Logo

दाङका ठूला उद्योगमा ३४ अर्ब लगानी

दाङ– जिल्लामा ठूला उद्योगमा ३४ अर्ब ८ करोड रुपैयाँ लगानी भएको छ । राष्ट्र बैंकको लुम्बिनी प्रदेशको प्रादेशिक अर्ध वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म उक्त लगानी भएको हो । प्रतिवेदनका अनुसार जिल्लामा ठूला उद्योग ४९ वटा रहेका छन् । ती उद्योगमा ६ हजार ३ सय ४० जनाले रोजगार प्राप्त गरेका छन् । पछिल्लो समय जिल्लामा ठूला उद्योग स्थापना हुने क्रमसमेत बढ्दै गएको छ ।

जिल्लामा सिमेन्ट उद्योग तथा कृषि जन्य उद्योग थपिँदै गएका छन् । औद्योगिक क्षेत्र स्थापना भएमा थप उद्योगमा लगानी बढ्ने अपेक्षासमेत गरिएको छ । तर, औद्योगिक क्षेत्र घोषणा भए पनि कार्यान्वयनमा आउन सकेको छैन । लुम्बिनी प्रदेशका उद्योगमा ३ खर्ब २७ अर्बभन्दा बढी लगानी रहेको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म ७ सय ५६ उद्योगहरूमा उक्त लगानी रहेको देखिएको हो । ती उद्योगहरू उद्योग विभागमा दर्ता भई सञ्चालनमा रहेका छन् ।

विभागमा औद्योगिक व्यवसाय ऐन अनुसार १० करोडभन्दा बढी स्थिर पुँजी भएका उद्योगहरू उद्योग विभाग र लगानी बोर्डमा दर्ता हुन्छन् । १० करोडदेखि ६ अर्बसम्म स्थिर पुँजी भएका उद्योगहरू उद्योग विभागमा मात्र दर्ता भएर पुग्दैन । ठूला उद्योगको दर्ता कम्पनी रजिष्ट्रारको कार्यालयमा गर्नुपर्छ । राष्ट्र बैंक सिद्धार्थनगर शाखाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वित्तीय प्रतिवेदनमा उल्लेख भएअनुसार सात सय ५६ ठूला उद्योगहरूमा ७६ हजार ८० दक्ष तथा अर्धदक्ष श्रमिकहरूले रोजगारी पाएका छन् ।

लुम्बिनी प्रदेशमा रुपन्देही, नवलपरासीसँगै बाँके, कपिलवस्तु र दाङमा ठूलो उद्योग स्थापना गर्ने क्रम बढेको छ । तर, पछिल्लो समय पश्चिम नवलपरासीमा ठूला उद्योग खुल्ने क्रम बढेको छ । रुपन्देहीसँगै नवलपरासी र बाँकेमा स्थापित ठूला उद्योगको संख्या एक सयमाथि छ भने अन्यका एक सय मुनि रहेका छन् । प्रदेशमा सबैभन्दा बढी ठूला उद्योग रुपन्देहीमा रहेका छन् । यहाँ ठूला उद्योगको हिस्सा कुल प्रदेशका उद्योगमध्ये ३८.६२ रहेको छ । रुपन्देहीमा २९२ ठूला उद्योग छन् ।

ती उद्योगमा कुल एक खर्ब ३ अर्ब ७४ करोड रुपैयाँ लगानी छ । जसमा २६ हजार ८ सयले रोजगारी पाएका छन् । त्यसैगरी पश्चिम नवलपरासीमा १८४ ठूला उद्योगमा एक खर्ब २ अर्ब १३ करोड ५० लाख बढीको लगानी छ । त्यहाँका ठूला उद्योगमा १८ हजार ५ सय ५५ जनाले प्रत्यक्ष्य रोजगारी पाएका छन् । बाँकेमा असार मसान्तसम्म १०७ उद्योग दर्ता भई सञ्चालनमा रहेका छन् । बाँकेका ठूला उद्योगमा २२ अर्ब ७७ करोड ९० लाख रुपैयाँभन्दा बढी लगानी छ ।

ती उद्योगले ९ हजार एक सय ११ जनालाई रोजगार प्रदान गरेको छ । कपिलवस्तुमा उद्योग विभागमा दर्ता भएर सञ्चालनमा रहेका उद्योगहरूको संख्या ६२ रहेको छ । ती उद्योगहरूमा ३९ अर्ब १७ करोड ६० लाख रुपैयाँ लगानी छ । जसले ७ हजार ५ सय ५३ जनालाई रोजगारी प्रदान गरेको छ । बर्दियामा २८ ठूला उद्योग छन् । पाल्पामा १२, गुल्मीमा ६, अर्घाखाँची र रुकुममा ५/५, प्यूठान र रोल्पामा ३/३ ठूला उद्योग छन् ।

बर्दियामा ७ अर्ब ९३ करोड रुपैयाँ लगानी रहेको छ भने १ हजार ७ सय ५ जना, पाल्पामा ३ अर्ब ५ करोड लगानी हुँदा ७ सय ७७ जना, अर्घाखाँचीमा ४ अर्ब ८२ करोड लगानी हुँदा ४ सय १८ जनाले रोजगारी पाएका छन् । गुल्मीमा २ अर्ब ५ करोड ९० लाख लगानी हुँदा १ सय १९ जनाले रोजगारी दिएका छन् । रोल्पामा एक अर्ब २२ करोड लगानीका उद्योगमा ४ हजार ६६ जनालाई रोजगारी र प्युठानमा ५४ करोड लगानीका उद्योगमा २ सय ३२ जनाले रोजगारी पाएका छन् । रुकुमका उद्योगले ३ सय ३४ जनाले रोजगारी दिएको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी उद्योगको हिस्सा रुपन्देहीमा ३८.६२ प्रतिशत र सबैभन्दा कम प्यूठान र रोल्पामा ०.४० प्रतिशत रहेको छ । यस प्रदेशमा रहेको बुटवल औद्योगिक क्षेत्रमा ६४ र नेपालगञ्ज औद्योगिक क्षेत्रमा ३० वटा उद्योगहरू सञ्चालनमा रहेका छन् । लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी र कपिलवस्तुमा पूर्वाधार सम्बन्धी सिमेन्ट र छड उद्योगहरू बढी छन् । कपिलवस्तुमा प्लाइउड उद्योगको संख्या प्रदेशकै सबैभन्दा बढी छ ।

भैरहवाको धकधई परासी नयाँ औद्योगिक करिडरको रूपमा स्थापित भएको छ । यस करिडोरमा हुन्डाईदेखि बजाज, यामाहालगायतको एसेम्बलिंग प्लान्ट मात्र नभई पेप्सी कोला, बियर, रक्सी, टायल, खाद्य, स्टिल उद्योग, चामल, मैदा, जुत्ता चप्पल, चाउचाउ, बायो ग्यासलगायतका उद्योग सञ्चालनमा छन् । नवलपरासी नेपालकै मध्य क्षेत्रमा अवस्थित, सिमानाकाबाट नजिकै भएकाले कच्चा सामग्री भारतबाट आयात गर्न सजिलो हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्