वदेशी पर्यटक ३४ हजार २८१, भारतीय पर्यटक सात हजार ३२९, चिनियाँ पर्यटक ५८१ जना र तेस्रो मुलुकबाट एक हजार ३७० गरी जम्मा ४३ हजार ५६१ जनाले सुदूरपश्चिम भ्रमण गरेका थिए । आर्थिक वर्ष २०७६/ण्७७ र २०७७/०७८ मा कोभिड–१९ का कारण पर्यटन थला परेको थियो । २०७८/०७९ मा कोभिड महामारीको असर विस्तारै कम हुँदै गएपछि स्वदेशी तथा विदेशी पर्यटक पर्यटकको चहलपहल बढेको थियो ।
सो वर्ष स्वदेशी एक लाख १५ हजार ५६२, भारतीय चार हजार ४७९, चिनियाँ ८५ र तेस्रो मुलुकका एक हजार २२८ गरी जम्मा एक लाख ३१ हजार ३५४ जना पर्यटकले सुदूरपश्चिम भ्रमण गरेको प्रतिवेदनमा उल्लेख छ । २०७७/०७८ मा होटल तथा लजको संख्या ४.४४, होटल शैया १.२२, होटलमा रोजगारी ३७.५० प्रतिशतले ह्रास आएको थियो । कोभिडका कारण पर्यटन क्षेत्र चलायमान नभएकाले सो वर्ष होटल तथा लजहरूले कर्मचारीको संख्या कटौती गरेका थिए भने दार्चुलामा रहेको दुईवटा पर्यटकस्तरको होटल बन्द भएको थियो ।
पर्यटन व्यवसायी खड्काका अनुसार पर्यटक आगमन बढेको भए पनि सडक पूर्वाधार लगायतको उच्च वृद्धिले गर्दा युरोपियन मुलुकबाट ट्रेकिङमा आउने पर्यटकको संख्या घटेको छ । जसले गर्दा होटल तथा पर्यटन व्यवसायीको आम्दानीको स्रोत बढ्न सकेको छैन । उनले होटलमा बस्ने र स्थानीय गाइड खोज्ने खालका पर्यटक आगमन नभएकोले पर्यटन व्यवसायी संकटमा रहेको बताए ।
उनले सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन पूर्वाधार विकासमा लगानी नगरेको कारणले पनि विदेशी पर्यटकको रोजाइमा यहाँका गन्तव्यहरू पर्न सकेका छैनन् । ‘अरु ठाउँको पर्यटन गन्तव्य ह्वात्तै विकास भएको छ,’ उनले भने, ‘हाम्रो यहाँको पर्यटन क्षेत्रको पूर्वाधार पहिले जति थियो, त्यतिमै सीमित छ । जसले गर्दा माउथ टु माउथ प्रोमोसन पनि भइरहेको छैन ।’