Logo

अर्को बैठक आउँदो आइतबार बस्ने

राष्ट्रिय सभामा दुई विधेयक पेश

काठमाडौं- राष्ट्रियसभाको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ र ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ पेश गरिएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पेश गरेकी हुन् । त्यस्तै, पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पेश गरे ।

विधेयक पेश गर्दै शिक्षामन्त्री भट्टराईले वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्यायिक परिक्षण्मा सहयोग पुर्‍याउन तथा विधि विज्ञानको सम्बन्धमा अनुसन्धान र परीक्षणलाई विशिष्टिकृत बनाउनका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र संचालन गर्न आवश्यक रहेको उल्लेख गरिन् । उनले प्रयोगशालाको स्थापना तथा काम कर्तव्य र अधिकारका लागि कार्यकारी निर्देशक तथा कर्मचारीसम्बन्धी व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा परीक्षण तथा डिएनए डाटा बैंकको स्थापनासहितका व्यवस्था प्रस्तुत विधेयकमा प्रस्तावना गरिएको समेत बताइन् ।

पानी जहाज सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कयौं नेपाली नागरिक पानी जहाज कम्पनीहरुमा काम गर्दै आएको उल्लेख गर्दै ती कामदारहरुको तल र स्वास्थ्य परीक्षण समेट्न विधेयक ल्याइएको बताए । नेपालभित्रकै विभिन्न नदि तथा तालहरुमा विभिन्न क्षमताका जलयानहरु संचालनमा आइरहेको उल्लेख गर्दै ति जलयानहरुको व्यवस्थापन र नियमन गर्ने प्रस्ताव विधेयकमा राखिएको बताए ।

राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते आइतबार अपरान्ह १ बजेर १५ मिनेटमा बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्