Logo

सिमसार र हाम्रो पीडा

विश्व सिमसार दिवस फेब्रुअरी २ सन् २०२५, यो वर्षको नारा ‘साझा भविष्यका लागि सिमसार संरक्षण’ रहेको छ । अघिल्लो वर्ष पनि ‘आजको आवश्यकताः सिमसारको पुनस्र्थापना’ भनिएको थियो । ‘हिँड्दै छ, पाइला मेट्दै छ’ नेपाली उखान चरितार्थ भइरहेको छ, सिमसार संरक्षण होइन अतिक्रमण बढेको छ । बरु सिमसारमा रहने हिंस्रक प्राणीले पनि मान्छे खाइरहेका छन् र सिमसारको प्राण पानीले पहिरोमार्पmत मान्छे मात्रै खाएको छैन, नेपालका पूर्वाधारहरू सर्लक्कै निलेको छ, विकास गलेको छ, ढलेको छ, वन–जंगललाई डढेलोले निलिरहेको छ ।

यसै वर्ष जनवरीको अन्तिम दुई साता पंक्तिकार नेपालको पश्चिम र पूर्वी क्षेत्रको अवलोकन भ्रमणमा हिँडेको थियो । भक्तपुरको साँगादेखि धुलिखेल, भकुन्डे, खुर्कोट, सिन्धुलीगढीदेखि भीमान, गाईघाट र कोसीतट चतरा र आसपास सबै क्षेत्र नियाल्दा पंक्तिकारको मन फेरि क्षतविक्षत भएको र पश्चिमतिर पनि सधैँ असरल्ल देखिएको थानकोट–सिस्नेखोलाको सुरुङ मार्ग, अलिक परको झ्याप्ले खोला, अनि त्रिशूलीको बगर–बगर कुदिरहँदा र अलिक पर अघिल्लो भ्रमणमा देखिएको चितवन–बुटवल राजमार्गको दुर्दशाले यो मनलाई भित्रैदेखि चिमोटिरहेको छ । पंक्ति तयार गर्दा फेब्रुअरी २ सिमसार दिवस, लामो सुस्केरा निकाल्दै यो आलेख तयार गरेको छु ।

साँच्चै गत असोजको रोसी खोलाको ताण्डव नृत्यले खाएको बिपी राजमार्ग हेरिसक्नु छैन, मूल बाटो होइन, नदी पछ्याउँदै रफ रोडमा धूलो खाँदै र नदीकिनारामा लडिरहेका ठूला, अग्ला भवनहरू मस्त सुतिरहेका दृश्य हेर्दै अगाडि बढ्नुपरेको अवस्था छ । सबैभन्दा राम्रो भनिएको त्यो बाटो तुरुन्तै बन्ने छाँट छैन, दशकौँ लाग्न सक्छ, हिउँदमा केही सवारी गुडेको देखिए पनि तुरुन्तै आउने वर्षामा गाडी गुड्ने छाँट देखिन्न । विकास गयो डोजरे, विनाश थपियो, देशको विकासको मोडल के हो, न हाम्रा इन्जिनियरलाई थाहा छ, न देश हाँक्ने चालकलाई नै, पछिल्ला दिनमा सिमसारको मानवीय अतिक्रमणले चराको संख्यासमेत कम भएको स्पष्टै छ । प्रकृतिबिना मानव जीवन कल्पनासम्म गर्न नसकिने जान्दाजान्दै मानव यसको दोहनमा लागेको छ ।

