कामना बैंक र उद्यमी मञ्च चितवनको आयोजनामा बिजनेस कन्क्लेभ सम्पन्न

काठमाडौं– कामना सेवा विकास बैंकले नेपाल युवा उद्यमी मञ्च चितवनसँगको सहकार्यमा बैंकिङ एण्ड बिजनेस कन्क्लेभ सम्पन्न गरेको छ । पछिल्लो समयमा व्यवसायी र बैंकबीच रहेको दुरी घटाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा चितवनका करिब ६० भन्दा बढी युवा व्यवसायीको सहभागीता रहेको थियो ।
पत्रकार महासंघ चितवनका सचिव राजेश घिमिरेले उक्त कार्यक्रमको मध्यस्तता गरेका थिए भने कार्यक्रममा कामना बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसिए विमन कार्की र उद्यमी मञ्च चितवनका पुर्व अध्यक्ष तथा व्यवसायी सुर्यभक्त अधिकारी वक्ताको रूपमा रहेका थिए ।
अधिकारीले व्यवसायीहरु कोभिड १९ को चपेटाबाट अगाडि वढ्न नपाउदै नियमनकारी निकायका विभिन्न नीतिहरुले व्यवसायीहरु थप आक्रान्त बनेको तथा व्यवसायबाट पलायन हुन सक्ने भएकोले बैंकहरुले साना तथा मझौला व्यवसायीहरुलाई संरक्षण गर्नुपर्ने जिकिर गरे ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दाहालले पछिल्लो समय नियमन र वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंक तथा वित्तीय संस्थाहरु अग्रसर हुँदा व्यवसायीहरुलाई असहज महसुस भए पनि दीर्घकालमा यसले सकारात्मक प्रभाव पार्ने बताए । पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीले होटल व्यवसायहरु कोभिड १९ देखि नै थलिएको हुँदा बैंकहरुले विशेष माया गर्नुपर्ने धारणा राखेको पनि बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।