पाथीभरामा केबलकार निर्माणले धार्मिक पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जना गर्छ

काठमाडौं– पाथीभरामा केबलकार निर्माणले पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताइएको छ ।
पाथीभरामा केवलकार बनाउने कम्पनी पाथीभरा देवी केबलकार प्रालि हो । कम्पनीका अध्यक्ष चन्द्र ढकालले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने ‘केबलकार परियोजनाले धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्दै स्थानीय रोजगारी सिर्जना गर्छ र समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउँछ ।’
केबलकार निर्माणलाई लिएर विभिन्न रुपमा बहस र विवाद भइरहेको जनाउँदै अध्यक्ष ढकालले वातावरणमैत्री पूर्वाधार बनाउने जानकारी दिए । उनका अनुसार केबलकार विद्युतीय यातायात भएकाले प्रदूषण हुँदैन । उनले निर्माणका क्रममा एउटा रुख काटे त्यसको स्थानमा नयाँ २५ रूख रोप्ने प्रतिबद्धता पनि जनाए ।
ढकालका अनुसार परियोजनाले ३ सय भन्दा धेरै जनालाई प्रत्यक्ष रोजगारी दिनेछ । कुल रोजगारीमा प्राविधिक बाहेक ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिइने छ । उनले अहिले पाथीभरा क्षेत्रमा भरियाका रूपमा काम गरिरहेका सर्वसाधारणलाई वैकल्पिक रोजगारी उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे । उनका अनुसार परियोजनाबाट आर्जन हुने नाफाको केही हिस्सा स्थानीयरुपमा स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा लगानी गरिने छ ।
निर्माण कम्पनीका अनुसार पाथीभरामा बन्ने केवलकार २.७५ किलोमिटर लामो हुनेछ । यो लाइनमा ३६ यात्रुवाहक र २ सामान बोक्ने गोन्डोला बनाइने छन् । तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म पुग्न १० मिनेट ३१ सेकेन्ड लाग्नेछ ।
अहिले केबलकार निर्माणलाई लिएर स्थानीयस्तरमा विवाद आएको छ । यो विवाद केन्द्रसम्म आएकाले यो समस्या समाधान गर्न सरकार र आन्दोलनरत पक्षबीच वार्ता टोली गठन भएको छ ।
अध्यक्ष ढकालले पाथीभरामा केवलकार बनाउन सरकारले सर्तसहित अनुमति दिएको जानकारी दिंदै सरकारले राखेको सर्त अनुसार नै काम अघि बढाउने बताए ।