Logo

आर्थिक समृद्धिमा टेवा पुर्‍याउने वातावरण बनाउन माग

वीरगन्ज– नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले निजी क्षेत्रलाई भरोसा दिलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र आर्थिक समृद्धिमा टेवा पुर्‍याउने वातावरण बनाउन माग गरेको छ ।

कोशी प्रदेशको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणअघि बढाउने सन्दर्भमा केही दिनदेखि देखिएको विवाद र गतिविधि प्रति नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै लगानीकर्ताहरूको सुरक्षाका लागि ठोस नीति ल्याइनुर्ने र पाथीभरा परियोजनासँग सम्बन्धित समस्या वार्तामार्फत समाधान गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अर्थतन्त्र अझै पनि पूर्ण रुपमा पुनर्जीवित हुन सकेको छैन, आर्थिक गतिशिलता बढाउन स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुपर्नेछ । जसका लागि लगानीमैत्री वातावरण आवश्यक छ । तर,पाथीभरा केवलकार परियोजनामा भइरहेको अवरोधले लगानीकर्ताहरूमा नकारात्मक सन्देश प्रवाह गरिरहेको छ ।’

कुनै पनि विकास निर्माणमा अनावश्यक अवरोध सिर्जना गर्नु अर्थतन्त्रलाई थप कमजोर बनाउने कार्य रहेको र परियोजना रोकिएमा लगानीकर्ताहरू निराश हुने जनाउँदै यसले देशको आर्थिक भविष्यलाई नकारात्मक असर पार्ने विज्ञप्तिमा उल्लेख छ । उक्त परियोजनाका सन्दर्भमा कुनै अस्पष्टता भए संघ, प्रदेश तथा स्थानीय सरकारहरू, आन्दोलनरत पक्ष सबैले समन्वय र वार्ताका माध्यमबाट यो परियोजना अघि बढाउने सुनिश्चितता गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

केबलकार परियोजना कानुनी प्रक्रिया पूरा गरी स्थानीय जनताको सहमति अनुसार अगाडि बढेको र पर्यटन पूर्वाधार निर्माणले स्थानीय रोजगारी सिर्जना गर्ने, सांस्कृतिक प्रवर्द्धन गर्ने र समग्र कोशी प्रदेशको आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास रहेकोले बाह्य अवरोधका कारण परियोजना अन्योलमा परेको कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको मनोबल कमजोर बनाउने खतरा रहेको महासंघ मधेश प्रदेशका अध्यक्ष टेमानीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यातायातको सुविधा विस्तार हुँदा स्थानीय संस्कृति र परम्परा मासिने होइन, बरु अझ व्यापक प्रचार प्रसार भई पर्यटन क्षेत्र मजबुत हुने र नेपालमै सञ्चालित अन्य केबलकार परियोजनाहरूले पनि पुष्टि गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्