गणतन्त्र शीतल निवासमा छ, संघीयता सिंहदरबार र बालुवाटारमा छ, लोकतन्त्र राजनीतिक कार्यकर्ताहरूको घरघरमा छ । तर, उल्लिखित सम्बद्ध क्षेत्रलगायत देशैभरिको जनमानस यो धर्तीको पीडामा छैन र त आज हाम्रा लागि देश कष्टकर हुँदै छ भने भोलिका दिन कस्ता होलान् र हामीले पछिल्लो पिँढीलाई के छोड्छौँ होला ? नारामा भन्यौँ, भविष्यका लागि सिमसार संरक्षण भनेर । नारा दिन खप्पिस छौँ हामी, भन्छौँ: पानी र सिमसार, सिमसार र जैविक विविधता आदि । काठमाडौँ उपत्यका झन्डै मरुभूमि भइसकेको छ, यहाँ बग्ने पानीमा कुनै जलचर छैनन्, त्यस अर्थमा काठमाडौँ मृत सहर हो र पुराना जलाशय कतै देखन्नन् । संसारकै कुरो गर्दा पनि यो शताब्दीमा मान्छेले ६ गुणा बढी पानीको प्रयोग गरेको छ, पानीमा रहने प्राणीको भक्षणा गरेको छ, नदी सबै ढलमती भएका छन् ।

सामान्य अर्थमा पानीले भिजेको, पानी भएको जमिनलाई सिमसार भनिन्छ । पानीको मुहान, हिलो, दलदल क्षेत्र, धान बालीका लागि उपयुक्त स्थान, भूमिगत जलस्रोत, वर्षामा पानी बढ्ने प्राकृतिक वा मानवनिर्मित स्थायी वा अस्थायी पानी जमेको, बगेको, नदीबाट प्रभावित, धापिलो, दलदल, ताल, जलाशय वा भनौं कृषि भूमिसमेतलाई सिमसारको रूपमा हेर्ने चलन छ । हामीकहाँ धान उत्पादन बढेको देखाइएको छ, धान, चामल आयात पनि बढेको भन्सार विभागको तथ्यांक छ र खेतीयोग्य जमिन घटेको र त्यसमा आधुनिक डोजरहरू कुदिरहेका छन् । विषादीको प्रयोग बढेर खाद्यान्नलगायतको वायुमण्डल विषाक्त छ र भयावह क्यान्सर रोगको पीडामा आम नेपालीहरू जिन्दगी गुजारिरहेका छन् । आम सञ्चार भने क्यान्सरविरुद्ध साइकल र्‍याली निकाल्दै छ ।

रामसार महासन्धिले भनेअनुसार सिमसार भनेको प्राकृतिक वा कृत्रिम, स्थायी वा अस्थायी, जमेको वा बगेको, नुनिलो वा स्वच्छ पानीले ढाकेको जमिन हो । नेपालमा कृषियोग्य भूमि प्रशस्त भए पनि खासमा तराई, पहाड र हिमाल गरी अन्तर्राष्ट्रिय महत्व बोकेको सिमसार भूमि भने कुल भूमिको ५ प्रतिशत मात्र छ । यसरी हेर्दा यहाँ सिमसारले ओगटेको क्षेत्र करिब ६० हजार ५ सय ६१ हेक्टर छ । नेपाल रामसार महासन्धिको पक्ष राष्ट्र भएपछि कोसीटप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, घोडाघोडी ताल, रारा ताल, शे फोक्सुन्डो ताल, माईपोखरी, गोसाइँकुण्ड, पोखरामा रहेका विशेष नौवटा तालको समूहसमेत जोड्दा रामसार सूचीकृत सिमसार क्षेत्रको संख्या १० छ ।

र, पूर्वी झापामै सालबारी सिमसार, निचालोड सिमसार, केचनाकलन सिमसार, जलथल सिमसार, जामुनखाडी सिमसार, मोरङको वेतना सिमसार र पश्चिम बर्दिया, कञ्चनपुर, कैलालीतिर त कति छन् कति ! सन् १९९७ मा रामसार महासन्धिमा हस्ताक्षर भएको दिन फेब्रुअरी २ हो र यसैलाई सम्झँदै दिवस मनाइन्छ यहाँ र सबैतिर संसारमा । नेपालमा राष्ट्रिय रामसार रणनीति तथा कार्ययोजना २०१८, २०२४ ले ५.४१ प्रतिशत भूमि सिमसार क्षेत्रमा रहेको पुष्टि गर्छ र सिमसार नीति–२०१२, पाँचवर्षे राष्ट्रिय रामसार रणनीति–२०१८ र सिमसार समितिको अगुवाइमा सिमसार संरक्षणको प्रयास भइरहेको भनिन्छ, तर वन जंगलहरू डढेलोमा पर्ने क्रम बढेको छ ।

