शशीला मोटर्सको इभी ‘शो रुम’ वीरगन्जमा

वीरगन्ज– विद्युतीय सवारी साधन बिक्रेता कम्पनी शशीला मोटर्सले विभिन्न चिनियाँ कम्पनीका सवारी साधनहरुको वीरगन्जबाट पनि बिक्री वितरण सुरु गरेको छ । वीरगन्जमा स्थापना गरिएको ‘शो रुम’ को बुधबार औपचारिक उदघाटन गर्दै चिनियाँ कम्पनीले उत्पादन गरेको किटोन, हाइगर, भेन्चे र चेरी वाण्डालगायतका विद्युतीय सवारी साधनको बिक्री वितरण सुरु गरेको हो ।
वीरगन्जमा स्थापना गरिएको ‘शो रुम’ को पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ का सांसद रहबर अन्सारीले उदघाटन गरे । ‘शो रुम’ को उदघाटन गर्दै उनले नेपालको समृद्धिको लागि विद्युत निर्यात भन्दा देशभित्रै खपत बढाउनुपर्ने बताए । पछिल्लो समयमा विद्युतीय सवारी साधनहरु आयातले इन्धन आयातमा कमी आएको र यसले नेपालको व्यापारघाटा कम गर्न सहयोग पुर्याएको भन्दै वातावरण प्रदूषण नियन्त्रण र इन्धनको आयात कम गर्न तथा देशमै उत्पादन गरिएको विद्युत खपत गर्न विद्युतीय गाडी उपयुक्त रहेको बताए ।
उनले वातावरणलाई शान्त र प्रदूषणरहित बनाउन विद्युतीय सवारी साधनले भूमिका खेलेको बताए । विद्युत निर्यात गर्नुभन्दा खपत गरेर क्षणिक समृद्धि ल्याउनु भन्दा विद्युत आफैले खपत गरेर आउने समृद्धि दिगो हुने बताए । नेपालले उत्पादन गर्ने उर्जाले हरेक क्षेत्रमा छुने भएकोले यसको दिगोपनको भविष्य रहेको बताए । मधेस आन्दोलन र नाकाबन्दीमा इन्धन आयातमा गरेको अवरोधले उर्जा सुरक्षामा चुनौती दिएको सम्झिदै सांसद अन्सारीले नेपालकै उत्पादन उर्जाले इनर्जी सेक्युरिटी दिन सक्ने बताए ।
अहिले ठूलो मात्रामा आयात भइरहेको विद्युतीय सवारी साधनले इन्धन आयातको प्रतिस्थापनसँगै रोजगारीको अवसर पनि सिर्जना गर्ने, कम लगानीमा स्वरोजगार बनाउने, ध्वनी प्रदूषण कम, वातावरण प्रदूषण कम, विद्युत स्वदेशकै खपत हुने तथा मर्मत खर्च पनि कम र सस्तोमा पनि हुने गरेकोले किफायती रहेको बताए ।
नवीकरणीय उर्जाबाट उत्पादित इभीबाट नेपाली नेताहरुले प्रेरणा लिनुपर्ने उनले बताए । उनले भने, ‘यो देशमा कम प्रदूषण गर्ने नेता अर्थात जनताले इलेक्ट्रिक नेता खोजी रहेका छन् । जसले हल्ला कम गर्ने, जनताको सेवा गर्ने, देशको लागत घटाउने काम गर्ने र कागजमा लेख्ने गरेका समृद्धि र भाषणमा भन्ने गरेका समृद्धि भन्दा राम्रो हुन्छ ।’