Logo

कैलाश बैकुण्ठले तान्यो पर्यटक

हेटौंडा– प्राकृतिक सौन्दर्य, हावापानी र धार्मिक तथा पर्यटकीय महत्वका विभिन्न स्थल रहेको मकवानपुरको कैलाश गाउँपालिका–२ स्थित बैकुण्ठ नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाएको छ ।

स्थानीय सरकारले बैकुण्ठलाई पर्यटकीय क्षेत्र बनाउन चासोका साथ लगानी गरेसँगै यहाँ आकर्षक पार्क, गुम्बालगायत संरचना निर्माण भइसकेका छन् । धादिङ, मकवानपुर र चितवनबाट घुम्न आउने पर्यटकको संख्या पनि बढ्दो छ ।

बैकुण्ठमा करिब एक करोड लगानीमा जीपलाइन निर्माणको कामसमेत अन्तिम चरणमा रहेको छ । बैकुण्ठबाट कैलाश गाउँपालिकाको अधिकांश वडाको अवलोकन गर्न सकिने, ऐतिहासिक विष्णुकुण्ड, गुफा, तामाङ जातिको परम्परागत सांस्कृतिक सम्पदा रहेका कारण पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिएको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । कैलाश बैकुण्ठको पर्यटकीय विकासका लागि गाउँपालिकाका साथै बागमती प्रदेश सरकारले समेत लगानी गरेको अध्यक्ष मुक्तानको भनाइ छ ।

बैकुण्ठमा केही वर्षअघि निर्माण गरिएको डाँफे मुनाल पार्कले सबैको ध्यान खिचिरहेको छ । चारैतिर हिमाल र पहाडको दृश्य देखिने अग्लो पहाडको टुप्पामा निर्माण गरिएको डाँफे र मुनालको आकर्षक प्रतिमाले सबैको मन लोभ्याउने गरेको छ । आर्थिक वर्ष २०७६–७७ मा गाउँपालिकाको २२ लाख रुपैयाँ लगानीमा डाँफे मुनाल पार्क निर्माण गरिएको हो ।

डाँफे मुनाल पार्ककै मुनि आकर्षक विष्णुकुण्ड छ । अग्लो डाँडाको समथल ठाउँमा सधैं पानी जमिरहने पोखरीलाई विष्णुकुण्डको नाम दिइएको छ । सो कुण्डलाई संरक्षण गर्दै कुण्डको बीचमा राखिएको बौद्ध धर्मगुरु पद्मसम्भवको आकर्षक मूर्तिले पनि पर्यटकलाई उत्तिकै लोभ्याउने गरेको छ । कैलाश गाउँपालिकाले नै १५ लाख रुपैयाँ खर्चिएर विष्णुकुण्ड निर्माण तथा पद्भसम्भवको मूर्ति स्थापना गरेको वडा नम्बर–२ का वडाध्यक्ष राजेन्द्र घिसिङले जानकारी दिए । बैकुण्ठमा पछिल्लो समय थप धेरै संरचना निर्माण भइसकेको र धादिङ, मकवानपुर र चितवनदेखि पर्यटक आउने गरेको वडाध्यक्ष घिसिङले बताए ।

डाँफे मुनाल पार्कसँगै प्रदेश सरकारको १० लाख रुपैयाँ लगानीमा बैकुण्ठ गाउँ सतिघाट संरक्षण स्थल पनि निर्माण गरिएको छ । करिब चार सय वर्षअघि बैकुण्ठमा मानव बस्ती बसाल्ने सुर्ज मोक्तानको कान्छी पत्नी केमालोमा मोक्तानले पतिको मृत्युपछि सति गई चिहान बनाइएको ठाउँलाई संरक्षण गरी सतघाट निर्माण गरिएको वडाध्यक्ष घिसिङको भनाइ छ ।

कैलाश गाउँपालिकाको बैकुण्ठदेखि कैलाशडाँडा जोड्ने जीपलाइन निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको करिब एक करोड रुपैयाँ लगानीमा निर्माणाधीन जीपलाइनको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ । गाउँपालिकाको पहलमा प्रदेश सरकारले २० लाख रुपैयाँ लगानी गरिदिएपछि डाँफे मुनाल पार्क नजिकैको डाँडामा आकर्षक डम्फूपार्क निर्माण गरिएको छ । डम्फूपार्कमा लभपार्क र टुङ्गापार्क बनाइएको छ ।

ऐतिहासिक बैकुण्ठ डाँडामै गाउँपालिकाले २२ लाख रुपैयाँ लगानी गरी टासी फर्पे छोयलिङ गुम्बा निर्माण गरिएको छ । गुम्बामा मूर्ति प्रतिस्थापन गरी केही समयअघि मात्रै सञ्चालनमा ल्याइएको छ । पर्यटनका लागि आवश्यक धेरै संरचना बनाइसकिएको र अब पर्यटक आवासको लागि व्यवस्थित होमस्टे स्थापना गरिने वडाध्यक्ष घिसिङले बताए । गाउँपालिकाले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी स्थानीय सरकार र स्थानीयको साझेदारीमा होमस्टे सञ्चालन गर्ने योजना बनाएको छ । रिसोर्ट र होटल सञ्चालनको लागिसमेत निजी क्षेत्रलाई आह्वान गर्ने योजनामा गाउँपालिका छ ।

बैकुण्ठको पर्यटन प्रवद्र्धन गर्न आगामी दिनमा स्काई साइक्लिङदेखि प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्नेसम्मका काम गरिने २ नम्बर वडाध्यक्ष राजेन्द्र घिसिङले बताए । आगामी आर्थिक वर्षमा कैलाश गाउँपालिका– १ र २ को सिमानामा रहेको गुप्तेश्वरी गुफा र कैलाश डाँडामा रहेको कैलाश गुफा जोड्ने सिँढीसहितको पैदलमार्ग बनाउने योजना गाउँपालिकाको छ ।

मकवानपुरको पर्यटकीय नगरी पालुङबाट करिब ३ घण्टा कच्ची सडकको यात्रापछि कैलाशको बैकुण्ठ पुग्न सकिन्छ । त्यस्तै धादिङको मलेखु र आदमघाटबाट पनि बैकुण्ठ पुग्ने सडक बनिसकेको छ । राक्सिराङ गाउँपालिकाको खैराङबाट पनि बैकुण्ठसम्म पुग्न सकिने सडक निर्माण भइसकेको छ । हिउँदयाममा मकवानपुरको मनहरीबाट करिब साढे २ घण्टामै बैकुण्ठ डाँडा पुग्न सकिन्छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकासँग सिमाना जोडिएको बैकुण्ठबाट धादिङ, गोरखा र रसुवाका हिमालहरुको आकर्षक दृश्य देख्न सकिन्छ । ऐतिहासिक गाउँको रुपमा रहेको बैकुण्ठमा तामाङले घाटु नाच नाच्ने प्रचलन छ । घाटु नाच गुरुङको संस्कृति भए पनि बैकुण्ठ गाउँमा मात्रै तामाङ जातिले घाटु नाच नाच्ने संस्कृति विकास गरेका छन् । हरेक वर्ष जेठको चण्डिपूर्णिमा मेला लाग्नुका साथै तामाङ जातिको घाटु नाच देखाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्