Logo

एलपी ग्यास उद्योग संघद्वारा १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं- नेपाल एल.पी. ग्यास उद्योग संघले १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिहीबार ललितपुरमा गरेको पत्रकार सम्मेलनमार्फत् १९ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको जानकारी दिँदै संघका अध्यक्ष शिव घिमिरेले नेपालमा ५९ उद्योगहरु सञ्चालन रहेको बताए ।

अध्यक्ष घिमिरेले नेपालमा विस्फोटक ऐन कानून र नियमन निकाय नहुँदा भारतको ऐन नियमअनुसार भारतबाटै इजाजत लिइ उद्योग सञ्चालन गर्नुपरेको बताए । उनले नेपाली ढुवानी साधन नहुँदा वार्षिक खर्बौं रुपैयाँ विदेशीएको बताए । अध्यक्ष घिमिरेले एकतर्फी ढंगबाट लगानीको सरक्षणको सट्टा निरुत्साहित गर्ने सरकारको रणनीति रही रहेमा उद्योग संचालनलाई निरन्तरता दिन नसक्ने बताए ।

संघले माघ ३० गते बुधबारदेखि देशभरका ५९ वटै एल.पी. ग्याँस उद्योगहरुले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर (पीडीओ) खरिद नगर्ने नगराउने अध्यक्ष घिमिरेको भनाइ छ । उनले फाल्गुण १ गतेदेखि २०८१ फाल्गुण ५ गतेसम्म सबै ग्याँस उद्योगहरुले विरोधका कार्यक्रमहरुबारे स्थानीय सबै संघ संस्था सञ्चार माध्यमहरुमार्फत् र केन्द्रमा नेपाल एलपी ग्याँस उद्योग संघले प्रचारप्रसार गर्ने बताए ।

अध्यक्ष घिमिरेले फाल्गुण ६ गतेदेखि भारतको इण्डियन आयलका नेपालका लागि लोड हुने एल.पी. ग्याँसको ग्याँस बुलेट कुनै पनि लोड नगर्ने नगराउने उल्लेख गरे । उनले फाल्गुण १२ गतेदेखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्याँस बुलेटहरु कुनैपनि भन्सार नाकाबाट नछुटाउने उल्लेख गरे ।

उनले फागुन १८ गतेदेखि सबै नेपालका ५९ उद्योगहरु जायज मागहरु सम्बोधन नभएमा अनिश्चितकालिन बन्द गर्ने घोषणा गरे । उनले फाल्गुण २२ गतेदेखि देश भरका ग्यास बिक्रेता डिपोहरुले सम्पूर्ण बन्द गरिदिन अनुरोध गर्ने बताए । नेपाल सरकारले ग्याँस प्रयोगको सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने उनले माग गरे ।

अध्यक्ष घिमिरेले एल.पी. ग्यास दुर्घटना रोक्न, कमसल पाइप तथा रेगुलेटर प्रयोगमा कडाइ गर्न, र सुरक्षासम्बन्धी नियम पालना गराउन कानूनी व्यवस्था लागू गरिनुपर्ने माग राखे । विगत ६ वर्षदेखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धि नभएकोले तत्कालै वृद्धि हुनुपर्ने र हरेक वर्ष मुद्रास्फिती दरअनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्