क्यान इन्फोटेकमा प्रविधि प्रतिस्पर्धा व्यवसाय विस्तारमा अवसर

काठमाडौं– क्यान इन्फोटेक २०२५ मा प्रविधि प्रदर्शनी मात्र नभई व्यवसाय विस्तारको अवसर रहेको देखिएको छ । सूचना प्रविधिसम्बन्धी नेपालकै सबैभन्दा ठूलो प्रदर्शनीमा देश–विदेशका विभिन्न कम्पनीहरूले आफ्ना नवीनतम प्रविधि र सेवा प्रस्तुत गरेको कारण व्यवसाय विस्तारमा अवसर आउने देखिएको हो ।
आयोजक क्यान महासंघका अनुसार क्यान इन्फोटेकले ग्राहक, व्यवसायी र सेवा प्रदायकहरूलाई एकैथलोमा ल्याउँदै प्रविधिको प्रवर्द्धन तथा बजार विस्तारका अवसरहरू सिर्जना गरिरहेको छ । विभिन्न ब्रान्ड तथा कम्पनीहरूले स्टलमार्फत उपभोक्ताहरूसँग प्रत्यक्ष अन्तक्र्रिया गर्दै आफ्ना उत्पादन तथा सेवाबारे जानकारी प्रदान गरिरहेका छन् । यस वर्षको क्यान इन्फोटेकमा सूचना प्रविधि क्षेत्रमा क्रियाशील स्टार्टअप कम्पनीहरूको समेत उल्लेख्य उपस्थिति रहेको छ ।
विशेषगरी साइबर सुरक्षा, कृषि प्रविधि, हस्पिटालिटी, बैंकिङ सोलुसन तथा अन्य अत्याधुनिक प्रविधि समाधानहरू अवलोकनकर्ताको आकर्षणको केन्द्र बनेका छन् । स्टार्टअप कम्पनीहरूका लागि सम्भावित लगानीकर्ता, साझेदार र ग्राहकहरूसँग प्रत्यक्ष सम्पर्क गर्ने अवसर मिल्नुका साथै आफ्ना नवीनतम प्रविधि तथा समाधानहरू बजारमा स्थापित गर्न क्यान इन्फोटेकबाट सहयोग पुगेको क्यानका महासचिव चन्द्र विलास भुर्तेलले बताए ।
सूचना प्रविधि कम्पनीहरू, इन्टरनेट सेवा प्रदायक, सफ्टवेयर तथा हार्डवेयर उत्पादकहरूबीच सहकार्यका सम्भावना खोज्न अनुकूल वातावरण निर्माण भएको उनको भनाइ छ । शनिबार प्रविधि अवलोकन तथा खरिदमा चासो राख्ने सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । सार्वजनिक बिदाका कारण प्रदर्शनीस्थल प्रविधि प्रेमीहरूका लागि रमाइलो गन्तव्य बनेको थियो । क्यान इन्फोटेकमा सहभागी विभिन्न कम्पनीहरूले आफ्ना उत्पादन तथा सेवामा विशेष छुट तथा प्रवर्द्धनात्मक अफर ल्याएका छन् ।
शीर्ष प्रायोजक एचएमसी हिक्सेमीले आफ्ना उत्पादनको विशेष प्रदर्शनीसँगै उपभोक्ताका लागि आकर्षक स्किम घोषणा गरेको छ । यसअन्तर्गत वायरलेस क्यामेरामा २० प्रतिशत, हिक्सेमीका हरेक उत्पादनमा १५ प्रतिशत, मोनिटरमा २० प्रतिशत र यूपीएसमा १० प्रतिशत छुट दिइएको छ । साथै उक्त कम्पनीले एसर ब्रान्डको ल्यापटप किन्दा सात हजार रुपैयाँ मूल्य पर्ने वाईफाई क्यामेरा नि:शुल्क प्रदान गर्ने घोषणा गरेको छ । मर्कन्टाइल कम्युनिकेसन्सले एसर ब्राण्डका पछिल्ला ल्यापटप र डेस्कटपसँगै इप्सन ब्राण्डका प्रिन्टर र प्रोजेक्टरको विशेष प्रदर्शनी गरेको छ ।
स्टलबाटै डिलर र खुद्रा बिक्रेतासँग अन्तक्र्रिया गरिरहेको कम्पनीले जनाएको छ । चार्ज सकिँदा ब्याट्री नै फेर्न मिल्ने गोगोरो इलेक्ट्रिक स्कुटरले पनि अवलोकनकर्ताको ध्यान तानेको छ । कम्पनीले ईभी प्रेमीका लागि काठमाडौं सहरभित्र एक हजार किलोमिटर नि:शुल्क यात्रा गर्न सक्ने तथा नि:शुल्क टेस्ट ड्राइभका साथै लक्की ड्र अफर सञ्चालन गरिरहेको छ । अनलिमिटेड टेक्नोलोजी प्रालि (ज्याप) ले फेब्रुअरी महिनाभर अनलिमिटेड रेमिट सेवामा रिफर अफर ल्याएको छ ।
जसअन्तर्गत विदेशबाट रेमिट पठाउने व्यक्तिलाई रिफर गर्दा एक हजार रुपैयाँसम्म कमाउन सकिन्छ । एस पावर बीपीई प्राइभेट लिमिटेडले शिक्षण संस्थाहरूका लागि स्मार्ट बोर्ड, यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटर पम्पलगायत प्रविधि प्रदर्शनीमा राख्दै अधिकतम ४० प्रतिशत छुट घोषणा गरेको छ । ओडो कम्पनी (बेल्जियम) ले नेपाली व्यवसायहरूका लागि अकाउन्टिङ सफ्टवेयर ३२ हजार रुपैयाँमै उपलब्ध गराउने योजना ल्याएको छ ।
