Logo

जुम्लाको अर्गानिक उत्पादन बेच्न काठमाडौंमा मिनी मार्केट

जुम्ला– जुम्लामा उत्पादित अर्गानिक कृषि वस्तुको स्वाद शहरका घरघरमा चखाउन काठमाडौंमा ‘जुम्ली अर्गानिक मिनि मार्केट’ सञ्चालनमा आएको छ । जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाद्वारा जुम्लामा उत्पादित कृषि वस्तुको बजारीकण गर्ने र सहकारीका सदस्यको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले काठमाडौंमा अर्गानिक मिनि मार्केट सञ्चालन गरिएको हो ।

जुम्ला र सुर्खेतमा यस्तो मार्केट यसअघि नै खुलिसकेका छन् । १४ औँ जिल्ला परिषद्बाट २०६४ सालमा अर्गानिक जिल्ला घोषणा भएसँगै जुम्लामा उत्पादन हुने फलफूल तथा खाद्यान्न बालीको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको छ । चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले बजारको मागलाई ध्यानमा राख्दै आफ्ना सदस्यको उत्पादन खरिद गर्ने र गुणस्तर जाँच गरी लेबलिङ तथा प्याकेजिङ गरी देशभरका विभिन्न शहरमा बिक्री गर्ने गरेको छ ।

सहकारीमार्फत केही वर्ष जुम्लामा मात्र सञ्चालन गरिएको अर्गानिक मिनि मार्केटले देशभरको माग धान्न नसकेपछि सुर्खेत र काठमाडौंमा शाखा विस्तार गरिएको सहकारी तथा मिनि मार्केटका व्यवस्थापक रिसिराम पाण्डेले बताए । उनका अनुसार काठमाडौं महानगरपालिका वडा नं. ३१ को आलोक नगरमा अर्गानिक मिनि मार्केट सञ्चालन गरिएको छ ।

‘जुम्लामा उत्पादन हुने सबै अर्गानिक वस्तु सिधै काठमाडौं लगेर बिक्री गरिरहेका छौं,’ उनले भने, ‘सञ्चालन भएको महिना दिन पनि बितेको छैन । माग र दैनिक बिक्री निकै सन्तोषजनक छ । हामीले सहकारीका सदस्यलाई आत्मनिर्भर बनाउन र उत्पादनसँग जोड्नका लागि मिनि मार्केट सञ्चालन गरेका हौं । सदस्यको उत्पादन खरिद गर्छौं । रुपैयाँ चाहिए हातमै दिन्छाैं । नचाहिए खातामा बचत गरिदिन्छौं । यसले आयआर्जन वृद्धिसँगै कृषि क्षेत्रमा समेत सदस्यहरु आकर्षित छन् ।’

जुम्लामा उत्पादन हुने अर्गानिक स्याउ, सिमि, आलु, मकै, कोदो, फापर, मार्सी धानको चामल, ओखर, टिमुर, चिनो, हिमाली चिया, कागुनो, स्याउका चाना, घीउ, मह, भेडाको उनबाट बनेका काटे कपडा लगायतका रैथाने अर्गानिक वस्तु बिक्री गर्ने गरिएको व्यवस्थापक पाण्डेले जानकारी दिए । ‘बचत उठाउँदा नगदमात्रै लिने गरेको छैन । सदस्यहरुको सहजताको लागि सिमी, चामल, फापरजस्ता अर्गानिक बस्तु पनि लिने गरेका छौं । सिमी चामलसँग पनि बचत साट्ने गरिएको छ,’ व्यवस्थापक पाण्डे भने ।

जुम्लामा उत्पादित रैथाने बालीमात्रै नभई राडीपाखी, लिउ, उनबाट बनाइएका स्वीटर, कोटको कपडा, खरायोका टोपी लगायत सम्पूर्ण सामग्रीहरु मिनी मार्केटबाट बिक्री भइरहेको छ । जुम्लाको उत्पादन सबैको रोजाइ समेत बन्दै गएको छ । मार्केटले काठमाडौंमा जुम्लाको अर्गानिक स्वादमात्र चखाएको छैन । रोजगारी सृजनासँगै सहकारीसँग जोडिएका सदस्यलाई उत्पादनमा लाग्न समेत प्रेरित गरेको छ ।

मिनि मार्केटले वर्षमा डेढ करोडसम्मको बिक्री गर्दै आएको छ भने किसान तथा सदस्यहरुले प्रत्यक्ष रुपमा लाभ लिएका छन् । सदस्यहरुले आफ्नो उत्पादन मिनि मार्केटमै ल्याएर दिने गरेका छन् । हरेक समूहमा पुगेर वित्तिय साक्षरता दिएसँगै उत्पादन वृद्धि, आम्दानी तथा बिक्रीका सवालमा किसानहरु सचेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्