Logo

‘मरभूमीकरण हुनबाट बचाउन पानीको मुहान संरक्षण गरौं’

दाङ– जिल्लालाई मरभूमीकरण हुनबाट बचाउन पानीको मुहान संरक्षण गरिनु पर्ने सरोकारवालाले बताएका छन् । यसका लागि उत्तरी भेगमा जलाशय निर्माण गरेर पानी रिचार्ज हुने व्यवस्था बनाउनु पर्ने उनीहरूको भनाइ छ । पानीको स्रोतको रूपमा रहेको चुनढुंगा उत्खनन् तथा नदीजन्य वस्तुको उत्खनन्का कारण पछिल्लो समय पानी सुक्दै गएको सहभागीको भनाइ थियो । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २४औं साधारणसभामा बोल्ने वक्ताले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै भरतपुर खानेपानी संस्थाका अध्यक्ष शंकर गौतमले खानेपानी क्षेत्र राज्यको उपेक्षमा परेको बताए । तीनवटै सरकारबाट खानेपानी संस्थाहरू उपेक्षामा परेको उनको दाबी थियो । गैर नाफामूलक सेवा गर्ने उद्देश्यले स्थापना भएका खानेपानी संस्थालाई राज्यले २५ प्रतिशत कर लिने गरेको बताए । ‘सेवामूलक संस्थाबाट राज्यले व्यवसायी जसरी नै कर लिने गरेको छ,’ उनले भने । विद्युत शुल्कसमेत उद्योगी सरह तिर्न लगाउने गरेको उनले बताए । ‘कसरी सेवा मुलक संस्था सञ्चालन हुन सक्छन्,’ उनले भने । राज्यले सहयोग गर्नुको साटो उल्टो समस्यामा पार्ने गरेको उनको भनाइ छ ।

चौधेरा खानेपानी संस्थाका अध्यक्ष हरि सुवेदीले जिल्लामा चुनढुंगा उत्खनन गर्दा पहाड नै सकिन थालेको बताए । यसरी चुनढुंगाको पहाड सकिँदा पानीको मुहानसमेत सक्दै गएको उनको भनाइ छ । ‘डोजरले पहाड हल्लाउँदा पानीका मुहानसमेत हराउँदै गएका छन्,’ सुवेदीले भने । यस्तो अवस्था आउँदासमेत राज्यको ध्यान पुग्न नसकेको उनको भनाइ छ ।

राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले नागरिकलाई स्वच्छ खानेपानी पुर्‍याउने राज्यको दायित्व रहेको बताए । राज्यले आफनो दायित्व पूरा गर्न नसक्दा संस्थाहरूले सहयोग गरेको बताए । यसरी राज्यलाई सहयोग गर्दा पनि राज्यले संस्थालाई सहयोग गर्नुको साटो दु:ख दिने काम गरेको उनको भनाइ छ । संविधानमा उल्लेख भएको मौलिक हक तथा नैसर्गिक अधिकारभित्रको स्वच्छ खानेपानीसमेत राज्यले पुर्‍याउन सकेको छैन उपभोक्ता संस्थाले सहयोग गर्दा उनीहरूलाई दु:ख दिएर राज्ले के गर्न खोजेको हो ?’ वलीले भने ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग काठमाडौं सहलगानी आयोजनाका प्रमुख नारायणप्रसाद आचार्यले खानेपानीसम्बन्धी भएका ऐन निमावलीअनुसार नै सरकार अगाडि बढने बताए । ऐन निमावलीको प्रभावकारी भएमा खानेपानी क्षेत्रमा हुने दोहोरोपना हटने उनको भनाइ छ । उपभोक्ता संस्थाले भनेको जस्तो समस्या नभएको उनले बताए । बबई लिफ्टिङको काम पूरा भएमा घोराहीमा खानेपानी समस्याको समाधान गर्न सहयोग पुग्ने उनले बताए ।

उनले पानीको मुहान संरक्षणका लागि ग्वार खोलामा जलाशय निर्माण गर्न उपयुक्त रहेको बताए । यसका लागि सबैले आआफ्नो तर्फबाट पहल थाल्नुपर्ने समेत उनले बताए । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगन्जका प्रमुख अतुलेसकुमार कर्ण राज्यले नागरिकलाई खानेपानीको उपलब्धता गराउनका लागि एक घर एक धारो अभियान सञ्चालन गरेको बताए । यसका लागि राज्यसँगै संस्थाहरूले समेत सहयोग गर्दै आएको उनको भनाइ छ । जनसंख्या वृद्धिसँगै पानीको माग बढेका कारण समस्या हुँदै गएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्