विगत केही समययतादेखि जलवायु परिवर्तनसँगै नेपालमा सिमसार क्षेत्रका रूपमा रहेका तालतलैया, घोल, नदी, चिस्यान क्षेत्रमा व्यापक परिवर्तन आएको छ । प्राकृतिक स्रोतको अधिकतम दोहन भएको छ, जसले गर्दा सिमसार क्षेत्रमा पानीको अभाव भएको छ, सुक्खा क्षेत्रको वृद्धि भएको छ । पानीको अभावमा कृत्रिम पानीको व्यवस्थापन सजिलो छैन । देशमै राम्रो मानिने चितवन राष्ट्रिय निकुन्जमा समेत हाल ५८ भन्दा बढी कृत्रिम ताल बनेका देखिन्छन्, सिमसार क्षेत्रमा आएको ह्रासकै कारण त्यहाँ एकसिंगे गैँडाका लागि घोेलको अभाव छ, सिमसार क्षेत्रमा १ सय ७२ भन्दा बढीका लोपोन्मुख प्रजातिका वनस्पति र प्राणीहरू रहेका छन् । हाल नेपालमा स्थायी र अन्यत्रबाट बसाइँ सरी आउने जलपन्छीको संख्या सिमसार क्षेत्रको विनाशकै कारण घटिरहेको छ । चितवन मात्रै होइन, पर्सा, बाँके, शुक्लाफाँटालगायत काठमाडौँको टौदह, चोभार, चराकै स्वर्ग मानिने सुनसरीसमेतमा पानीको अभाव छ ।

काठमाडौँको टौदह, चोभारमा सुक्खा बन्दरगाहले ठाउँ पाएको छ । पूर्वी क्षेत्र गुराँसको राजधानी, तर राष्ट्रिय गौरवको आयोजना भन्दै कोसी करिडोरमा विद्युत प्रसारण लाइनअन्तर्गत हजारौँको संख्यामा रुख कटान हुँदा समस्या थपियो । काठमाडौँ मात्रै उराठलाग्दो छैन अहिले, भर्खरै धरानको टुप्पो कोका नदीको शिरभागमा बसेर पंक्तिकारले पूरै कोसी बहाव, धरान र चतराधाम नियाल्दा विकासले विनाश निम्त्याएको देख्यो र सिमसार, जलवायु र मानव सभ्यतालाई धावा बोलिने गरी निम्ता गरिएको विकासले मानवलार्ई छिटै निस्कनै नसक्ने दलदलमा फसाउने महसुस गर्‍यो ।

सुनसरीमा औद्योगिक र मानव अतिक्रमणका कारण कोसी टप्पु क्षेत्र साँघुरिएको छ, अवलोकनकै क्रममा धरान पार्क पुग्दा केही उत्साह देखिए पनि रित्तो गाग्रो लिएर सिंहदरबार छिर्न खोजेका हर्क साम्पाङको गाग्रो प्रहरी हिरासतमा परेको केही दिनअघि मात्रै हो, पानीको अभाव कहाँ छैन ? बरु ६ हजार बढी नदीनालाको पानी खेर गएको छ, अमृतको छिटा मात्रै पुगेको अलाहवादमा दैनिक १ करोड मान्छे झुम्मिए, यहाँबाट पनि धेरै गए, फर्कंदा कतिको रामनाम सत्य पनि भयो, तर अमृतको कुण्ड नै रहेको वैदिक भूमि नेपाललाई भने राजनीतिका ठेकेदारहरूले धर्मनिरपेक्ष बनाएदेखि नै कति अपशकुन भइरहेको छ, देशलाई थाहा होला र गहिरो रूपमा नियाल्नेहरूलाई थाहा होला ।

