झुम्साखोला लुघु जलविद्युत पाल्पा माथागढी र तिनाउका ५५० घरधुरी लाभान्वित

बुटवल– एक दशक अघिसम्म पाल्पाको माथागढी गाउँपालिका–५ हात्तीलुङ र आसपासका स्थानीयले उज्यालोका लागि टुकीको सहारा लिनुपथ्र्यो । झुम्सा खोला लघुजलविद्युत आयोजना बनेपछि माथागढी–५ र ६ सँगै तिनाउँ गाउँपालिका–३ र ४ का स्थानियबासी लाभाम्बीत बनेका छन् । माथागढी–५ हात्तीलुङमा २०६६ सालमा लघुजलविद्युत उपभोक्ता समिति गठन भयो । २०६७ सालमा आयोजनाको निर्माणको काम सुरु भयो ।
उपभोक्ता समिति बनेको ६ वर्षपछि २०७१ साल चैत १८ गते आयोजनाको पावर हाउसमा बिजुली बलेको थियो । २०७२ वैशाख २० गते स्थानीयले घरघरमा विजुली बत्ती बाल्न पाए । उत्पादित बिजुली हालै राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि उपभोक्ताबाट सञ्चालित लघुजलविद्युतले आम्दानीसमेत गर्न थालेको छ । साविक जिल्ला विकास समिति पाल्पा र साविक गाठादी गाविसको तीन करोड, स्थानीय श्रमदानबाट दुई करोड गरी पाँच करोड लागतमा ६८ किलोवाट क्षमताको झुम्साखोला लघुजलविद्युत आयोजना निर्माण गरिएको थियो ।
श्रमदान अन्तर्गत प्रतिघर १६ हजार रुपैयाँ उठाइएको थियो । अहिले श्री झुम्सा खोला लघुजलविद्युत उत्पादन सहकारी संस्था लि(तेस्रो) मार्फत् यो आयोजना सञ्चालित छ । स्थानीयले उपभोग गरेर बचेको बाँकी बिजुली गत कात्तिकबाट नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि लघु जलविद्युतले थप आम्दानीसमेत गर्न थालेको छ । उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा जोड्न उपभोक्ता समितीलाई २०७९ सालमा सहकारी संस्थामा परिणत गरिएको थियो ।
एक दशकसम्म स्थानीयले मात्र उपभोग गरेको विद्युत हालैमात्र राष्ट्रिय प्रसारण लाइनमा जोडेको झुम्सा खोला लघुजलविद्युत उत्पादन सहकारी संस्था लि(तेस्रो) का अध्यक्ष वीरबहादुर बाह्रघरे मगरले बताए । ‘यहाँको विद्युत साढे नौ वर्षसम्म हामीले मात्र उपयोग गरेका थियौं । अहिले ग्रिड जडान गरेपछि हामीले उपयोग गरेर बचेको विजुली राष्ट्रिय प्रसारणमा पठाउन पाएका छौं,’ उनले भने, ‘उत्पादन भएको ६८ किलोवाटमा ५५० घरले ३० देखि ३५ किलोवाट मात्र उपयोग भएको थियो । ठूला कुटानी मेसिन र आरा मेसिन पनि छैन । त्यसैले अरु बिजुली खेर जान्थ्यो ।’
राष्ट्रिय प्रसारण लाइनमा विद्युत पठाएपछि तीन महिनामा ४० हजार रुपैयाँ लघुजलविद्युतले आम्दानी गरेको छ । पावर हाउसमा अहिले ५० केभीएको मात्र ट्रान्समिटर छ । त्यसैले बिजुली बेचेर निकै कममात्र आम्दानी भएको छ । एक सय केभीएको ट्रान्समिटर आवश्यक पर्ने अध्यक्ष बाह्रघरेले बताए । ‘ड्यामबाट राम्रोसँग पानी ल्याउनका लागि कुलो मर्मत गर्नुपर्छ । ट्रान्समिटरको क्षमता बढाएर सय केभिएको राख्नुपर्छ,’ उनले भने, ‘त्यसो भयो भने लघुजलविद्युतले महिनाको दुईदेखि साढे दुई लाखसम्म आम्दानी गर्नसक्छ ।’
