Logo

ओमानबाट पहिलोपल्ट वैधानिकीकरण श्रमस्वीकृति

काठमाडौं– नेपाली राजदूतावास मस्कटको पहलमा विदेशमा पहिलो पटक ओमानको सलालामा वैधानिकीकरण श्रमस्वीकृतिको काम सुरु भएको छ ।

दूतावासले माघ १७ देखि १९ गतेसम्म सलालामा आयोजना गरेको श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलर सम्बन्धी विशेष कार्यक्रममा श्रमस्वीकृति सेवा सुरु गरिएको हो । यसका लागि ओमान गएका वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले विभिन्न भिसामा गएर त्यहाँको कानुनअनुसार वैधानिक प्रक्रियामा काम गरिरहेका नेपालीलाई श्रमस्वीकृति दिइएको बताए । साउदी अरबलगायत देशबाट ओमान गई वैधानिक रुपमा त्यहाँ १७–१८ वर्षदेखि काम गरिरहेका तर श्रमस्वीकृति लिन नपाएका नेपाली श्रमिकले श्रमस्वीकृति पाएका छन् । महानिर्देशक खत्रीले भने, ‘ओमानबाट श्रमस्वीकृति सुरु भएपछि अन्य श्रम गन्तव्यमा पनि प्राविधिक पूर्वाधार विकास गरेर सेवा विस्तार गर्ने योजना विभागको छ ।’ विभिन्न माध्यमबाट ओमान गई वैध रुपमा कम्पनीमा कार्यरत रहेका नेपाली श्रमिकलाई नेपाली दूतावास मस्कटले श्रमस्वीकृति प्रदान गर्नेछ ।

कार्यक्रममा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले श्रमस्वीकृतिलाई अझ सहज बनाउने बताए । सामाजिक सुरक्षा कोषको महत्व, वैध माध्यमबाट विप्रेषण प्रवाह, श्रमिकले के गर्ने, के नगर्ने आदि विषयमा उनले जानकारी दिएका थिए ।

महानिर्देशक खत्रीले विदेशमा पहिलो पटक वैधानिकीकरण श्रमस्वीकृति सेवा विस्तार गरिएको भन्दै नेपाली श्रमिकलाई यसकै लागि स्वदेश जानुपर्ने बाध्यता हटेको बताए । बिना श्रमस्वीकृति विदेशमा काम गर्न जान नहुनेमा जोड दिँदै उनले श्रमस्वीकृतिको आवश्यकता लगायतका विषयमा नेपाली श्रमिकहरुलाई जानकारी गराए । मस्कटबाट करिब ११ सय किलोमिटर टाढा रहेको सलालामा राहदानी नवीकरण, वैधानिकीकरण श्रमस्वीकृति तथा विभिन्न जानकारीसहितको सेवा दूतावासले नियमित प्रदान गरिरहेको उनले बताए ।

दूतावासका द्वितीय सचिव विशेषकुमार शाहले मस्कटमा अन्तरक्रिया कार्यक्रम गरी वैधानिकीकरण श्रमस्वीकृतिको सेवा सुरुवात गरिएको जानकारी दिए । नेपालबाट श्रमस्वीकृति नलिई ओमानका कम्पनीहरुमा वैध तरिकाले काम गरिरहेका नेपाली श्रमिकलाई अब नेपाली दूतावास मस्कटबाट नियमित रुपमा वैधानिकीकरण श्रमस्वीकृति प्रदान गरिनेछ । यसका लागि श्रमिकले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) प्रणालीमार्फत आफ्नो प्रोफाइल बनाउने, कागजात अपलोड गरी अनलाइन आवेदन दिने र त्यसपछि दूतावासमा बायोमेट्रिक (फोटो खिचाउन र पिंmगर प्रिन्ट) का लागि आफैं उपस्थित हुनु पर्नेछ ।
सरकारले गत वैशाखमा विभिन्न प्रकृतिका भिसामा विदेश गएर श्रम गरिरहेका श्रमिकलाई वैधानिकीकरण श्रमस्वीकृति प्रदान गर्ने निर्णय गरेअनुसार ओमानबाट पहिलो पटक सेवा सुरु गरिएको हो ।

श्रम मन्त्रालयले वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०८१ संशोधन गर्दै अन्य प्रकृतिका भिसामा विदेश गएर सोही मुलुकमा रोजगारीको लागि भिसा पाएका श्रमिकलाई वैधानिकीकण श्रमस्वीकृति प्रदान गर्ने व्यवस्था गरेको थियो । मन्त्रालयले कुनै भिसामा विदेश गएर काम गरिरहेका युवालाई श्रमस्वीकृति लिन नेपाल आउनुपर्ने झन्झट हटाउन वैधानिकीरण श्रमस्वीकृति प्रक्रियालाई सहज बनाउने निर्णय गरेको थियो । यस्तो खालको श्रमस्वीकृति माग गर्दा श्रमिकले स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिमको प्रमाण पेश गर्नु नपर्ने नियम पनि बनाइएको छ । रोजगारीका लागि भिसा प्राप्त गरी सम्बन्धित मुलुकस्थित नेपाली कूटनीतिक नियोगमा आवेदन गरेका श्रमिकलाई सम्बन्धित नियोगले वैधानिकीकरण श्रमस्वीकृति प्रदान गर्न सक्ने निर्णय यसअघि नै भए पनि कार्यान्वयन भने अहिले भएको छ । यसअघि ‘अन्य प्रकृतिका भिसामा गई वैदेशिक रोजगारीबाट फर्केका कामदारको श्रमस्वीकृति’ शीर्षकमा यस्तो खालको श्रमस्वीकृति प्रदान गरिँदै आएको थियो । तर, यस्तो श्रमस्वीकृति लिनका लागि श्रमिक नेपाल नै आएको हुनुपर्ने व्यवस्था थियो । साथै श्रमिकले अनिवार्य रुपमा स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिम लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था थियो ।

सरकारले २०७५ सालदेखि पुनः श्रमस्वीकृति सेवा प्रदेश स्तरमा रहेका श्रम तथा रोजगार कार्यलयबाट गर्दै आएकोमा अघिल्लो वर्षदेखि श्रमस्वीकृतिका अन्य सेवा पनि दिने निर्णय गरेपछि उपत्यका बाहिरबाट सेवा लिनेको संख्या बढेको छ । श्रमस्वीकृति सेवा विस्तार भएपछि हजारांै खर्च गरेर काठमाडौं आउनुपर्ने झन्झट हटेको छ । हाल वैदेशिक रोजगार कार्यालय काठमाडौंका अतिरिक्त श्रम तथा रोजगार कार्यालय विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट अनलाइनमार्फत श्रमस्वीकृति सेवा विस्तार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्