आठ करोड ९५ लाख ८२ हजार रुपैयाँ लागत अनुमान भएको पुल निर्माण गर्ने ठेक्का वाईपीले पाँच करोड २८ लाख रुपैयाँमा लिएको थियो ।
गौरीगंगाका दुई पुल निर्माण सुस्त

धनगढी– कैलालीको गौरीगंगा नगरपालिकामा दुई वटा पुल निर्माण गर्न ठेक्का लिएको साढे चार वर्षमा वाईपी कन्स्ट्रक्सनले पुल निर्माणको काम आधा पनि गरेको छैन । पूर्वाधार विकास कार्यालय कैलालीबाट गौरीगंगाको चौमाला र अण्डैयामा २०७७ असार ३१ गते ठेक्का लिएको पुल निर्माणमा वाईपीले ढिलासुस्ती गरेको छ ।
वडा नम्बर १ मा रहेको चौमाला चौराहा र वडा नम्बर २ मा रहेको पुरानो चौमाला बजारलाई जोड्न चौमाला खोलामा पुल निर्माण गर्न तीन वर्षको ठेक्का सम्झौता गरिएको थियो । निर्माण कम्पनीले नै पुलको डिजाइन तयारी गरी निर्माण गर्ने गरी ठेक्का लगाइएको थियो । सुरुमा पुलको डिजाइन नै बनाउन समय लगाएको वाईपीले निर्माणमा समेत ढिलासुस्ती गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
पूर्वाधार कार्यालयका इन्जिनियर विनोद खड्काले निर्माण कम्पनीले काम नगरेकाले चार वर्षसम्म पुल निर्माण हुन नसकेको बताए । पूर्वाधार कार्यालयका प्राविधिक अधिकृत देवी बलायरका अनुसार ६० मिटर लम्बाइको पुल निर्माण भौतिक प्रगति खासै भएको छैन । वडा नम्बर २ तिरको एबोटमेन्ट क्यापसम्म निर्माण गरिएको छ भने वडा नम्बर १ तिरको एबोटमेन्ट र बीचको पिलरको पाइलिङको काममात्रै भएको उनले बताइन् ।
यसअघि, तदारुकताका साथ काम नगरेको वाईपीले गत असार २२ गतेसम्म दिइएको म्याद सकिएपछि काम गर्न थालेको छ । पूर्वाधार कार्यालयका अनुसार १२ करोड ७३ लाख रुपैयाँ लागत भएको सो पुल निर्माण गर्न वाईपीले सात करोड २३ लाख ८० हजारमा टेण्डर हालेको थियो । सो ठेक्कावापत् वाईपीले पूर्वाधार कार्यालयबाट दुई करोड तीन लाख ४० हजार रुपैयाँ भुक्तानी लिएको छ । गौरीगंगाका वडा नम्बर १ र २ मा रहेका दुबै बजार उत्तिकै महत्त्वपूर्ण छ ।
बीचमा खोला पर्ने भएकाले गौरीगंगाबासीलाई वर्खामा ओहोरदोहोर गर्न समस्या हुने गरेको वडा नं. २ का वडाध्यक्ष जनकबहादुर साउदले बताए । ‘वडा नम्बर १ मा नगरपालिकाको कार्यालय र क्याम्पस छ । वडा नम्बर २ मा मालिका मावि, पशु तथा कृषि सेवा कार्यालय र स्वास्थ्य चौकी छ,’ अध्यक्ष साउँदले भने, ‘दुवै वडाबासीले सरकारी सेवा लिन र विद्यार्थीले पढ्न जान खोला तर्नुपर्छ । पुल नबनेपछि बर्खाको बेला करिब ३ किलोमिटर हाइवेबाट हिडेर आवतजावत गर्नुपर्छ ।’
यसैगरी, वडा नम्बर ५, अण्डैया र वडा नम्बर ९ लिक्मा को बीचमा पर्ने कटैनी नदीमा ५० मिटर पुल दुई वर्षमा निर्माण गर्न वाईपीले ठेक्का लिएको थियो । तर साढे चार वर्षसम्म पनि सो पुलको एबोटमेन्टर र पिलर हाल्ने काममात्रै सकिएको छ । पूर्वाधार कार्यालयका साइड इञ्चार्ज जितेन्द्र धामीले बिम र स्ल्याब हाल्ने काम बाँकी रहेको बताए । पुल समयमा निर्माण नहुँदा स्थानीय बासिन्दाले जीर्ण भइसकेको काठेपुलबाट जोखीम पूर्ण यात्रा गर्न बाध्य छन् ।
आठ करोड ९५ लाख ८२ हजार रुपैयाँ लागत अनुमान भएको पुल निर्माण गर्ने ठेक्का वाईपीले पाँच करोड २८ लाख रुपैयाँमा लिएको थियो । सो पुलको ठेक्कावापत् पूर्वाधार कार्यालयले वाईपीलाई तीन करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेको छ । पूर्वाधार कार्यालयका इन्जिनियर खड्काले दुवै पुल निर्माणमा वाईपीले लापरबाही गरेको बताए । उनले प्रत्येक वर्ष काम नहुँदा बजेट फ्रिज गएको बताए ।