जुन सामान्य अवस्थामा एक लाख रुपैयाँ पर्ने बताइएको छ । डियरवाक ट्रेनिङ सेन्टरले आफ्नो स्टलमा आएका विद्यार्थीहरूलाई नि:शुल्क परामर्श प्रदान गर्दै तीन भाग्यशाली विद्यार्थीलाई १०० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । रमाइलो खेलमा सहभागी भएर आईटी कोर्समा ४० प्रतिशत छुट पाउने अफरसमेत दिएको छ । क्यान इन्फोटेकको अर्को आकर्षण बेन्क्यूले ल्याएका अत्याधुनिक इन्टरएक्टिभ (स्मार्ट) बोर्डहरूमा देखिन्छ ।
टचस्क्रिन सुविधा, उच्च–गुणस्तरको डिस्प्ले र विभिन्न शैक्षिक सफ्टवेयरहरू सपोर्ट गर्ने भएकाले यी स्मार्ट बोर्डहरूले शिक्षण र प्रस्तुतीकरणलाई थप प्रभावकारी बनाउने कम्पनीको भनाइ छ । त्यस्तै हाइफ्युचरले आफ्ना उत्पादनमा लक्की ड्र कम्पिटिसन आयोजना गरी अवलोकनकर्तालाई लोभ्याएको छ । स्मार्टवाच, इयरबड्सलगायतका लागि नेपाली ब्रान्ड ग्रिन लाइफ एक्सपिरियन्सले स्पिन एन्ड विन कन्टेस्टमार्फत उपहार योजना सञ्चालन गरिरहेको छ ।
त्यस्तै र्यापुले तीन हजार मूल्य पर्ने एलिस्टा इयरबड्स मात्र १५ सय रुपैयाँमा उपलब्ध गराएको छ । ‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणालीको स्टलमा अवलोकनकर्ताको चासो बढेको देखिन्छ । यसपाली क्यान इन्फोटेकमा आईटी तथा इन्जिनियरिङ कलेजहरूको पनि उल्लेख्य सहभागिता रहेको छ । यसमध्ये केही कलेजले आफ्ना विद्यार्थीले बनाएका इनोभेटिभ प्रडक्टहरू प्रदर्शनमा राखेका छन् ।
यसअन्तर्गत सफ्टवेरिका कलेजका विद्यार्थीले तयार पारेको एडभान्स्ड एआई पावर्ड भर्चुअल एन्ड रोबोटिक ट्युटरले धेरै प्रविधि जिज्ञासुलाई आकर्षित गरेको छ । ‘मिरा प्रोफेसर’ नाम दिइएको यो रोबोटले विश्वविद्यालका विद्यार्थीलाई अध्यापन गराउन सक्ने बताएको छ । रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्यान) ले रोबोटिक्स प्रतियोगिता सञ्चालन गरिरहेको छ, जसमा इन्जिनियरिङ विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको छ ।
त्यस्तै राइड हेलिङ प्लेटफर्म टुटलले क्यान इन्फोटेकमा आएर दर्ता गर्ने ग्राहकका लागि बाइक र क्याब दुवैमा ६० प्रतिशत छुटको प्रोमोकोड उपलब्ध गराएको छ । क्यान इन्फोटेकमा सरकारी तथा गैरसरकारी संस्थाहरूको समेत विशेष उपस्थिति रहेको छ । नेपाल प्रहरीले आफ्ना डिजिटल सेवा तथा साइबर सुरक्षा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र दर्ता प्रक्रिया सञ्चालन गरिरहेको छ । जसमा नागरिकहरू सहभागी भइरहेका छन् । त्यस्तै अभियन्ता फाउन्डेसनले दन्त, मधुमेह, आँखा परीक्षणलगायत स्वास्थ्य परीक्षण सेवा नि:शुल्क प्रदान गरिरहेको छ भने जेसीआई गोदावरीको पहलमा रक्तदान कार्यक्रम समेत सञ्चालन भइरहेको छ ।
प्रविधिको विकास र विस्तारका लागि क्यान इन्फोटेक महत्त्वपूर्ण प्लेटफर्म बन्न सफल भएको सहभागीहरूको प्रतिक्रिया छ । प्रदर्शनीमा नेपाली प्रतिभा र आविष्कारलाई नीतिगत रूपमा प्रवर्द्धन गर्नुपर्ने मागसमेत उठिरहेको छ । सूचना प्रविधि क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने तथा प्रविधिमा आधारित व्यवसायहरूको प्रवर्द्धनका लागि क्यान इन्फोटेक जस्ता मञ्चहरू निरन्तर आवश्यक रहेको सहभागीहरूको धारणा छ ।