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गत नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको पहलमा झुम्सा खोला लघु जलविद्युतको बिजुली ग्रिडमार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । झुम्सा खोला लघु जलविद्युतका उपभोक्ता सहकारी संस्थामार्फत् दिगो ऊर्जा चुनौती कोषमा आबद्ध भएका थिए । नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको अध्ययनपछि सहकारीमार्फत् उपभोक्ताहरू कोषमा आबद्ध भएका हुन् । त्यसको लागि नेपाल इनर्जी फाउण्डेसनले सहजकर्ताको रूपमा काम गरेको थियो ।
झुम्साखोला लघु जलविद्युतको विस्तृत अध्ययन गरेर राष्ट्रिय ग्रिडमा जोड्ने प्रक्रिया अघि बढेको नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक रोविन शर्माले जानकारी दिए । ‘नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम, इनर्जी फाउण्डेसन र झुम्साखोलाको पदाधिकारीलेसहित संयुक्त रूपमा विस्तृत अध्ययन गर्दा झुम्सा लघु जलविद्युतबाट प्रतिफल आउने सम्भावना औंल्याइएको थियो ।’ उनले भने, ‘बिजुलीलाई ग्रिडमा जोडेर फाइदा छैन भने त्यस्तो योजनालाई हामीले अगाडि नै बढाउँदैनौं । यो अगाडि बढाउन योग्य देखिएको हो ।’
नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमले एउटा प्रदेशभरका १० किलोवाट क्षमताभन्दा माथिका लघुजलविद्युत आयोजनाको ग्रिडमा जोड्न कत्तिको सम्भावना छ भनेर अध्ययन गर्ने गरेको शर्माले जानकारी दिए । त्यो अध्ययनबाट लुम्बिनी प्रदेशमा रहेका झुम्सा खोलासहित १६ वटा आयोजनालाई ग्रिडमा जोड्दा लगानी प्रतिफल आउन सक्ने अध्ययनले देखाएको उनले बताए । लघु जलविद्युत आयोजनालाई ओझेलमा पर्न र रुग्ण हुनबाट बचाउन ग्रिडमा जोड्न आवश्यक रहेको इन्जिनियर शर्माले उल्लेख गरे ।
झुम्सा खोलाको विद्युत राष्ट्रिय लाइनमा जोड्न थप एक करोड २० लाख खर्च भएको छ । जसका लागि ५० लाख नेपाल दिगो ऊर्जा चुनौती कोषअन्तर्गत नेपाल सरकारको केन्द्रीय ऊर्जा कार्यक्रमले उपलब्ध गराएको हो । ३० लाख माथागढी गाउँपालिका र बाँकी उपभोक्ता समिति र इनर्जी फाउण्डेसनको लगानी छ । राष्ट्रिय प्रसारण लाइनमा जोड्न ११ सय मिटरको प्रसारणलाइन निर्माण गरिएको हो । लघु जलविद्युत आयोजना निर्माणको लागि ड्यामबाट पावरहाउस सम्म १४ सय ५० मिटर नहर बनाइएको छ ।
नहरबाट पानी ल्याएर साढे ३१ मिटर माथिबाट पावर हाउसमा खसालिएको छ । उत्पादित विद्युतको गाउँगाउँमा सप्लाइका लागि काठको पोल प्रयोग गरिएको छ । काठको पोल विस्थापित गरी फलामको पोल उपलब्ध गराउन लघु जलविद्युत सहकारीका अध्यक्ष बाह्रघरेले सरकारसँग आग्रह गरेका छन् । त्यस्तै ट्रान्समिटरको क्षमता बढाउन र जलविद्युतका लागि बनाइएको नहरमा पहिरोको समस्या रहेकाले त्यसको क्षति न्यूनीकरणका लागि पनि स्थानीयले आग्रह गरेका छन् ।