संसदीय दलमा देउवा थप बलिया

नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा थप बलियो देखिएका छन् । संसदीय दलमा करिब २ तिहाई सांसद आफ्नो पक्षमा रहेका दाबा गर्ने देउवा समूहमा तेस्रो धार भनिने कृष्ण सिटौला समूहका सांसद समेत थपिएपछि उनी थप बलियो देखिएका हुन् ।
संस्थापनबाट सभापति देउवा र रामचन्द्र पौडेल समूहबाट नेता प्रकाशमान सिंह दलको नेतामा आकांक्षी छन् । सिंहले यसअघि नै आफू संसदीय दलको नेतामा उठ्ने बताइसकेका थिए । तर, सभापति देउवाले भने बुधबारमात्र महामन्त्री शशांक कोइराला निवासमा सञ्चारकर्मीको जिज्ञासामा आफू दलको नेतामा उठ्ने बताए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले पराजय बेहोरेकाले देउवाले दलको नेतामा उठ्ने नैतिकता गुमाइसकेको जिकिर पार्टीभित्रै केही नेताहरूले गरिरहेका बेला देउवाले भने पछि नहट्ने प्रष्ट बताइसकेका छन् । कांग्रेसमा रहेको ३ वटा गुटमध्ये कृष्ण सिटौला गुटको उपस्थिती संसदीय दलमा न्यून छ । जसकारण सिटौला समूहबाट अहिलेसम्म कोही उम्मेदवारका रुपमा देखिएका छैनन् । यो गुटमा रहेका सांसदहरू भने विभाजित देखिएका छन् ।
सिटौला गुटका नेता गगन थापा र भमिसेनदास प्रधान नै संसदीय दलको निर्वाचनमा फरक फरक कित्तामा उभिने भएका छन् । बिहिबार देउवा निवास बूढानिलकण्ठ पुगेका काठमाडौं ६ का सांसद प्रधानले आफ्नो समर्थन संसदीय दलको नेतामा सभापति देउवालाई नै हुने बताए । “पार्टी सभापतिको इच्छा रहेसम्म संसदीय दलको नेतामा अरुको दाबी उपयुक्त हुँदैन,” प्रधानले भने, “सभापतिको इच्छा रहेसम्म दलको नेता उहाँ नै स्वाभाविक हुन्छ ।” उनले दलको निर्वाचन पार्टिको आन्तरिक भएकाले यसलाई सबैले स्वभाविक रूपमा लिनुपर्ने बताए । प्रधान निकटस्थहरू सिटौला समूहका अर्का सांसद उमाकान्त चौधरी पनि देउवाकै पक्षमा उभिने बताउँछन् ।
तर, नेतृत्व परिवर्तनको माग गर्दै आएका काठमाडौं ४ बाट निर्वाचित सांसद सिटौला समूहकै गगन थापा भने अन्योलमा देखिएका छन् । उनले सभापति देउवाले संसदीय दलको नेतामा उम्मेदवार हुन नहुने बताएका छन् । सभापति देउवाको विपक्षमा देखिएका थापा कसको पक्षमा उभिने भन्नेमा भने खुलिसकेका छैनन् । उनी निकटस्थहरू भने थापाको समर्थन सिंहलाई हुने बताउँछन् । कांग्रेस संसदीय दलको चुनाव फागुन २१ गते हुँदैछ । कांग्रेसमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट २३ र सभानुपातिक ४० गरी जम्मा ६३ जना सांसद छन् । कांग्रेसमा संसदीय दलको नेता बन्न ६३ सांसदमध्ये ५० प्रतिशतभन्दा बढी अर्थात् ३२ मत ल्याउनुपर्नेछ । प्रत्यक्षतर्फ देउवा समूहका ६ जना निर्वाचित भए पनि समानुपातिकतर्फ ४० जना देउवा निकटस्थ रहेकाले दलको नेतामा देउवाको अवस्था बलियो देखिएको छ ।
शशांक मौन
संसदीय दलको नेतामा देउवा र सिंहको चर्चा चलिरहँदा महामन्त्री शशांक कोइराला भने मौन देखिएका छन् । उनले निर्वाचन नलड्ने तर सर्वसम्मत भए संसदीय दलको नेता बन्ने आकांक्षा राख्दै आएका छन् । सभापति देउवा स्वयंले उममेदवारी घोषणा गरिसकेपछि सर्वसम्मतको सम्भावना टरेको छ । दलको नेतामा उम्मेदवार नबने पनि कोइरालाको समर्थन कसलाई हुन्छ भन्नेमा उनी खुलिसकेका छैनन् । समूहगत रूपमा पौडेल समूहका भएपनि व्यक्तिगत रुपमा उनी देउवासँग अत्यन्त निकट मानिन्छन् । भावी सभापतिका रूपमा हेरिएका कोइराला देउवालाई चिढ्याउने पक्षमा नरहेकाले उनकोसमेत समर्थन देउवालाई हुनसक्ने उनका निकटस्थहरू बताउँछन् । पौडेल समूहभित्रै पनि कोइराला बलिया मानिन्छन् । कोइराला विपक्षमै उभिए पनि दलको नेता हुनबाट देउवालाई रोक्न अंकगणित नपुग्ने देखिन्छ ।