Logo

बुटवललगायत अन्य पालिकाको फोहोर प्रशोधन गरिने

सैनामैनामा फोहोर व्यवस्थापन केन्द्रको काम अघि बढ्ने

बुटवल– रुपन्देहीको सैनामैनामा फोहोर व्यवस्थापन केन्द्र निर्माणको बाटो खुलेको छ । फोहोर व्यवस्थापन केन्द्रको लागि सैनामैना नगरपालिकाले जग्गाको भोगादिगार प्राप्त गरेको हो । संघीय सरकारको हालै बसेको मन्त्रिपरिषद बैठकले फोहोर व्यवस्थापन केन्द्रका जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो । निर्णयमा सैनामैना नगरपालिका–१० मा रहेको राष्ट्रिय वनको ३.५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने उल्लेख छ ।

सैनामैनाको सालझण्डी बजारबाट केही पश्चिम गएर पूर्वपश्चिम राजमार्ग छोडेर ६ किलोमिटर उत्तर एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र निर्माणको योजना बनेको हो । फोहोर व्यवस्थपनको केही वर्षअघि नै प्रक्रिया अघि बढे पनि जग्गा प्राप्ति नहुँदा काम सुरु हुन सकेको थिएन । सैनामैना १० का वडाध्यक्ष कृष्णप्रसाद घिमिरेले अहिलेसम्म सो जग्गालाई संरक्षण गरेर राखिएको र सरकारको निर्णय आएकाले अब निर्माणको काम सुरु हुने जानकारी दिए ।

‘यसको योजना धेरै पहिला अघि बढाएको हो । भोगाधिकार नभएकाले निर्माण सुरु हुन सकेको थिएन । संरक्षण गरेर यती क्षेत्र भनेर छुट्याएर राख्ने काम मात्र भएको थियो’ उनले भने, ‘फाइल मन्त्रालय पुग्दै फर्किदै गरेको अवस्था थियो । मन्त्रीपरिषदको बैठकबाट बल्ल भोगाधिकार प्राप्त भयो । अब चाँही फोहोर व्यवस्थापन केन्द्र निर्माणको काम अघि बढ्छ ।’

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले अब फोहोर व्यवस्थपन केन्द्र कसरी निर्माण गर्ने भन्ने बारेमा छलफल अघि बढाउने जानकारी दिए । ‘जग्गा प्राप्ति भयो अब हामी संघीय सरकार, प्रदेश सरकार, विज्ञहरुसँग सल्लाह गर्छौं’ उनले भने, ‘त्यसपछि कुन मोडालिटीमा कसले फोहोर प्रशोधन केन्द्र बनाउने भन्ने निर्णय हुन्छ ।’

नगर प्रमुख शर्माले एशियाली विकास बैंकले फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि चासो दिएको जानकारी दिए । ‘एडिबीले हामीलाई डीपीआरमा पनि सघाएको थियो । निर्माणका लागि पनि उसले अध्ययन गरिरहेको छ । हामी पनि एडिबीसँग निरन्तर छलफलमा छौं’ उनले भने । सैनामैनामा डम्पिङ साइट नभइ फोहोर प्रशोधन केन्द्र निर्माण हुने शर्माको भनाइ छ ।

फोहोर व्यवस्थापन केन्द्रमा आएका धेरै फोहोर पुन प्रयोगको प्रक्रियामा जाने उनले जनाकारी दिए । यो ठाउँमा सैनामैनासँगै छिमेकी अरु पालिकाका फोहोर पनि व्यवस्थापन हुने छ । एकीकृत फोहोर व्यवस्थापनका लागि सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका र कञ्चन गाउँपालिकाबीच विगतमा सम्झौता भएको थियो । त्यसमा गैडहवा गाउँपालिका र शुद्धोधन गाउँपालिका पनि समेटिन सक्ने नगरप्रमुख शर्माले उल्लेख गरे ।

केन्द्रमा कुनै पनि फोहोर खेर नजाने गरि संरचना बन्ने सैनामैना नगरपालिकाका वरिष्ठ इन्जिनियर तथा पूर्वाधार विकास शाखा प्रमुख सुरज न्यौपानेले जानकारी दिए । ‘त्यहाँ बायो ग्यास प्लान्ट, कम्पोष्ट मलको प्लान्ट बन्ने छ । प्लास्टिक, धातु जस्ता फोहोरलाई पुन प्रयोग गर्न सकिने गरि प्लान्ट जडान हुन्छ’ उनले भने, ‘यहाँबाट कुहिने र नकुहिने दुबव खालका फोहोर पुन: प्रयोगमा जान्छ । फोहोरलाई मोहर बनाउने गरी हाम्रो जिरो वेष्टको अवधारणा हो । बढिमा पाँच सात प्रतिशत फोहोर मात्र खेर जान सक्छ ।’

फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि ६० करोड लागत अनुमान गरिएको छ । संरचना निर्माणका लागि ८८ वटा रुख काट्नुपर्ने नगरपालिकाको अनुमान छ । पहिलो वर्ष रुख कटानको प्रक्रिया सुरु हुने र अर्को वर्ष निर्माणको काम अघि बढ्ने वरिष्ठ इन्जिनियर न्यौपानेले बताए । निर्माण सुरु भएको ३ वर्षमा फोहोर व्यवस्थापन केन्द्र तयार हुनेछ ।

हाल सैनामैना नगरपालिकाले वडा–९ को वनकट्टीमा अस्थायी रुपमा फोहोर डम्पिङ गर्दै आएको छ । व्यवस्थापन केन्द्र बनेपछि अब सैनामैनाको मात्र नभई बुटवललगायत छिमेकी पालिकाहरुलाई पनि फोहोर व्यवस्थापनमा सहज हुने छ । यसअघि बुटवल उपमहानगरपालिकाको फोहोर व्यवस्थापनका लागि देवदह नगरपालिकाको सिमानामा पर्ने शिवनगर सामुदायिक वन क्षेत्रमा ल्याण्डफिल्ड साइट बनाउने निर्णय गरेको थियो ।

तर देवदहको चरंगे क्षेत्रका स्थानीयले विरोध गरेपछि निर्माणको काम अघि बढ्न सकेको थिएन । काम नभएपछि एडिबीको अनुदान पनि फिर्ता गएको थियो । अहिले बुटवलले तिनाउ किनार हात्तीसुढ पारी फोहोर व्यवस्थापन गर्दै आएको छ । सैनामैनाको जंगलमा फोहोर व्यवस्थापन केन्द्र बनेपछि बुटवलले पनि व्यवस्थापनको ठाउँ पाउने छ ।

प्रतिक्रिया दिनुहोस्