Logo

ऋण विस्तार सुस्त हुँदा आर्थिक वृद्धिको लक्ष्यमा धक्का लाग्ने चिन्ता

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले कर्जा विस्तार अपेक्षाकृत रुपमा बढाउन नसक्दा आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा धक्का लाग्ने चिन्ता अर्थमन्त्रलिे गरेका छन् ।

आइतबार राष्ट्रियसभाको बैठकमा ‘आव २०८१–८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन’ प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो चिन्ता व्यक्त गरेका हुन् । भू–राजनीतिक तनाव तथा अन्य अन्तर्राष्ट्रिय कारणले मूल्य श्रृंखला प्रभावित भएको, अपेक्षित रुपमा कर्जा विस्तार हुन नसकेको, निर्माण क्षेत्रमा सुधार आउन नसकेको आदि कारणले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौती देखिएको उनले बताए ।

राष्ट्र बैंकका अनुसार चालु आवको ६ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशत अर्थात् २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४ प्रतिशत अर्थात् १ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले कर्जा बढेको थियो । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चालु आवमा निजी क्षेत्रमा १२.५ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य राखेको थियो । ६ महिनासम्ममा आधासम्म पनि कर्जा विस्तार हुन सकेको छैन ।

गत आवमा कर्जा विस्तारका लागि ११.६ प्रतिशत लक्ष्य राखिएकोमा ६ प्रतिशत पनि लक्ष्य हासिल हुन सकेको थिएन । त्यसकारण पनि चालु आवको सुरुदेखि नै मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्य पूरा हुन नसक्ने जानकारहरूले औंल्याउँदै आएका थिए । अहिले अर्थमन्त्री पौडेलले पनि कर्जा विस्तार हुन नसक्दा आर्थिक वृद्धिको लक्ष्य चुम्न कठिन रहेको बताएका हुन् ।

चालु आर्थिक वर्षको ६ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूले ५४ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । गत आवको सोही अवधिमा कर्जा लगानी ५० खर्ब ८३ अर्ब ८५ करोड भएको थियो ।

पछिल्लो समय कर्जा विस्तार वृद्धि केही बढ्ने क्रममा भने देखिएको छ, जसलाई अर्थमन्त्री पौडेलले पनि इंगित गरेका छन् । आर्थिक वृद्धिलाई त्यसले सहयोग गर्दा लक्ष्यको नजिक पुगिने अपेक्षा राखिएको उनले बताएका छन् । अर्थमन्त्री पौडेलले भने, ‘सरकारले अवलम्बन गरेको नीतिगत व्यवस्था तथा सुधारका प्रयासका साथै बाह्य क्षेत्रको सन्तुलन, तरलताको पर्याप्तता तथा न्यून ब्याजदरको सुनिश्चितताले आर्थिक गतिविधि वृद्धि भई यस वर्षको आर्थिक वृद्धिदर लक्ष्यको नजिक हुने अपेक्षा गरिएको छ ।’

पछिल्ला महिनाहरूमा केही कर्जा वृद्धि भए पनि माघमा भने सुस्त छ । विगतमा पनि माघमा कर्जा प्रवाह सुस्त हुने गरेकोमा अहिले पनि सोही अवस्था रहेको बैंकरहरू बताउँछन् । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अहिले मौद्रिक नीतिको लक्ष्यअनुसार कर्जा वृद्धि गर्न निकै चुनौती रहेको बताए । ‘अहिलेकै अवस्थामा लक्ष्य पूरा हुन सक्दैन । त्यसले आर्थिक वृद्धिको लक्ष्यलाई पनि धक्का दिन्छ,’ खालिङले भने । बाँकी ५ महिनामा हुने कर्जा वृद्धिले लक्ष्य भेट्न सम्भव नै नहुने उनी बताउँछन् । अहिले ठूलो रुपमा अर्थतन्त्र चलायमान हुन सक्ने आधार पनि नदेखिएको खालिङको भनाइ छ । कर्जा विस्तार हुनका लागि त्यस्तो क्षेत्र नै नदेखिएको उनले बताए ।

‘अहिले कर्जाको माग पनि बढ्न सकेको अवस्था छैन । माघ महिनामा कर्जा सुस्ताएको छ,’ खालिङले भने ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले अहिले जुन कारणले कर्जाको गति सुस्त भएको थियो, ती सबै कारणहरू यथावत् नै रहेकाले समस्या रहेको बताए । ‘वाणिज्य बैंकहरूमा कर्जा केही बढे पनि ‘ख’ र ‘ग’ वर्गमा कर्जा प्रवाह बढेको छैन,’ उपाध्यायले भने । अन्य आर्थिक गतिविधिमा सुधार आउन नसक्दा अहिले कर्जा बढिहाल्ने सम्भावना नरहेको उनले बताए । ‘कर्जा विस्तार बढाउनका लागि माहोल सिर्जना गर्न अझै सकिएको छैन । अब अध्यादेश कार्यान्वयनमा आएपछि केही फरक पर्ला, तर अहिलेसम्मलाई माहोल छैन,’ उनले भने ।

बैंकिङ क्षेत्रबाट अर्थतन्त्रमा कति पैसा परिचालन भएको छ भन्ने कुराबाटै अर्थतन्त्र कुन दिशामा अगाडि बढ्छ भन्ने थाहा हुने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । निजी क्षेत्रमा जाने कर्जा न्यून मात्रामा बढेको देखिए पनि कुल कर्जा बढ्न नसकेको उनले बताए । अर्थतन्त्रमा संकुचन रहिरहेको अवस्थामा आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने उनको भनाइ छ । सरकारले तीन खर्बभन्दा बढी केन्द्रीय बैंकमा मौज्दात राखेका कारण पनि अर्थतन्त्रमा संकुचन भएको उनले बताए । यो रकम निकासा गरेर विकासका काम गरेमात्रै अर्थतन्त्र चलायमान हुने उनको तर्क छ ।

‘एकातिर बैंकको रकम खर्च भएको छैन, अर्कोतिर सरकारले पनि पैसा थुपारेर राखेको छ । यस्तो परिस्थितिबाट मुक्त हुन जरुरी छ,’ उनले भने । सरकारले निर्माण व्यवसायीको भुक्तानी तिरेमात्रै पनि अर्थतन्त्र चलायमान हुने र अहिलेको अवस्थाबाट केही न केही सुधार हुने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्