Logo

हुलाकी सडक अलपत्र परेपछि आन्दोलनको चेतावनी

बुटवल– पश्चिम नवलपरासीमा हुलाकी सडक निर्माण अलपत्र परेपछि जिल्लाको प्रतापपुर गाउँपालिकाले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रतापपुर गाउँपालिकाको गोपीगन्जदेखि बेलाटारीसम्मको हुलाकी सडक निर्माण अलपत्र पर्दा यात्रु र स्थानीयले सास्ती भोग्नुपरेको छ ।

प्रतापपुर गाउँपालिका हुँदै जाने हुलाकी सडकको नारायण चोकदेखि बेलाटारीसम्मको सडक निर्माण कार्य ६ वर्षदेखि अस्तव्यस्त छ । समस्याको बारेमा जनप्रतिनिधि र सम्बन्धित निकायसँग पटक–पटक छलफल तथा सहमति गरे पनि अहिलेसम्म कुनै ठोस कार्यान्वयन हुन नसकेको गाउँपालिकाले जनाएको छ ।
यसअघि गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव र जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालय घेराउ र रिले अनसन गर्दा काम तत्काल अगाडि बढाउने सहमति भएको थियो । तर, निर्माण कम्पनीले काम नगरेपछि प्रतापपुर गाउँपालिका अध्यक्षसहित स्थानीयले सडक निर्माणको माग राख्दै काठमाडौंमा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

प्रतापपुर गाउँपालिकाले हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुलाई पत्र लेखेर फागुन १५ सम्ममा काम सुरु नभए काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ । पत्रको बोधार्थ सडक विभागको हुलाकी सडक निर्देशनालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत दिइएको छ ।

जनताले दैनिक धुलो खाँदै खाडल भएको बाटो हिँड्नुपरेको र ठेकेदारले काम गर्ने सहमति गरेर काम अलपत्र पारेको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । फागुन १५ सम्ममा देखिने गरेर काम अगाडि नबढे जनतासहित काठमाडौं गएर मन्त्रालयमा धर्ना दिन बाध्य हुने उनले बताए ।

६ दशमलव ५ किलोमिटर सडक ६ वर्ष हुँदा पनि सम्पन्न नभएपछि गाउँपालिका अध्यक्ष यादवले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । त्यसबेला मन्त्री दाहालले तत्काल काम सुरु नगरे ठेक्का रद्द गर्ने आश्वासन दिएका थिए ।

यसअघि गत असोज २ गते लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री, जिल्ला समन्वय समितिका प्रमुख र राजनीतिक दलका प्रतिनिधिको रोहबरमा ठेकेदारले तत्काल काम सुरु गर्ने सहमति गरेका थिए । तर पनि काम सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्