इजरायल जान तयार एक हजार युवामध्ये १२६ सँग करार सम्झौता

काठमाडौं– इजरायलमा युद्धको त्रास कम भएसँगै केयरगिभरको लागि जान तयार भएका एक हजार युवामध्ये हालसम्म १२६ नेपालीसँग रोजगारदाताले करार सम्झौता गरेका छन् । स्वास्थ्य परीक्षण गरिएका १ हजारमध्ये पास भएका ९२३ मध्ये १२६ युवासँग करार सम्झौता भएको हो ।
विभागले स्वास्थ्य परीक्षण गर्न अनुरोध गरेका एक हजारमध्ये स्वास्थ्य परीक्षणमा फिट भएका नेपालीसँग इजरायलका रोजगारदाताले करार सम्झौता सुरु गरेको जनाएको छ । विभागका इजरायल शाखाका निर्देशक गिरीराज ज्ञवालीले एक हप्तादेखि १० दिनमा १२६ नेपालीको माग अनुसार करार सम्झौता भएको बताए ।
‘सबैको मेडिकल र अभिमुखीकरण तालिम सकिएर रोष्टरमा रहेकामध्ये सुरुमा सो संख्याका युवाको करार सम्झौता भएको छ,’ उनले कारोबारसँग भने,‘रोष्टरमा रहेका नेपालीलाई इजरायलले गरेको माग अनुसार क्रमश: पठाउने तयारी रहेको छ ।’ विभागले इजरायल जाने युवाका लागि गत हप्ता सबैको अभिमुखीकरण तालिमसमेत सम्पन्न गरेको थियो ।
इजरायलमा युद्धको त्रास कम हुने संकेत देखिन थालेसँगै रोकिएर रहेका नेपालीलाई पठाउन इजरायल पक्षले पत्र पठाए पछि रोकिएका नेपाली ३ महिना भित्र इजरायल जाने बाटो खुलेको.हो । यद्यपि विभागले समयभन्दा पनि इजरायलको माग अनुसार पठाउने जनाएको छ । केही महिना अघिसम्म इजरायल र यमनका विद्रोही समुहबीच तनाब बढ्दै गएपछि जाने तयारीमा रहेका नेपाली लामो समयदेखि रोकिएका थिए ।
पछिल्लो समय इजरायलमा रोजगारीका लागि नेपालीको संख्या बढ्दै गएको कारण त्यहाँ कार्यरत नेपाली कामदारको सुरक्षा चासो बढेकाले नेपालबाट नियमित रुपमा नेपाली जान सकेका थिएन । दूतावासले जान मिल्ने आशयको पत्र पठाएका कारण सबै कामदारलाई ३ महिना भित्र मेडिकल म्यादमा पठाउने विभागको तयारी रहे पनि माग संख्यामा निर्भर रहने जनाइएको छ ।
इजरायलमा हाल १ हजार ३ सय ४५ जिटुजी कामदारसहित करिब ४ हजार ५ सयभन्दा बढी नेपाली रहेका छन् । इजरायलका विभिन्न केयरगिभरमा विदेशी श्रमिक अभाव हुन थालेपछि सो क्षेत्रमा नेपाली केयर गिभर लैजाने तयारीसहित करार सम्झौता हुन थालेको विभागले जनाएको छ । यस बाहेक विगत डेढ वर्ष अघिदेखि इजरायल गएर काम गर्ने नेपाली केयरगिभर १ हजार ३ सयभन्दा बढी रहेका छन् ।
इजरायलस्थित नेपाली दूतावासले थप केयरगिभरको सम्बन्धमा छलफल गरिने जनाउँदै आएको छ । हाल इजरायलमा जिटुजीमार्फत इजरायलमा १ हजार नेपाली कार्यरत रहेका बेला थप केयरभिगर जाने क्रम सुरु भएको हो । आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल जाने श्रमिक बढ्ने भएपछि त्यहाँबाट आउने रेमिटेन्ससमेत बढ्ने भएको छ । गत आर्थिक वर्षमा मात्र नेपालबाट रोजगारीका लागि इजरायल जाने श्रमिकको संख्या उल्लेख वृद्धि भएसँगै रेमिटेन्समा थप वृद्धि भएको थियो ।
यसैगरी केही समयपछि इजरायलले थप नेपालीलाई रोजगारीको अवसर दिने प्रतिबद्धता जनाएपछि नेपाल सरकारले अन्य क्षेत्रमा थप नेपाली पठाउने बारे गृहकार्यसमेत गरिरहेको छ । इजरायल सरकारले वार्षिक रूपमा नेपाली श्रमिकको माग संख्या वृद्धि गर्दै लगेर नयाँ केयर सेन्टरमा रोजगारी दिने जनाएको छ ।
इजरायलले यहाँबाट गएका नेपालीलाई इजरायलका विभिन्न वृद्धा आश्रम र अस्पतालमा काम गर्ने गरी रोजगारी दिइसकेको छ । इजरायलले पछिल्लो समय केयरगिभर बाहेक कृषि क्षेत्रका लागि १ हजार नेपाली लैजाने आवश्वासन दिँदै आएको छ । ६ महिनाअघि वैकल्पिकसहित ८०० नेपाली लैजाने जनाउँदै आवेदन माग गरेपछि १ हजार थप गरी वैकल्पिकसहित २ हजार माग गर्ने भएको थियो ।
साउनमा नेपालस्थित इजरायली राजदूत हनान गोडरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीसँगको भेटमा ५०० जना मुख्य उम्मेदवार र ३०० वैकल्पिक उम्मेदवार गरी जम्मा ८०० जना नेपाली श्रमिकहरू इजरायल लैजाने भनिएकोमा सो संख्या बढाएर १ हजार मुख्य उम्मेदवार र १ हजार वैकल्पिक उम्मेदवार गरी कुल २ हजार जनासम्म नेपालीहरू लैजान सकिने गरी सहमति भएको थियो ।