Logo

पर्यटन प्रवर्द्धनको सुनौलो अवसर

विश्वभरका होटल तथा पर्यटकीय गन्तव्यहरूका बारेमा जानकारी दिने र पर्यटकमाझ निकै लोकप्रिय ट्राभल वेबसाइट ट्रिप एड्भाइजरमा नेपाल र नेपालका विभिन्न सहर विश्वका भ्रमण गर्नैपर्ने देश र सहरहरूको सूचीमा पर्दै आएका छन् ।

सो साइटले हालै जारी गरेको सन् २०२५ का उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौं पनि परेको छ । यसैगरी पर्यटकले घुम्नैपर्ने सांस्कृतिक गन्तव्यमा पनि काठमाडौं परेको छ भने एकल पर्यटकको रोजाइको उत्कृष्ट गन्तव्यको सूचीमा पनि काठमाडौं परेको छ । यसरी तीन विधामा काठमाडौं उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेको छ । ट्रिप एड्भाइजरको सूचीमा पर्नु नै करोडौँ रुपैयाँले गर्ने विज्ञापनभन्दा ठूलो विज्ञापन हो ।

यसैगरी अमेरिकाको विश्वप्रसिद्ध पत्रिका ‘द न्युयोर्क टाइम्स’ ले आफ्नो अनलाइन संस्करणमा एक विस्तृत आलेख प्रकाशित गर्दै बुद्धको जन्मथलो लुम्बिनीलाई सन् २०२५ मा विश्वका घुम्नैपर्ने ५२ उत्कृष्ट गन्तव्यहरूको सूचीमा नवौँ स्थानमा सूचीकृत गरेको छ । विश्वप्रसिद्ध पत्रिकाले बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थलको रूपमा व्याख्या गरिदिँदा अन्तर्राष्ट्रिय क्षेत्रमा लुम्बिनीको ठूलो प्रचार भएको छ । यसरी नेपाल आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विश्वको आँखामा परेका बेला पर्यटन प्रवद्र्धनका गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने हो भने उल्लेखनीय उपलब्धि हासिल हुने देखिन्छ ।

नेपालमा ठूलो आर्थिक सम्भावना बोकेका क्षेत्रहरूमध्ये पर्यटन पनि एउटा मुख्य क्षेत्र भएकाले यसको विकासका लागि सरकारी तथा निजी क्षेत्रबाट पनि सकारात्मक पहल हुँदै आएको छ र अझै त्यस्तो पहलको अपेक्षा गरिएको छ । पर्यटन विकासलाई राज्यले पनि प्राथमिकतामा नै राखेको पाइन्छ । ‘पर्यटन ऐन–२०३५’, ‘पर्यटन नीति–२०६५’, ‘हवाई नीति–२०६३’, ‘नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना– २०१६–२०२५’, ‘पर्यटन दूरदृष्टि– २०२०’ लगायतका पर्यटनसम्बद्ध नीति, योजना तथा कार्यक्रम तर्जुमा गरी पर्यटन क्षेत्रको दीर्घकालीन विकास गर्ने प्रयत्न राज्यले गरेकै हो । हरेक वर्ष सरकारका नीति तथा कार्यक्रम र बजेटमा पनि पर्यटनलाई प्राथमिकता दिइएकै हो ।