जगदीशपुर तालमा हरेक वर्ष २५ हजारभन्दा बढी जलपन्छी विचरण गर्न आउँथे, केवल १७ हजारको तथ्यांक छ अहिले, बाघ, गैँडा, हात्ती, अर्नाजस्ता ठूला जनावरका लागि पानीको आपूर्ति भइरहनुपर्ने र निरन्तर त्यहाँ चिस्यानको आवश्यकता पर्ने हुन्छ, तर हामी भने गैँडाको सिङ व्यापार गर्दै धन कमाउन लागेका छौँ र उसको जीउज्यानको संरक्षण गरिरहेका छैनौँ, गैँडाको आँखा छोपेर विद्युतीय साधनमार्फत सिङ काटेर, नक्कली सिङ राखेर गैँडालाई ताडना दिइरहेको एक भिडियो पंक्तिकारले सामाजिक सञ्जालमा हेर्दै गर्दा मान्छे कति निरीह छ र उसमा आँसु नै नभएको महसुस गरेको छ । ६ महिनामा १० गैँडा मारिएको खबर पहिले नै आएको हो । हरियाली भएकै स्थानमा पाटे बाघले आफ्नो बासस्थान बनाउने हो, तिनलाई पनि बासस्थान सुरक्षित छैन ।

मान्छे अहिले ध्वनि, वायु एवं जल प्रदूषणका कारण कडा रोगको उच्च जोखिममा छ । पानीको स्रोत मन पर्ने नेपालका अधिकांश क्षेत्रमा हाल पनि नाग देवता विराजमान छन् । काठमाडौँ उपत्यका मात्र होइन, हाम्रा ठूला भनिएका मुख्य सहरहरू भद्रपुर, चन्द्रगढी, दमौली, पोखरा, विदुर बट्टार, जोमसोम, नारायणघाट, बुटवल, बेनी, महेन्द्रनगर सबैजसो नदी, खोला, सिमसार क्षेत्रनजिकैै रहेका छन् । कार्बन उत्सर्जनको प्रमुख कारक मानिस हो तर प्रकृतिलाई बिर्सेर जीवन सञ्चालन गर्दाको अवस्था हो अहिलेको बिपी राजमार्ग र त्यस आसपास सोत्तर भएका भवन र जीवन, के गरेन थानकोट, नागढुंगा, सिस्ने, झ्याप्ले खोलाले ? त्यो स्थानबाट बच्न बिच्केर सीतापाइलाबाट धुनीबेसी पुग्दा पनि लोकतन्त्रका डोजरहरू पंक्तिकारले यत्रतत्र देखेकै हो, दक्षिणकालीदेखि कुलेखानीको इन्द्र सरोवर सडक होस् या लेले, भरदेउ र गोटीखेल, ललितपुरका समग्र सडक हुन्, पहिरोका ढुंगा पन्छाउँदै सवारी घिसारेको दृश्य स्वयंको अनुभव छ, सर्वत्र जाहेर छ, तर खुलेको संसद्मा अध्यादेशका लागि युद्ध छ, आर्थिक क्रान्ति, कृषि क्रान्ति गर्न कहिले सिक्छन् हाम्रा महँगा जनप्रतिनिधिहरू ? एक थान बिलको खर्च कति छ देशमा ? कहाँबाट आउँछ यिनलाई पाल्ने पैसा, ट्रम्पले एड रोक्छु भनिसकेको छ । युएस आफैं जलनमा परेको, अग्निदाहमा ।

