Logo

नबिल बैंकको नबिल एसएसई फेलोसिप कार्यक्रम

काठमाडौं– नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रम सम्पन्न गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा फेलोसिप कार्यक्रमका दोस्रो र तेस्रो तहका सहभागीहरुलाई प्रमाणपत्रसहित बिदाइ तथा चौथौं कोहर्टका सहभागीहरुको स्वागत गरिएको हो ।

बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा समाजमा उद्यमशिलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यको साथ गत तीन वर्षदेखि यो कार्यक्रम सञ्चलन गर्दै आएको छ । कार्यक्रममा फेलोसिप कार्यक्रमका सहभागीहरुले नवीन उद्यममार्फत प्राप्त गरेको उपलब्धि, प्रशिक्षकहरूको योगदान तथा कार्यक्रमको समग्र प्रभावबारे चर्चा गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिन प्रा.डा महानन्द चालिसेले नबिल एसएसई कार्यक्रम सामाजमा परिवर्तन ल्याउन महत्त्वपूर्ण पहल भएको चर्चा गर्दै यसलाई थप विकास र विस्तार गर्न सकिने धारणा व्यक्त गरे । त्रिविका उपकुलपति प्रा.डा.केशरजंग बरालले उद्यमी र शैक्षिक संस्थाबीचको सहकार्य सामाजिक उद्यमशिलता प्रवर्द्धनका लागि महत्त्वपूर्ण भएको धारणा व्यक्त गरे । ‘यो कार्यक्रमले युवाहरुमा जागिर खाने होइन जागिर दिने मानसिकतामा परिवर्तन ल्याउनेछ,’ उनले भने ।

नबिल बैंकका निर्देशक निर्वाण चौधरीले सामाजिक उद्यमशिलताको महत्त्वबारे चर्चा गर्दै फेलोसिप कार्यक्रमले विभिन्न कठिनाइका बाबजुद पनि नेपाली युवालाई रोजगारदाताका रूपमा अघि बढ्न प्रेरित गरेको बताए । उनले कार्यक्रममा सहभागीका उत्पादनहरु क्रमश: परिष्कृत हुँदै गएकामा खुसी व्यक्त गर्दै नेपाली उद्यमशिलतालाई विश्व बजारसम्म विस्तार गर्न सकिने सम्भावनाबारे चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्