.तातोपानीको अर्धवार्षिक प्रगति
१२ योजना निर्माण, एक करोड २१ लाख अन्तिम भुक्तानी

जुम्ला– जिल्लाका अन्य पालिकाले योजनामै सम्झौता प्रक्रिया अघि नबढाएको अवस्थामा जुम्लाको तातोपानी गाउँपालिकाले नो वटा योजना निर्माण गरी अन्तिम भुक्तानी दिएको छ । चालु आवको पुस मसान्तसम्म १२ वटा योजना निर्माण सम्पन्न गरी नौवटा योजनाको अन्तिम भुक्तानीसमेत भइसकेको छ ।
अर्धवार्षिक प्रगति विवरणनुसार तातोपानीले ६ महिनामा १२ वटा योजना निर्माण सम्पन्न गरेकामा नौवटा योजनाको एक करोड २१ लाख बजेट अन्तिम भुक्तानी गरिसकेको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । जसमा वडा नं ३ को कार्कीबाडा कालिका थान निर्माण तीन लाख, वडा नं भुयार थान निर्माण रोड ग्यामिन निर्माण एक लाख, वडा नं ८ मा नदैदेवि आविदेखि देउलीसम्म गोेरेटो बाटो निर्माण, दुई लाख अन्तिम भुक्तानी गरिएको छ ।
त्यस्तै वडा नं ८ मा जोखे आटीदेखि थलालेसम्म सडक स्तरोन्नति योजना निर्माण सम्पन्न गरी ५० लाख अन्तिम भुक्तानी गरिएको छ । त्यस्तै वडा नं ७ को जनजागृती मावि व्यवस्थापन कार्यक्रममा तीन लाख, वडा नं ५ को श्रीनगर चौरदेखि चीन सेराडिलसम्म तटबन्ध निर्माणमा १३ लाख, वडा नं ५ मै श्रीनगर सडक बत्ती योजनामा आठ लाख ५० हजार, उक्त वडाकै गहडाखोला तटबन्ध निर्माणमा तीन लाख र वडा नं ८ को बालाङटाङदेखि बुङतडी तटबन्ध निर्माण आयोजना सम्मपन्न गरी ३५ लाख बजेट अन्तिम भुक्तानी दिइएको छ ।
८ वटा वडा रहेको तातोपानीले पालिकाभित्रको भौगोलिक विकटतालाई मध्यनजर गर्दै भेरीखोला क्षेत्रको पूर्वाधार विकासलाई पहिलो जोड दिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । असारे विकासलाई निरुत्सहित गर्ने अभियान थालेको तातोपानीले हरेक वर्षको अन्तिम भुक्तानी ढिलोमा वैशाख मसान्तमै सक्ने लक्ष्य लिएका छौं ।
अध्यक्ष चौलागाईंले भने, ‘चालु आवमा कार्यान्वयन हुने कुल १३७ वटा योजना तथा कार्यक्रममध्ये ६ महिनासम्म ७१ योजना सम्झौता भएका छन् । सम्झौता भएका योजनामध्ये १२ वटा योजना निर्माण सम्पन्न भई नौ योजनाको अन्तिम भुक्तानी गरेका छौं भने २० वटा योजनाका लागि पेश्की रकम दिइएको छ । अबको एक महिनामा योजना सम्झौता सकेर कार्यान्वयन प्रक्रिया अघि बढाउँछौ ।’
केही योजना निर्माणका लागि जग्गा प्राप्ति गर्न बाँकी रहेकाले सम्झौता हुन ढिलाइ भएको छ । यद्यपि जग्गाा प्राप्तिका लागि स्थानीय नागरिकसँग पालिकाले समन्वय गरिरहेको अध्यक्ष चौलागाईंको भनाइ छ । तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले पालिकाको पूर्वाधार विकासलाई गुणस्तर बनाउन अनुगमन संयोजकका हिसाबले अनुमगन निरीक्षण तथा गुणस्तर मापनलाई जोड दिएको बताइन् ।
उनका अनुसार आन्तरिक आय वृद्धिको दायरालाई फराकिलो बनाई राजस्व परिचालनमा जोड दिइएको छ । चालु आवको ६ महिनामा तातोपानीले १७ लाख ५३ हजार राजस्व संकलन गरेको छ । त्यस्तै जिल्लामै पहिलो दुई हजार एक सय घरधुरी घर बीमा कार्यक्रमबाट लाभान्वित भएका छन् । ६ महिनामै तातोपानीले पूर्वाधार विकासमा लिएको गतिले सुशासन तथा पारदर्शितामा थप टेवा पुर्याएको छ ।
अर्धवार्षिक खर्च २७ प्रतिशत
तातोपानी गाउँपालिकाको अर्धवार्षिक बजेट खर्च २७ प्रतिशत भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक बजेट खर्च २७.३२ प्रतिशत बजेट खर्च भएको हो । तातोपानी गाउँपालिका गाउँसभाको १६औं अधिवेशनमा प्रस्तुत अर्धवार्षिक भौतिक तथा वित्तीय प्रगतिअनुसार कुल विनियोजित बजेटमध्ये चालुतर्फ ३३.३२ प्रतिशत, पुँजीगततर्फ १५.२४ प्रतिशत बजेट खर्च भएको छ ।
चालु र पुँजीगततर्फ तातोपानी गाउँपालिकाले चालु आर्थिक वर्षमा ५४ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेकामा चालु आवको ६ महिनामा १४ करोड ३२ लाख रुपैयाँ खर्च भएको छ । तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले १६औं अधिवेशनमा प्रस्तुत गरेको विवरणनुसार कुल १७ करोड आठ लाख पुँजीगत बजेटमध्ये ६ महिनामा दुई करोड ६० लाख रुपैयाँ खर्च हुँदा चालुतर्फ विनियोजित ३५ करोड ३४ लाखमध्ये ११ करोड ७२ लाख खर्च भएको देखिन्छ ।
साथै तातोपानी गाउँपालिका गाउँसभाको १६औं अधिवेशन विभिन्न नीति पारित गर्दै सम्पन्न भएको छ । विद्यायन अधिवेशनका रूपमा सञ्चालन हुने हिउँदे अधिवशेनमा विशेषगरी नयाँ नीति पारित र पूरा नीति संशोधन गरिन्छ । यसैबीच तातोपानी गाउँपालिकाको १६औं अधिवेशनले नयाँ १५ र २ वटा संशोधनसहित १७ वटा कार्यविधि, ऐन पारित गरेको छ भने अर्धवार्षिक प्रगतिलाई अनुमोदनसमेत गरेको छ ।