अर्थ समितिको भन्सार नाका अनुगमनः सर्वत्र चोरीपैठारी

काठमाडौं- प्रतिनिधि सभाको अर्थ समितिले नेपालगञ्जदेखि वीरगञ्जसम्मका विभिन्न भन्सार कार्यालय तथा छोटी भन्सार कार्यालयमा गरेको अनुगमनले सर्वत्र चोरीपैठारी बढेको निष्कर्ष निकालेको छ ।
यी नाकाहरुमा अस्तव्यस्तता, खुला सिमाना, अन्तरनिकाय समन्वय अभावलगायतले चोरीपैठारी वृद्धि भएको निष्कर्ष निकालेको हो । सभापति सन्तोष चालिसेको संयोजकत्वमा यही माघ ११ देखि १६ गतेसम्म विभिन्न भन्सार कार्यालयको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा फेला परेका समस्याबारे समितिमा बुधबार छलफल भएको छ ।
छलफलका क्रममा सांसद पदम गिरीले भन्सार नाकाहरु अस्तव्यस्त हुँदा मुलुकले ठूलो राजस्व गुमाएको बताए । ‘धेरैजसो भन्सारमा आवश्यक पूर्वाधार छैन । जाँचपास मेसिन नियोजित ढंगले बिगारिएका छन् । कर्मचारी, सुरक्षाकर्मी, भन्सार एजेन्ट, व्यापारीको मिलेमतो छ,’ गिरीले भने ।
सांसद गंगा कार्कीले भन्सार जाँचपास प्रक्रियामा प्रविधिको प्रयोग कमजोर रहेको बताइन् । ‘भन्सारमा भएका प्रविधि प्रयोग गरिएको छैन । भन्सारलाई प्रविधिमैत्री बनाउन जरुरी छ,’ उनले भनिन् । सांसद रणकुमारी बलम्पाकी मगरले भन्सार यार्डहरुमा हजारौंको संख्यामा गाडी र मोटरसाइकल थन्किएर बसेको बताइन् ।
सांसद जुलीकुमारी महतो (महासेठ)ले भन्सार कार्यालय प्रविधिको प्रयोगबिनै तजबिजीमा चल्ने गरेको बताइन् । एकीकृत जाँचचौकी निर्माण तथा व्यवस्थापनको जिम्मा अरु देशलाई दिइँदा त्यसले सुरक्षा संवेदनशीलतामा गम्भीर प्रश्न देखिएको धारणा सांसद नारायणी शर्माले राखिन् । भैरहवाको एकीकृत जाँचचौकीमा स्थानीय र केन्द्र सरकारबीच विवाद देखिएको उनको भनाइ छ । दशजगा क्षेत्रमा भारतीय पक्षबाट सीमा मिचिएको विषय उनले समितिमा उठाइन् ।
यस्तै सांसद अञ्जली श्रेष्ठले भन्सार कार्यालयका कर्मचारीहरुले जानाजान मेसिन बिगार्ने गरेको अनुगमनका क्रममा भेटिएको बताइन् । अर्का सांसद सूर्यबहादुर थापा क्षेत्रीले भन्सार प्रशासनमा पहिलेको तुलनामा केही सुधार देखिए पनि अझै समस्या रहेको बताए । ‘क्वारेन्टाइनको अवस्था हेर्दा खसीबोका, राँगा, भैंसी, कुखुरा केही पनि आयात भएको देखिँदैन । क्वारेन्टाइन अफिसहरु चलेकै छैनन्,’ उनले भने ।
सांसद अम्मरबहादुर रायमाझीले सीमा नाकामा खटिने सुरक्षाकर्मीको संख्या कम रहेको बताए । अर्का सांसद छिरिङ डम्डुल लामा भोटेले भन्सार प्रणालीभन्दा बाहिरबाट बढी सामान नेपाल भित्रिरहेको जानकारी दिए । सांसद नारायणप्रसाद आचार्यले भन्सारमा ठूलो समस्या रहे पनि त्यसलाई समाधान गर्न माथिल्लोदेखि तल्लो तहसम्मले लापरवाही गर्ने गरेको बताए ।
सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भन्सारका कर्मचारीले असल नियतले काम गर्दैनन् भन्ने भाष्य बनाइनु गलत रहेको जनाउँदै यसलाई थप सुधार गर्नुपर्नेतर्फ ध्यान जान आवश्यक रहेको बताए । सीमा क्षेत्रका नागरिकले भोगिरहेको समस्या समाधान गर्नुपर्ने, नेपालमा भारतीय नागरिकले बोक्न मिल्ने नगद रकम २५ हजारबाट बढाइनुपर्ने लगायतका सुझाव उनले दिए ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले मिलेमतोमा तस्करी नरहेको जिकिर गरे । चालु आर्थिक वर्षमा प्रहरीले करिब तीन अर्ब बराबरको सामान नियन्त्रणमा लिएको उनको भनाइ छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भारतीय सीमानासँग जोडिएका क्षेत्रमा देशभर १२ सयको हाराहारीमा कर छलीका सामान ओसारपसार गर्ने व्यक्तिहरु रहेको जानकारी दिए ।