ऐतिहासिक पर्यटनको धरोहर: सिन्धुलीगढी

सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । यो ठाउँ काठमाडौँबाट करिब १ सय ५० किलोमिटर पूर्व–दक्षिणमा रहेको छ । ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ । बनेपा–बर्दिबास बिपी राजमार्ग निर्माण तथा त्यसमा यातायात सञ्चालन हुन थालेपछि केही वर्षअघिसम्म दुर्गम रहेको सिन्धुलीगढी हाल सुगम भएको छ । इतिहासलाई केलाउँदा सिन्धुलीगढी नेपाल–अंग्रेज युद्धको जीवित दस्ताबेज हो । त्यस क्षेत्रमा निर्माण गरिएका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्मलाग्दा देखिन्छन् ।
यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ । वि.सं. १९७५ मा सिन्धुलीगढीका कर्णेल कीर्तिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका ५६ झ्याल टिनको छाना र सिमेन्ट अनि इँटाको प्रयोग गरी दुईतले दरबार बनाइएको थियो । सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको छ । यो दरबार हेरेपछि लोकगायक कृष्णविक्रम थापाले गाएको ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति न राम्रो दरबार’ गीतको सम्झना आउँछ । यसै सन्दर्भमा नेपाली वीरताको ऐतिहासिक गाथा बोकेको सिन्धुलीगढीमा ‘सिन्धुलीगढी युद्ध संग्रहालय’ निर्माण भई सञ्चालनमा आएको छ ।
करिब अढाई सय वर्षअगाडि नेपाल आक्रमण गर्न आएको विदेशी सेनालाई नेपाली सेना र जनताको वीरतापूर्ण प्रतिरोधद्वारा यसै स्थानमा परास्त गरिएको थियो । त्यसकारण सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचायक ऐतिहासिक स्थलका रूपमा रहेको छ । नेपाललाई स्वतन्त्र र स्वाधीन राष्ट्रको पहिचान दिलाउन इतिहासमा अंकित त्यस घटनाक्रमको विशिष्ट योगदान रहेको छ । आज यस ऐतिहासिक स्थललाई विश्वसामु चिनाउन भइरहेको प्रयासबाट सम्पूर्ण नेपालीलाई गौरवको अनुभूति हुनु स्वाभाविक नै हो ।
यो कमलामाई नगरपालिका, सिन्धुलीगढीमा युद्ध संग्रहालय तथा सिन्धुलीगढी दरबारको निर्माणले ऐतिहासिक सम्पदाहरूको संरक्षण हुनुका साथै सिन्धुली जिल्लालाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नसमेत मद्दत पुगेको छ । यसैगरी यस संग्रहालय स्थापनाका निम्ति सम्पूर्ण नेपालीको चासो तथा उत्कट अभिलाषालाई साकार तुल्याउन सम्बन्धित निकायले लिएको पहलकदमीको प्रशंसा गर्नैपर्छ । नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमुनाका रूपमा यस संग्रहालयको निर्माण कार्यले देशका अन्य स्थानहरूमा समेत यस प्रकारका ऐतिहासिक धरोहरको संरक्षण र निर्माणका लागि सरोकारवाला सबैलाई प्रेरणा प्रदान गरेको छ ।
नेपालीको वीरतासँग जोडिएको ऐतिहासिक क्षेत्र सिन्धुलीगढीको मौलिकतालाई यथावत् राखी संरचना बन्नुले यस स्थललाई आगामी दिनमा विश्वसम्पदा सूचीमा राख्न मद्दत पुग्ने देखिन्छ । सिन्धुलीगढी दरबारको पुनर्निर्माण भएको छ । यसबाट नेपालीहरूको ऐतिहासिक महत्त्वको क्षेत्रको विकासमात्र नभएर स्थानीय सरकारको आर्थिक स्रोतसमेत बढ्ने देखिन्छ ।
हाम्रा वीर पुर्खाहरूले आफ्नो देशको रक्षाका लागि के–कस्तो बहादुरीपूर्ण भूमिका निर्वाह गरेका थिए भन्ने तथ्य तथा शिक्षा भावी पुस्तालाई हस्तान्तरण गर्दै त्यस ऐतिहासिक परिवेशबाट समग्र राष्ट्रलाई अभिप्रेरित गर्न सिन्धुलीगढी युद्ध संग्रहालयले महत्त्वपूर्ण योगदान पुर्याउनेछ भन्नुमा अयुक्ति नहोला । यो संग्रहालय स्वदेशी तथा विदेशी पर्यटक, अनुसन्धानकर्ता, विद्यार्थीलगायत सबैका लागि समेत उपयुक्त भ्रमण स्थल बन्न सक्ने देखिन्छ । सिन्धुलीगढीमा रहेको टुँडिखेलमा हरितालिका तीजमा भव्य नाचगान तथा सिद्धथान मन्दिरमा पूजा गर्ने प्रचलन छ ।