संसारकै प्रसिद्ध मुलुकमा बढी चिसोका कारण मानिसको अवसान भएको छ । विगतमा माइनस ७० डिग्री सेल्सियस अमेरिकामा र अस्ट्रेलियामा प्लस ४७ डिग्री सेल्सियस तापक्रमको खबर थियो । पानी प्रदूषित हुनुमा, पानीमा जलचर नपाइनुमा मानवनिर्मित प्रदूषण कार्बन उत्सर्जन हो । वनजंगलले, पानीले, जमिनले, नदी, सिमसारले कार्बनलाई सोसेर लिन्छ । सबैभन्दा बढी कार्बन सोसेर लिने वन हो, वन, नदीनाला, सिमसार क्षेत्रको अतिक्रमणले मानव आफैं अकाल मृत्युवरण गर्दै छ । ताल, नदी, इनार, खोला, वन, जलाशयहरूको संरक्षण गर्ने काम स्थानीय सरकारको हो, तर हामीकहाँ वडाअध्यक्षहरू पढेलेखेका विज्ञ छैनन्, राजनीतिक धन्दा जान्दछन्, विकास धन्दा त खोइ ? बेरुजु कति छ त्यहाँ ?

वायु प्रदूषण निकै कहालीलाग्दो छ यहाँ, वार्षिक वर्षाक्रममा व्यापक हेरफेर छ, अन्न लगाउने र भित्र्याउने बेला वर्षाले गरेको ताण्डव नृत्य कस्तो छ, लामो समय खडेरी छ, तीव्र वर्षा त अस्ति असोजमै देखियो, रात र दिन दुवैमा चिसो कम छ । खण्डवृष्टि, अतिवृष्टि र अनावृष्टिले मुलुक आक्रान्त छ, पानी पर्ने समय र यसको अवधिमा परिवर्तन भएको छ, हिमनदीहरू पातलिएका छन्, हिमतालको आकार बढ्दै छ, कृषि, जलस्रोत, वन, जैविक, विविधता, मानव स्वास्थ्य, पर्यटन र समग्र पूर्वाधारमै प्रभाव पारेको छ, भूस्खलन, बाढी, पहिरो प्राकृतिक दुर्घटनाबाट धनजनको ठूलो विनाश भएको छ । खोइ त स्थानीय र प्रदेश सरकार अनि केन्द्रको जुहारी सुनेर वाक्क–दिक्क भएका नेपालीहरूको देश छोड्ने क्रम तीव्र छ, कहाँ आयो लोकतन्त्र र कसलाई आयो ?

हरित गृह ग्याँसको उत्सर्जनमा वृद्धि हुँदा वायुमण्डल तात्ने हुनाले स्थानविशेष रूपमा जलवायु परिवर्तनबाट प्रभावित हुन्छ । फलस्वरूप अतिवृष्टि, अनावृष्टिको बढोत्तरी र ऋतुकालको छिटो–छिटो परिवर्तन हुने गर्छ । बेमौसममा गुराँस फुलेका उदाहरण हामीले देखिसकेका छौँ । जलवायु परिवर्तनको जोखिमबाट बच्ने उपाय भनेको जनचेतना नै हो, अनुकूलनका अभ्यासहरूको प्रवद्र्धन हो, नवीकरणीय ऊर्जाको प्रयोग हो । जलवायु परिवर्तनको प्रभावले खाद्यान्नमा संकट त छ नै, खाने मुख थपिने तर उत्पादन भने कम हुने कारण भागदौड प्रतियोगिताले समग्र सर्भाइभल सिस्टममै असर परेको छ । स्रोतको व्यवस्थापन जलवायुमैत्री हुनुपर्छ । पूर्वाधार विकासलाई जलवायु समयानुकूल बनाउन जरुरी छ । स्वच्छ र नवीकरणीय ऊर्जा विकास, कार्बन व्यापारमा कटौती र दिगो विकासतर्फ अग्रसर हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्