साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने समझदारी

विराटनगर– नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजनाबीच कोशी प्रदेशमा साना तथा मझौला उद्योग प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र उदय परियोजनाका टोली नेता अरुण राणाले बुधबार हस्ताक्षर गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राउतले मुलुकको आर्थिक एवं सामाजिक विकासमा लघु घरेलु तथा साना उद्योगको महत्त्वपूर्ण स्थान रहेको र नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब २२ प्रतिशत योगदान रहेकाले यस क्षेत्रका लागि अनुकूल वातावरण बनाउने प्रयत्नको रूपमा सम्झौता गरिएको बताए । उनले १७ लाख मानिसहरूलाई रोजगारी प्रदान गरेको साना तथा मझौला उद्योगको प्रवर्द्धन अपेक्षित रूपमा हुन नसकिरहेको अवस्थामा महासंघले व्यावसायिक विकास सेवा सुरुवात गरेको उल्लेख गर्दै क्षमता विकास सञ्जाल विस्तार समन्वय हुने बताएका छन् ।
उदय परियोजनाका टिम लिडर अरुण राणाले यो समझदारीपत्रले कोशी प्रदेशमा सक्रिय साना तथा मझौला उद्योगलाई लक्षित गरी व्यवसाय विकास परामर्शदाता परिचालन गर्ने साझेदारीको रूपरेखा प्रस्तुत गर्ने बताएका थिए । कोशी प्रदेशका साना तथा मझौला उद्योग प्रवर्द्धनमा महासंघ कोशीले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
समझदारी पत्रमा उल्लेख उद्योग व्यवसायको पुँजीको पहुँच, लगानी तथा नवप्रर्वतक प्रर्वद्धनलगायतका कार्यक्रम महासंघ कोशी प्रदेशले कोशी प्रदेशमा रहेका सबै जिल्ला/नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा व्यावसायिक संघ/संस्थाको सहकार्यमा अघि बढाइने छ । कार्यक्रम डाई उदय परियोजना, स्विस सरकार विकास सहयोग र नेपाल सरकार अर्थ मन्त्रालयद्वारा संयुक्त रूपमा वित्तपोषण गरी कोशी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्रालय एंव डाई ग्लोबल, युके लिमिटेडद्वारा कार्यान्वयन गरिएको छ ।