‘सरकारले आधिकारिक नक्शा सार्वजनिक नगरे देशव्यापी आन्दोलन’ «

‘सरकारले आधिकारिक नक्शा सार्वजनिक नगरे देशव्यापी आन्दोलन’

कालापानी र लिम्पियाधुरा समेत समावेश गरी नेपालको नक्शा सार्वजनिक गरेको सीमा बचाऔँ अभियानले मंगलबार सुस्तासहितको नेपालको नक्शा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी नेपालको सम्पूर्ण भूभाग समावेश गरी नक्शा सार्वजनिक गर्दै अभियानले सरकारसँग आधिकारिक नक्शा सार्वजनिक गर्न माग गरेको छ ।
अभियानले नयाँ नक्शालाई देशव्यापी बनाउने जानकारी दिएको छ । तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नक्शा हस्तान्तरण गरी कूटनीतिक पहलबाट समस्या समाधान गर्न अनुरोध गर्ने निर्णय समेत गरिएको जानकारी दिइयो । सार्वजनिक गरिएको नक्शालाई विश्वविद्यालय र विद्यालयका विद्यार्थीहरुका माझ वितरण गरिने अभियानले जनाएको छ ।
अभियानका संयोजक भैरव रिसालले सरकारसँग नक्शा जारी गर्न माग गरे । “कि हामीले तयार पारेको नक्शा बेठिक भन्नुप¥यो कि सार्वजनिक गर्नुप¥यो,” रिसालले भने, “देशको अतिक्रमित भूभाग समावेश गरी राज्यले तत्काल नक्शा सार्वजनिक गरोस् ।” वर्तमान सरकारले आफ्नै देशको भूभाग समेटेर नक्शा सार्वजनिक गर्न अलमल गरिरहेको भन्दै उनले आलोचना गरे । उनले प्रश्न गरे, “देशको नक्शा सार्वजनिक गर्न सरकारलाई केले रोक्यो ?” सरकारले नक्शा सार्वजनिक गर्न आनाकानी गरेमा देशव्यापी अभियान चलाउने चेतावनी उनले दिए । सरकारलाई जनस्तरबाट व्यापक दबाब सृजना गर्न आग्रह समेत उनले गरे । यस विषयलाई लिएर गाँउगाँउमा कार्यक्रम गर्ने योजना बनाइएको उनले जानकारी दिए ।
पूर्व सचिव द्वारिकानाथ डुंगेलले सरकारसँग तत्काल अतिक्रमित भूभाग समावेश गरी नक्शा सार्वजनिक गर्न माग गरे । नगरिक स्तरबाट जारी गरेको नक्सा सरकारका मन्त्रीहरुसामु प्रस्तुत गरेर सार्वजकि गर्न माग समेत गरिसकेको उनले बताए । नापी विभाग सार्वजनिक गर्न स्वीकारे पनि भूमि सुधार मन्त्रालयले नमानेको कारण अहिलेसम्म नक्सा सार्वजनिक नभएको उनको भनाइ छ । उनले भने, “प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको कुराकानीले वैज्ञानिक आधारबाट सीमाको समस्या समाधान गरी निष्कर्षमा पु¥याउने भनिएकोमा त्यसबारे अझै कुनै ठोस पहल किन भइरहेको छैन ?”
परराष्ट्र मन्त्रालय तहबाट दुवै देशबीच भएको पत्राचारलाई अहिलेसम्म सरकारले प्रकाशित नगरकोमा उनले आपत्ति जनाए । सीमा बचाउने र आफ्नै नक्शाज ारी गर्ने मामलामा सरकार उदासिन रहेको भन्दै उनले आलोचना गरे । दार्चुलास्थित व्यास गाउँपालिकामा देशभित्रबाट नै पुग्ने बाटो नभएर भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था आउँदा भारतीय सेनाले अप्ठ्यारो पार्ने गरेको भन्दै तत्काल बाटो निर्माणको माग ढुंगेलले गरे । यसबारे गृह मन्त्रालयलाई आग्रह समेत गरिएको उनको भनाइ थियो ।
प्रा.डा नरेन्द्र खनालले अभियानले जारी गरेको नक्सा सरकारले सार्वजनिक गर्नुपर्ने बताए । नेपाल र भारतबीचको सीमानामा रहेको सुस्ता ठूलो क्षेत्रफलको रहेको उनले खुलाए । मेची क्षेत्रको सीमा विवादमा भारतले मानिसकेको उनको भनाइ थियो ।
अभियानको नक्शा समितिका सदस्य कमल बरालले तत्काल सरकारले कालापानी, लिम्पियाधुरा र सुस्तासहितको नक्शा सार्वजनिक गर्नुपर्ने बताए । देशको भूभाग अतिक्रमणमा परेरको छर्लंंग हुँदा पनि प्रतिरोध गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरे ।

प्रतिक्रिया दिनुहोस्