ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेग्मी नियुक्त

काठमाडौं- ज्योति विकास बैंक लिमिटेडको यही माघ २३ गते बसेको सञ्चालक समितिको ५०९ औं बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा रेशम राज रेग्मीलाई नियुक्त गरेको छ । उनी यही माघ २३ गतेदेखि लागू हुनेगरी यस बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् । रेग्मीको नेपाल राष्ट्र बैंकमा करिब २५ वर्ष विभिन्न कार्यक्षेत्रमा कार्य अनुभव छ ।
कानून विषयमा स्नातकोत्तर गरेका उनले नेपाल सरकार अन्तर्गत विभिन्न क्षेत्रमा पनि कानूनी सल्लाहकारका रूपमा योगदान दिँदै आएका छन् । उनी अध्यापकको रूपमा पनि विभिन्न शैक्षिक संस्थाहरूमा आवद्ध छन् । नेपाल मध्यस्ता परिषदको आजीवन सदस्य रहेका रेग्मीले संस्थागत सुशासन, एएमएल तथा समग्र बैंकिङ क्षेत्रको विषयमा विशेषज्ञता हासिल गरेका छन् ।
रेग्मीले बैंकिङ कानून तथा संस्थागत सुशासन सम्बन्धि पुस्तक प्रकाशित गर्नुका साथै विभिन्न रिसर्च पेपरहरु एवम् जर्नलहरुमा आलेख प्रकाशित गरेका छन् । उनको लामो कार्य अनुभव तथा विषयगत कुशलता र दक्षताले यस बैंकलाई थप सबल तथा सफलता उन्मुख मार्गदर्शन प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।