Logo

मध्यपहाडी राजमार्गको प्रगति ७८.२३ प्रतिशत

काठमाडौं– पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाको भौतिक प्रगति ७८.२३ प्रतिशत पूरा गरेको छ । आर्थिक वर्ष २०६४–६५ मा सुुरु भएको आयोजनाको संशोधित म्याद २०८४–८५ सम्म रहेको छ ।

कुल लम्बाइ १ हजार ८ सय ७९ किलोमिटर रहेको यो आयोजनामा १ सय ३७ वटा पुल निर्माण गर्नु पर्नेछ । आयोजनाको म्याद दोश्रो पटक थप हुँदा १ हजार ४ सय ६३ किमि सडक कालोपत्रे भएको छ भने १०७ वटा पुल बनेका छन् । सुरुवाती चरणमा यो आयोजना आव २०७४–७५ भित्र सम्पन्न गर्ने लक्ष्य थियो ।
संशोधित कार्यतालिका अनुसार आर्थिक वर्ष २०७९–८० सम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो । त्यो समयमा पनि आयोजना पूरा नभएपछि २०८४–८५ सम्म म्याद थपिएको छ ।

आयोजनाको लागत ८४ अर्ब ३३ करोड (संशोधित) रुपैयाँ रहेको छ । प्रारम्भिक चरणमा ३३ अर्ब ३६ करोड रूपैयाँ लागत अनुमान गरिएको थियो। आयोजनाको हालसम्म वित्तीय प्रगति ८३.०५ प्रतिशत (७० अर्ब ४ करोड मोबिलाइजेसन पेश्कीसमेत गरेर) पूरा भएको छ । समयमा निर्माण सम्पन्न नहुँदा आयोजनाको संशोधित लागत बढेर दोब्बरभन्दा बढी पुगेको छ। आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति ७८.२३ पुगेको आयोजना निर्देशनालयका सूचना अधिकारी सचिन श्रेष्ठले बताए । उनले भने, ‘चालु आवमा ७५ किमी सडक कालेपत्रे गर्ने र १० पुल निर्माण गर्न लक्ष्य लिएकोमा पुससम्म ११ किमी सडक र दुईवटा पुल निर्माण सम्पन्न भएको छ ।’

आयोजना अन्तर्गत खण्ड–९ को ११६ किमि सडक र १६ वटा पुल (बाढीले क्षतिग्रस्त भएका समेत) को ठेक्का व्यवस्थापन हुन बाँकी रहेको सूचना अधिकारी श्रेष्ठको भनाइ छ । अहिले ठेक्काको प्रक्रिया अघि बढेको छ । पछिल्लो समय यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको छ।

महाभारत श्रृंखलाभन्दा माथि मध्य पहाडका २६ जिल्ला तथा २१५ बस्तीहरुलाई जोड्ने गरी रेखांकन भएको यस राजमार्गले करिब ५० लाख जनतालाई प्रत्यक्ष यातायात सुविधा पुर्‍याउने अपेक्षा गरिएको छ । यो राजमार्गले पहाडी जिल्लाका धेरै ग्रामीण बस्तीलाई सडक पहुँचमा जोड्नेछ । राजमार्ग पूर्वमा पाँचथरको चिवा भञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म फैलिएको छ ।

राजमार्गका कारण मध्य पहाडको आर्थिक–सामाजिक विकासमा प्रगति हुनुका साथै सो क्षेत्रबाट हुने बसाइँसराइ निरुत्साहित भई भौगोलिक तथा वातावरणीय सन्तुलन कायम हुने योजनासहित सरकारले आयोजना अगाडि बढाएको थियो । राजमार्गको रेखांकनभित्र पर्ने विभिन्न जिल्लाहरुमा १० वटा आधुनिक शहर विकास गर्ने लक्ष्यसमेत रहेको छ । यसबाट सो क्षेत्रमा आर्थिक गतिविधिमा वृद्धि भई रोजगारीका थप अवसर सिर्जना हुने र सर्वसाधारण जनताको जीवनस्तरमा उल्लेख्य सुधार आउने अपेक्षा सरकारको छ ।

राजमार्ग आसपास रहेका विभिन्न पर्यटकीय स्थलसमेत यातायात पूर्वाधारको अभावमा यथेष्ट प्रचारप्रसार एवं विकास हुन नसकेको परिप्रेक्ष्यमा राजमार्ग निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि भई अर्थतन्त्र थप चलायमान हुने विश्वास गरिएको छ । राजमार्ग निर्माण सम्पन्न भएपछि विद्यमान आर्थिक सामाजिक सूचकहरुको उल्लेख्य रुपमा परिवर्तन हुने संकेत देखिएको हुँदा सरकारले आव २०६९–७० देखि यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी उच्च प्राथमिकतामा राखेको थियो । आयोजना सम्पन्न भई सम्पूर्ण सडक खण्ड कालोपत्रे स्तरमा पुगेपछि र प्रस्तावित सबै पुल निर्माण सम्पन्न भइसकेपछि मध्य पहाडी क्षेत्र हुँदै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै निर्वाध रुपमा यातायात सञ्चालनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्