गौरीशंकरको जंगलमा एक हप्तादेखि डढेलो

दोलखा– एक हप्तादेखि गौरीशंकर संरक्षण क्षेत्रको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । गौरीशंकर गाउँपालिका–७ को सिक्पास्वरभन्दा माथिल्लो क्षेत्रमा लागेको डढेलो शनिबारदेखि लागेको हो । डढेलो नियन्त्रणमा आउन नसकेपछि थप वन क्षेत्रमा फैलिँदै गएको छ ।
डढेलो नियन्त्रणमा आउन नसकेपछि सिंगटीबाट बिहीबार गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख तुलसीप्रसाद दाहाल सहितको टोली सिक्पाश्वरसम्म पुग्यो । पहाडी क्षेत्रमा तलबाट माथि डढेलो बढ्दै गएपछि निभाउन सक्ने अवस्था नभएपछि स्थानीयसँग छलफल गरेर फर्किएको छ । वन क्षेत्रको संरक्षण र वातावरण जोगाउन स्थानीय समुदाय नै सजग हुनुपर्छ ।
संरक्षण क्षेत्र पनि समुदायमा आधारित भएको आयोजना प्रमुख दाहालले बताए । डढेलो कसरी लाग्यो भन्ने अनुसन्धानमै रहेको उनले बताए । अपराधिक रुपमा कसैले डढेलो लगाएको पत्ता लगाए कडा कारबाही हुने उनको भनाइ छ । डढेलो हिमाली क्षेत्रको धेरै माथिसम्म पुगेकाले मान्छे गएर नियन्त्रण गर्न सक्ने अवस्था नभएको उनले बताए ।
माघ तेस्रो साता चिसो मौसम हुने भए पनि यस वर्षको कात्तिकपछि पानी नपरेकाले हिउँ पर्ने सिजनमै डढेलो लागेको छ । डढेलो लागेको ठाउँमा हिमश्रृंखला नजिकै भएकाले त्यसको असर हिमाली क्षेत्रको तापक्रममा परेको छ । गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने उक्त वनमा लागेको डढेलोको धुवाँले सोमबारसम्म गौरीशंकर हिमालसहित रोल्वालिङ हिमशृंखला छोपिएको छ ।
हिमपात भएर ढाकिने डाँडामा थप कालो बनेका छन् । मध्य मंसिरबाट हिमपात हुने हिमाली क्षेत्रमा माघको तेस्रो साता बित्दासमेत हिमपात भएको छैन । हिमपात हुने मौसममा माथिल्लो भेगका जंगलमा डढेलो विरलै लाग्ने गर्छ । डढेलोका कारण हरियाली र वर्षौंदेखि संरक्षण भएका जडिबुटी र प्राकृतिक स्रोत नष्ट भएको छ । पानीका स्रोतहरु सुक्ने र वन्यजन्तुको वास्थान र खर्कहरु पनि डढेका छन् ।
गौरीशंकर गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष सोनाम शेर्पाले डढेलो लाग्ने वित्तिकै स्थानीयले निभाउने प्रयास गरे पनि विकट क्षेत्र भएकाले सम्भव नभएको बताए । यस क्षेत्रमा डढेलो लाग्ने धेरै पुरानो समस्या भए पनि यस वर्ष माघमै लागेको उनले बताए । तीन वर्षदेखि निरन्तर यो क्षेत्रमा डढेलो लाग्न थालेको प्रमुख दाहालले बताए । यो वर्षमात्रै २ पटक डढेलो लागिसकेको उनले बताए ।
तर यो वर्ष समयमा हिमपात नहुँदा उच्च हिमाली क्षेत्रका वनहरूमा माघ पहिलो साताबाटै डढेलो लाग्न थालेको छ । संरक्षण क्षेत्रभित्र पर्ने सिन्धुपाल्चोकको चीनसँग सीमा रहेको भोटेकोसी–२ लिपिङको माथिल्लो क्षेत्रको वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको उनले बताए । संरक्षण क्षेत्रको दोलखातर्फ २ र सिन्धुपाल्चोक क्षेत्रको एउटा वनमा डढेलो लागेको छ । वन्यजन्तुसमेत डढेलोको चपेटामा पर्ने गरेका छन् ।
‘हिमपात हुनुपर्ने बेलामा उच्च हिमाली क्षेत्रका जंगलमा डढेलो लाग्न थालेको छ,’ उनले भने, ‘खास गरी माथिल्लो क्षेत्रका वन्यजन्तुको वासस्थानमा डढेलोले असर गरेको हुन सक्छ ।’ जंगलमा गोल पोल्न पसेका व्यक्तिहरूले गोल पोलेर आगो निभाउन बिर्सँदा वनमा क्षति हुने गरेको उनले बताए । हिमपात नभएपछि स्थानीयले वनमा जिलौटो पोल्दा हिमाली क्षेत्रमा तीव्र हावा चलेर वनमा डढेलो लाग्ने क्रम बढेको छ ।