Logo

चितवनमा डेरी एक्स्पो सुरु

काठमाडौं– चितवन भरतपुरमा रहेका चितवन प्रदर्शनी केन्द्रमा प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ सुरु भएकोछ । एक्स्पोको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेका हुन् । प्रदर्शनीको उद्घाटन गर्दै अधिकारीले सरकारले कृषि ऐन जारी गर्ने तयारीमा रहेको बताए । किसानहरुको सुझावलाई आफूहरु कृषि ऐनमा समेट्न तयार रहेको भन्दै मन्त्री अधिकारीले आवश्यक र समय सान्दर्भिक सुझावहरू दिनका लागि आग्रह गरे ।

‘सरकारले ल्याउन लागेको कृषि ऐन आएपछि नेपालका कृषकहरुले हामी सक्षम छौँ, हामी गरिब भएर तथा खान नपाएर कृषिमा लागेका होइनौँ भन्ने भावनाको विकास हुन्छ’ उनले भने,‘कृषि पेसालाई सम्मानित बनाउनेगरी ऐन जारी गर्न लागिएको छ ।’ दूधबाट दही, मोही, घिउ र कुराउनी मात्रै बन्छ भन्ने आम धारणा भएको भन्दै मन्त्री अधिकारीले दूधबाट धेरै उत्पादनहरु तयार हुन्छ भन्ने बुझ्नुपर्ने बताए ।

पशुपालन र डेरीमा प्रविधि भित्र्याएर उत्पादनमा विविधिकरण गर्न सकेमा किसानहरुको जीवन परिवर्तन हुनसक्ने उनले बताए । किसानहरुलाई अत्यन्त पीडा भएको भन्दै मन्त्री अधिकारीले त्यो पीडालाई व्यवस्थापन गर्नका लागि हामी सबैमा इमानदारिताको जरुरी भएको बताए । ‘कृषि कर्म गर्नेहरु पनि तीन तहका सरकारसँग पाएसम्म लिन सक्ने बताए’ उनले भने, ‘इमानदारिता कामय गर्न सक्यौँ भने कृषि कर्म गर्नेका लागि सरकारबाट राम्रै सहयोग भएको छ ।’

पोल्ट्री एक्स्पोको बारेमा जानकारी दिँदै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेले पशुपालनमा भित्रिएका आधुनिक प्रविधिहरुको प्रदर्शनी गरिएको बताए । दूधको विविधिकरणका लागि आवश्यक पर्ने उपकरण तथा दूधबाट बन्ने परिकारको प्रदर्शनीसहितका ५२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टलहरु प्रदर्शनीमा राखिएको बगालेको भनाइ छ ।

दूध किसानहरुको समस्या समाधन गर्ने, पशुपालनमा प्रविधिको प्रयोग गर्दै उत्पादन लागतमा न्यूनीकरण गरी दुग्धजन्य पदार्थको निर्यात गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रदर्शनी माघ २७ गतेसम्म सञ्चालन हुने उनको भनाइ छ । दूधको बजारीकरणमा सहजता होस् भनेर एक्स्पो सञ्चालन गरिएको बगालेले बताए ।

प्रदर्शनीमा डेरी उद्योगका लागि आवश्यक पर्ने सफ्टवेयर, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरण, पशुपालन आहार सम्बन्धी स्टलहरु, पशु औषधि तथा भेटनरी सेवा सम्बन्धीका स्टलहरु, डेरीलाई उपयोग हुने प्याकेजिङ उद्योगका स्टलहरु, बैंक तथा बिमा कम्पनीहरु, स्टार्टअप प्याभिलियनलगायतका स्टलहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्