सिन्धुलीगढीमा चैत–वैशाखमा गुराँस फुलेर वन नै सुन्दर हुनाका साथै ऐँसेलु–काफलले स्वागत गर्छ । हाम्रो देश प्राकृतिक सौन्दर्य, जैविक विविधता, मौलिक सांस्कृतिक सम्पदा आदिका कारण एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा रहिआएको सन्दर्भमा विकसित राष्ट्रहरूको उदाहरणलाई समेत हेर्दा यस्ता ऐतिहासिक स्थलहरूबाट पर्यटन प्रवर्द्धनमार्फत आर्थिक लाभ प्राप्त गर्न सकिने सम्भावना रहेको छ । यसबाट हाम्रो गौरवमय इतिहासलाई बाह्य पर्यटनका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्नसमेत ठूलो मद्दत पुग्न जाने देखिन्छ ।
ऐतिहासिक पदमार्ग, गढी, सांस्कृतिक सम्पदालगायतका ऐतिहासिक स्थलहरूको संरक्षण तथा संवद्र्धनमा सदाझैँ नेपाली सेना र स्थानीय समुदायबीचको सुदृढ समन्वय र सहकार्यको यो ज्वलन्त उदाहरण हो । नेपालको एकीकरण अभियानका ऐतिहासिक सन्दर्भ र घटनाहरूलाई विभिन्न तहका पाठ्यक्रममा अझ बढी समावेश गरी शिक्षाको माध्यमबाट भावी पुस्तासम्म राष्ट्र, राष्ट्रियता र देशप्रेमको भावना प्रवर्द्धन गर्नु आजको आवश्यकता हो । यस्ता गौरवपूर्ण ऐतिहासिक परिवेशहरू सबैको जानकारीमा ल्याउन देशका विभिन्न स्थानमा यस्तै संग्रहालय पुस्तकालय निर्माण गर्न र चलचित्र र वृत्तचित्र बनाउन राज्यको ध्यान पुग्नु अति आवश्यक छ ।
हाम्रा असल तथा बहादुर पुर्खाको साहस र बलिदानले जोगाएको हाम्रो मुलुकलाई विकास र समृद्धिको मार्गमा तीव्र रूपमा अगाडि बढाउनु सबैको दायित्व हो । नेपाल–जापानमैत्रीको प्रतीकका रूपमा रहेको बीपी सडक खण्डलाई समेटेको सिन्धुली भएर दैनिक हजारौँ यात्रु आवतजावत गर्ने भएकाले भरपर्दो र गुणस्तरीय यातायातको प्रबन्ध गर्नुपर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने खाँचो छ । स्मरण रहोस्, पर्यटन वर्ष सन् २०२० का लागि सरकारले घोषणा गरिएको उत्कृष्ट १ सय पर्यटकीय गन्तव्य स्थलमध्ये सिन्धुलीगढी पनि एक हो ।
सिन्धुलीगढी सिन्धुली जिल्लाको प्राकृतिक, राजनीतिक, ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको स्थान हो । यो स्थान जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट बीपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्डको करिब २० किलोमिटर दूरीमा रहेको छ । सिन्धुलीगढीले इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रूपमा परिचित डोयहरूको काठमाडौँ आक्रमण अर्थात् वि.सं. १३६७ देखि मात्र होइन, राणाकाल तथा शाहकालीन समयसम्म राजनीतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्त्व बोकेको छ ।
वि.सं. १३६७ मा सिम्रौनगढका सेना (डोय) हरूले काठमाडौँँमा व्यापक लुटपाट गरेर बनेपा हुँदै विदेह (जनकपुर/सीतामाढी) फर्किएका थिए । कमलामाई मन्दिरमा वि.सं. १०३४ मा चढाइएको मुकुटबाट सिन्धुलीअन्तर्गतको कमला नदीमा अवस्थित कमलामाई मन्दिरमा आउने धर्मावलम्बीहरू आजभन्दा करिब १ हजार ३० वर्षअगाडि पनि रहेको बुझिएकाले सिन्धुलीमाढी हुँदै तराई क्षेत्र होस् वा दोलखा, काठमाडौँ होस्, जाने मुख्य बाटोका रूपमा सिन्धुलीगढी रहेको सहजै अनुमान गर्न सकिन्छ । मूलकोट, खुर्कोटजस्ता स्थानहरूले पनि प्राचीन कालदेखि नै यो बाटो अस्तित्वमा रहेको प्रमाणित हुन्छ ।
