नागढुंगा–सिस्नेखोला सुरुङमार्ग बल्ल ८५ प्रतिशत बन्याे

काठमाडौं– नागढुंगा–सिस्नेखोला जोड्ने सुरुङमार्गको भौतिक प्रगति ८४.९६ प्रतिशत मात्र पुगेको छ । आयोजनाले सार्वजनिक गरेको जनवरी महिनाको पछिल्लो तथ्यांकअनुसार यो आयोजनाको भौतिक प्रगति ८४.९६ प्रतिशत पुगेको हो । आयोजनाको वित्तीय प्रगति ७६.६८ प्रतिशत पुगेको छ ।
आयोजनाका निर्देशक ज्ञानेन्द्रकुमार झाले आयोजनाअन्तर्गत सुरुङ ब्रेक थ्रु भई सुरुङको फिनिसिङको काम भइइरहेको जनाएको छ । निर्माण पूरा गरेर सञ्चालनमा आउनुपर्ने आयोजना कहिले पुरा भएर सुरु हुने अन्योल छ । अन्डरपास, बक्स कल्भर्ट र ओभरपास निर्माणको कामसमेत सम्पन्न भइसकेको छ । अहिले मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम भइरहेको छ । सुरुङमार्गको कंक्रिट लाइनिङ (फिनिसिङ)को कामसमेत तीव्रताका साथअघि बढाएको छ ।
फ्लाइओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । यस्तै मेन टनेलको ब्रेक थ्रु १५ अप्रिल २०२४ मा भएको थियो । उद्धार टनेलको ब्रेक थ्रु भने ७ अगस्ट २०२३ मा गरिएको थियो । काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग २ हजार ८ सय ८८ मिटर लामो छ । २०१९ अक्टोबर २१ मा आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका थिए ।
आयोजना शिलान्यास भएको १४ महिनापछि २०२० डिसेम्बर २२ देखि निर्माण थालिएको थियो । सुरुको लक्ष्यअनुसार काम भएको भए २०२३ अप्रिल २६ मा आयोजना पूरा हुनुपर्ने थियो । आयोजनामा लक्ष्यअनुसार काम नभएपछि सन् २०२४ को अप्रिल २५ सम्म म्याद थप गरिएको थियो । पछिल्लो समय थप भएको म्याद आउँदो (२०२५) अक्टोबरसम्म पुर्याइएको छ । समयमा काम नहुनुमा कोभिड महामारी, भारतीय नाकाबन्दी र स्थानीय वासिन्दाको पटक–पटकको अवरोध पनि थप कारण बनेका छन् ।
पछिल्लो समयसम्म थपिएको समय पूरा नहुने आशंका देखिएको छ । यो आयोजना जापानको हाज्मा आन्दो कर्पोरेसनले बनाउन सुरु गरेको हो । नेपाल र जापानको करिब २२ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको यो सुरुङमार्गले थानकोटदेखि धादिङको सिस्ने खोलासम्म जोड्नेछ । सम्झौताअनुसार नेपाललाई जापान सरकारबाट १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (१६ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ) उपलब्ध गराउने छ । नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी हुनेछ ।
तत्कालिन समयमा ४० वर्षका लागि ०.०१ प्रतिशत ब्याजदरमा यो ऋण सम्झौता भएको थियो । नेपाल सरकारले जग्गा प्राप्ति र अन्य प्रशासनिक खर्च बेहोर्ने सम्झौता गरेको थियो । सुरुङमार्गको सर्भे जापान इन्टरनेशनल कर्पोरेसन एजेन्सी (जाइका) ले गरेको हो । आयोजनाले निर्माण गर्नुपर्ने ३ अन्डरपास, ४ बक्स कल्भर्ट, १ ओभरपास, ३ पुल निर्माण पूरा भएको छ भने १ फ्लाइओभरको ९५ प्रतिशत कार्य पूरा भएको छ ।