Logo

सात महिना सकिन लाग्दा ६० प्रतिशत कार्यक्रमको ठेक्का सम्झौता सम्पन्न

सहरी विकास मन्त्रालयको पुँजीगत खर्च १२ प्रतिशत

काठमाडौं– सहरी विकास मन्त्रालयको कुल ६३ अर्ब ७८ करोड ४५ लाख पुँजीगत बजेटमध्ये माघ तेस्रो सातासम्ममा ७ अर्ब ७९ कारोड ४४ लाख रुपैयाँ खर्च भएको छ । यो कुल पुँजीगत बजेटको १२.२२ प्रतिशत हो ।

पछिल्ला दुई महिना (पुस र माघ) मा पुँजीगत खर्चमा तुलनात्मक सुधार देखिएको छ । मंसिरसम्म मन्त्रालयको पुँजीगत खर्च ४ अर्ब १८ करोड ३ लाख रुपैयाँ अर्थात ६.६२ प्रतिशत मात्र थियो । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष (आव) २०८१/८२ का नयाँ कार्यक्रममध्ये अहिलेसम्म १ हजार ८७४ वटा कार्यक्रमको बोलपत्र आह्वान भएका छन् ।

त्यसमध्ये माघ महिना सकिन लाग्दा बल्ल १ हजार १३९ वटा कार्यक्रमको ठेक्का सम्झौता भएको छ । यो बोलपत्र आह्वान गरिएका ठेक्काको ६० प्रतिशत हो । अहिलेसम्म ठेक्का सम्झौता भएकामध्ये ६० प्रतिशत कार्यक्रम सम्पन्न भएका छन् । चालु आवमा मन्त्रालयबाट बहुवर्षीय ठेक्का सम्झौता लागि २८८ कार्यक्रम प्रस्ताव गरिएकोमध्ये १५९ कार्यक्रमको स्रोत सहमति प्राप्त भएको छ ।

अहिलेसम्म ११० वटा संशोधनको लागि प्रस्तावित कार्यक्रममध्ये ७२ कार्यक्रम संशोधन भएका छन् । बाँकी संशोधन हुने प्रक्रियामा रहेको सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बताए । यसैगरी अघिल्ला आवका ३०३ वटा क्रमागत तथा बहुवर्षीय स्वीकृत कार्यक्रम यही आवमा सम्पन्न भएका छन् । हालसम्म ३६ वटा स्थानीय तहहरूको प्रशासकीय भवनको निर्माण कार्य सम्पन्न गरी सार्वजनिक सेवा सुचारु भएको छ । ७ वटा स्वास्थ्यको भवन निर्माण कार्य सम्पन्न भएका छन् ।

प्राकृतिक विपद्को समयमा समुदायलाई आश्रयस्थल उपलब्ध गराउनको लागि २ वटा ‘इमर्जेन्सी सेल्टर’ निर्माण कार्य सम्पन्न भएको छ । मन्त्रालयमार्फत निर्माण भएका प्रमुख भवनमध्ये ३ असोज २०८१ अर्थात् संविधान दिवसको दिनबाट धरहरा सञ्चालनमा ल्याई परीक्षणको लागि धरहरा, बेसमेन्ट पार्किङ र बगैंचा सर्वसाधारणको लागि खुला गरेको छ । यस्तै, दमक व्यापारिक कम्प्लेक्स निर्माण कार्य सम्पन्न भई प्रधानमन्त्रीले उद्घाटन गरेका छन् ।

सिटिहलको निर्माण कार्यअन्तर्गत चितवन सौराहामा सभाहल भवन निर्माण सम्पन्न भएको, सुनसरीको लौकही सभाहलको निर्माण कार्य अन्तिम चरणमा रहेको र नेपालगञ्ज सिटिहलको ठेक्काअनुसारको निर्माण कार्य सम्पन्न भइसकेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयअन्तर्गत चण्डीदल गणको लागि भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरणको प्रक्रियामा रहेको छ भने भैंसेपाटीस्थित मन्त्री निवासको दोस्रो चरणको निर्माण कार्य ८१ प्रतिशत सम्पन्न भई बाँकी निर्माण कार्य भइरहेको छ ।

ग्रामीण आवागमनको सुधार गर्न झापा, रोल्पा र पर्वत गरी ३ जिल्लामा कुल ६.९ किमी ग्रामीण कालोपत्रे सडक निर्माण भएको छ भने ४ वटा स्थानीय सडक पुल तथा १२४ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । त्यसमध्ये १ हजार ५७१ मिटरको त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गे पुल सम्पन्न भई राष्ट्रपतिले उद्घाटन गरी सञ्चालनमा आएको छ । मन्त्रालयले यहीबीचमा विशिष्ट संरचना सञ्चालन सम्बन्धमा (गठन) आदेश स्वीकृत भई कार्यकारी निर्देशकको नियुक्ति गरेको छ ।

विशिष्ट संरचना सञ्चालनको लागि ढाँचा तय गर्न आवश्यक पर्ने कार्यविधि, मापदण्ड तथा विनियमावली तयारी प्रक्रियामा अगाडि बढाइएको सचिव सिग्देलले जानकारी दिए । चालु आव २०८१/८२ मा सहरी विकास मन्त्रालयको जम्मा बजेट ९१ अर्ब ३५ करोड २३ लाख रहेकोमा संघतर्फ ६८ अर्ब २४ करोड २८ लाख रुपैयाँ रहेको छ । त्यसमध्ये चालुतर्फ ४ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ रहेको छ । हालसम्म चालुतर्फको खर्च १९.४७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्