डोयहरूले काठमाडौँँ लुटपाट गरेको करिब ४० वर्षपछाडि फेरि पनि वि.सं. १४०६ मंसिरमा राजा जयस्थिति मल्लको पालामा बङ्गालको सुल्तान समशुद्धिन इलियासले काठमाडौँ लगभग ध्वस्त बनाएर बङ्गाल फर्किंदा पुन: सिन्धुलीगढीको बाटो फर्किएपछि सिन्धुलीगढीलाई प्रमुख रणनीतिक नाकाको रूपमा लिएर सशक्त बनाइएको हुन सक्छ । सिन्धुली गढी तत्कालीन मकवानपुरे शासकले बनाएको भन्दा पटक–पटक काठमाडौँँमाथि आक्रमण हु्ँदा यही नाकाबाट शत्रु आउने भएकाले काठमाडौँँ तत्कालीन शासक जयस्थिति मल्लले विसं १४११ र १४५२ को बीचमा यसको निर्माण गरेको इतिहासकारहरूको अनुमान छ ।
समयको अन्तरालसँगै जयस्थिति मल्लका नाति यक्ष मल्लले मिथिला, मोरङ र मगध राज्यमाथि आधिपत्य लिएपछि नियन्त्रणमा लिएका राज्यका पूर्वशासकहरूले पुन: कान्तिपुरमाथि आक्रमण गर्न नसकून भनेर वि.सं. १५०० तिर यस गढीमा सैन्यसंख्या बढाई सशक्त बनाएका थिए । पछि मिथिला, मगधलगायत बङ्गालका व्यापारीहरू दोलखा, काठमाडौँ, बनेपासम्म व्यापार गर्नका लागि आवतजावत गर्ने प्रमुख नाकाका रूपमा सिन्धुलीगढी रह्यो ।
वि.सं. १६५७ मा कान्तिपुरका तत्कालीन राजा शिवसिंह मल्लले मकवानपुर, सिन्धुली र मोरङमा आधिपत्य लिएपछि बङ्गालका शक्तिशाली शासकहरूले कान्तिपुरमाथि सैन्य कारबाही गर्ने प्रबल सम्भावना देखेर सिन्धुलीगढीमा यी राजाले यक्ष मल्लले भन्दा बढी निगरानीका साथ लडाकुहरूको व्यवस्था गरेको पाइन्छ । नेपालीको वीरतासँग जोडिएको ऐतिहासिक क्षेत्र सिन्धुलीगढीको मौलिकतालाई यथावत् राखी संरचना बन्नुले यस स्थललाई आगामी दिनमा विश्वसम्पदा सूचीमा राख्न मद्दत पुग्ने देखिन्छ ।
सिन्धुलीगढी दरबार (रानीदरबार) को पुनर्निर्माण भएको छ । यसबाट नेपालीहरूको ऐतिहासिक महत्त्वको क्षेत्रको विकासमात्र नभएर स्थानीय सरकारको आर्थिक स्रोतसमेत बढ्ने देखिन्छ । सिन्धुलीगढीको पुनर्निर्माण र जीर्णाेद्धारसँगै देशभर रहेका अन्य ऐतिहासिक, धार्मिक तथा पुरातात्त्िवक सम्पदाको कार्य अघि बढाउन स्थानीय, प्रदेश र केन्द्रीय सरकारलाई पनि यसले थप प्रेरणा दिन सक्छ । यसका लागि मुख्य वाहकको रूपमा आजका युवालाई लिन सकिन्छ ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य सर्किटका रूपमा पर्यटकलाई आकर्षण गरिने तत्त्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्नु आजको आवश्यकता हो । पर्यटनको माध्यमबाट काम वा रोजगारीको अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस सिन्धुलीगढी क्षेत्रभित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ ।
यस क्षेत्रमा जिपलाइन तथा ट्रेकिङ स्थलको विकास गर्नु आवश्यक छ, जसले स्थानीय स्तरमा रोजगारी सृजना भई वैदेशिक मुद्रा आर्जनबाट जीविकोपार्जनमा ठूलो टेवा पुग्ने छ । रैथाने उत्पादनमा आधारित होमस्टेको विकास र समुदायमा आधारित यस क्षेत्रको प्राकृतिक, ऐतिहासिक, धार्मिक धरोहरको प्रयोग गरी सामुदायिक विकासका कार्य सञ्चालन गर्न सकिन्छ, जसले यस क्षेत्रको विकासमा जनसहभागिता जुटाउने कार्य गरी नमुना पर्यटकीय हबका रूपमा सिन्धुलीगढी क्षेत्रलाई विकास गर्न सकिन्छ ।
यो क्षेत्रलगायत देशभरका अन्य विभिन्न क्षेत्रमा पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रियालाई प्रभावकारी बनाउँदै पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग हो । यसका लागि वीरताको इतिहास बोकेको गौरवशाली सिन्धुलीगढी संरक्षण र प्रवर्द्धनका लागि स्थानीय पालिकाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो ।