Logo

रानाथारु संग्रहालयका लागि बनाइएको भवन अलपत्र

धनगढी– नेपाल सरकारले कैलाली र कञ्चनपुर जिल्लामा रानाथारु संग्रहालयका लागि कराडौं रकम खर्चेर बनाएको भवन अलपत्र परेका छन् । स्थानीय तहहरुले कार्यविधि बनाएर ती भवनहरु संग्रहालय सञ्चालन गर्ने रानाथारु समुदायलाई हस्तान्तरण गर्न नसकेपछि अलपत्र परेका हुन् । स्थानीय तहहरुले ती भवनमा आफैं सो संग्रहालय सञ्चालन गर्ने वा सम्बन्धित समुदायलाई हस्तान्तरण गर्ने निर्णयसमेत गर्न सकेका छैनन् ।

जसले गर्दा रानाथारु समुदायका विभिन्न संगठन तथा संस्थाहरुबीच सो भवन स्वामित्वमा लिएर संग्रहालय सञ्चालन गर्ने भन्ने विषयमा विवाद हुन थालेको छ भने निर्माण भइसकेका भवनहरु स्याहारको अभावमा क्षति हुन थालेको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरमा रानाथारु संग्रहालयको निम्ति झण्डै सात करोड रुपैयाँको लगानीमा भवन, कम्पाउण्ड लगायत संरचना निर्माण गरी विद्युत पनि जडान गरिएको छ ।

राजपुरको रानाथारु संग्रहालय बनाउन पहल गर्ने रानाथारु कला तथा सांस्कृतिक संरक्षण मञ्चका अध्यक्ष नारायण रानाले उपमहानगरपालिकाले सञ्चालनको कार्य नगर्दा भवन निर्माणपछि अलपत्र परेको बताए । उनले उपमहानगरपालिकाले छिट्टै संग्रहालय सञ्चालन सम्बन्धी कार्यविधि बनाएर सञ्चालनको जिम्मेवारी मञ्चलाई दिनुपर्ने बताए । तर, सो संग्रहालय सञ्चालनको जिम्मेवारी रानाथारु समाजले आफूले पाउनुपर्ने दावी गर्दै आएको छ ।

समाजका अध्यक्ष कमलसिंह रानाले समाज सबै रानाथारु समुदायको छाता संगठन भएको हुनाले समाजले संग्रहालय सञ्चालन गर्दा सबै रानाथारु समु्दायको अपनत्व हुने बताए । उनले संस्थालाई संग्रहालय सञ्चालनको जिम्मेवारी दिँदा सबै रानाथारु समुदायको अपनत्व नहुन सक्ने बताए । संग्रहालय सञ्चालन भएपछि रानाथारु संस्कृति, सांस्कृतिक वस्तुको प्रचार हुनुका साथै संग्रहालय क्षेत्रको बासिन्दाको आयआर्जनको बाटो खुल्ने राजपुरका सब्बु रानाले बताए ।

उनले संग्रहालय सञ्चालन भएपछि संग्रहालय हेर्न आउनेको चहलपहलले गर्दा व्यापार व्यवसाय समेत बढ्ने बताए । गत आर्थिक वर्षको चैतमा निर्माण सम्पन्न गरी निर्माण व्यवसायीले ती संरचना उपमहानगरलाई हस्तान्तरण गरिसकेको छ । तर उपमहानगरपालिकाले संग्रहालय सञ्चालनको प्रकृया अगाडि बढाउन सकेको छैन ।

उपमहानगरपालिकाका सहरी विकास तथा पुर्वाधार शाखा प्रमुख डिभिजनल इन्जिनियर दिजराज भट्टले संग्रहालय सञ्चालनमा लागि चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाउँदै सञ्चालन कार्यविधि बनाएर यसै वर्ष प्रक्रिया अगाडि बढाइने बताए । उनले भवन निर्माणमा समेत नेपाल सरकारसंग उपमहानगरको लागत साझेदारी रहेको बताए । कञ्चनपुरको पुनर्वास नगरपालिकामा समेत रानाथारु संग्रहालय सञ्चालन गर्नका लागि तीन वर्ष पहिले नै भवन निर्माण भइसकेको छ ।

नेपाल सरकार र पुनर्वास नगरपालिकाको लागत साझेदारीमा साढे छ करोड रुपैयाँ खर्चेर बनाएको सो भवन जीर्ण हुन थालेको स्थानीयले बताए । भवन प्रयोगमा नआएपछि भवन परिसरमा झार उम्रेर कुरुप भएको पुनर्वास रानाथारु संग्रहालय संरक्षण समितिका अध्यक्ष बिश्राम रानाले बताए । उनले भवन निर्माण गरेपनि संग्रहालय सञ्चालनमा सरकारले चासो नदिएको गुनासो गरे । उनले जडान गरिएका सोलार बत्ती पनि काम नलाग्ने अवस्थामा पुगेको बताए ।

पुनर्वासको संग्रहालय सञ्चालनका लागि एक करोड बजेट आवश्यक रहेको बताउँदै पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलियाकुमारी रानाले सो बजेटको व्यवस्था हुन नसकेको बताइन् । उनले सो बजेट पालिकाबाट व्यवस्थापन सम्भव नभएको बताउँदै प्रदेश सरकारलाई आग्रह गरिएपछि पाँच लाख मात्रै विनियोजन भएको बताइन् ।

पुनर्वास नगरपालिकाले पनि संग्रहालय सञ्चालनको कार्यविधि बनाउन सकेको छैन । उपप्रमुख रानाले नगरपालिले संग्रहालय परिसरको वालमा पेन्टिङ गरिएको बताइन् । उनले संग्रहालय संरक्षण समितिले पनि सञ्चालनमा चाँसो नदिएकाले कार्यविधि नबनाइएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्