सन् १९७२ मा जर्मन सरकारको सहयोगमा नेपालको प्रथम पर्यटन विकास गुरुयोजना तयार गरिएको थियो । त्यसपछि सन् १९९० मा एसियाली विकास बैंकको सहयोगमा दोस्रो पर्यटन विकास आयोजना सञ्चालन गरिएको थियो । ती गुरुयोजनाले तत्कालीन अवस्थामा नेपालमा पर्यटक आगमन वृद्धिमा निकै सघाउ पुर्‍याएको थियो । यिनै तथ्यलाई मनन गर्दै, (क) नेपालका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले महत्व राख्ने क्षेत्रहरूको गुरुयोजना तयार गरी भौतिक पूर्वाधारहरूको विकास गर्ने; (ख) निर्धारित क्षेत्रमा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक पर्ने भौतिक सुविधाहरूको निर्माण तथा सम्भार गर्ने; (ग) आयआर्जनका स्रोतको पहिचान गरी पर्यटन क्षेत्रको भौतिक पूर्वाधारहरू निर्माण गर्ने र ती संरचनाहरू नियमित रूपमा स्थानीय स्तरबाटै मर्मतसम्भार तथा व्यवस्थापन गर्ने परिपाटी बसालेर दिगो विकासको अवधारणाअनुरूप कार्यक्रमहरू सञ्चालन गर्ने र गरिबी निवारणमा टेवा पुर्‍याउने उद्देश्यले आर्थिक वर्ष २०६५÷६६ को बजेट र नीति तथा कार्यक्रमअन्तर्गत देशका विभिन्न भागमा रहेका सांस्कृतिक, धार्मिकलगायतका पर्यटकीय स्थलहरूको व्यवस्थापन, निर्माण, सम्भार तथा विकासका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत ‘पर्यटन पूर्वाधार विकास आयोजना’ को पनि स्थापना गरिएको छ । प्रदेश र स्थानीय स्तरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रादेशिक पर्यटन गुरुयोजनाहरू पनि तर्जुमा गरिएका छन् ।

चालु सोर्‍हौँ योजनामा पनि ‘पर्यटन प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत पर्यटन पूर्वाधार विकास; पर्यटन बजारको विकास, विस्तार तथा सुदृढीकरण; गुणस्तरीय लगानी आकर्षण र पर्यटकीय क्रियाकलाप तथा गन्तव्यको विविधीकरण गर्ने; पर्यटन व्यवसायबाट उच्च मूल्य अभिवृद्धि गर्ने; वातावरण उत्तरदायित्व र दिगो अभ्यासको सुनिश्चितता; एक जिल्ला न्यूनतम एक पर्यटकीय गन्तव्य र एक स्थानीय तह बहुपर्यटन गाउँ प्रवद्र्धन गर्ने; पर्यटन विस्तारित लेखा तयारी; पर्यटक सुरक्षा, प्रचारप्रसार तथा पर्यटन सूचना सञ्जालीकरण गर्ने उल्लेख गरिएको छ ।

सरकार र निजी क्षेत्र पर्यटन प्रवद्र्धनका लागि प्रयत्नरत रहेकै अवस्थामा चीनले समेत सघाउने प्रतिबद्धता जनाएको छ । चिनियाँ नयाँ वर्ष, २०२५ को अवसरमा भक्तपुर नगरपालिका, नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, चिनियाँ राजदूतावास र पर्यटन बोर्डको संयुक्त आयोजनामा भक्तपुरमा माघ ५ गते शनिबार आयोजित चिनियाँ नयाँ वर्ष, २०२५ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत छन सङले चिनियाँ पर्यटकका लागि ‘नेपाल भ्रमण वर्ष, २०२५’ को घोषणा गरेका हुन् ।

दुई देशबीचको पर्यटन सहकार्यलाई उचाइमा पुर्‍याउन र दुई देशबीचको मानवीय सम्बन्धलाई अझ प्रगाढ बनाउन भ्रमण वर्षको घोषणा गरिएको चिनियाँ राजदूतको भनाइ छ । राजदूत सङले सन् २०२५ मा चिनियाँ पर्यटकका लागि नेपाल भ्रमण वर्षका प्रवद्र्धनात्मक गतिविधिहरू आयोजना गर्न नेपाललाई चीनमा हार्दिक स्वागत गर्दै चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्नेसमेत बताएका छन् । यो अवसरलाई नेपालको पर्यटन क्षेत्रले पर्यटन प्रवद्र्धनको एउटा सुनौलो अवसरका रूपमा उपयोग गर्न सक्नुपर्छ ।

विश्वको पर्यटन बजारमा चिनियाँ पर्यटकको उल्लेख्य उपस्थिति रहँदै आएको छ । सन् २०२४ मा कुल १ अर्ब ५३ करोड पर्यटकले विश्वका विभिन्न मुलुकको भ्रमण गरेको अनुमान छ । यसरी भ्रमण गर्ने पर्यटकमा चिनियाँ पर्यटकको हिस्सा ८ प्रतिशतभन्दा बढी रहेको देखिन्छ । सन् २०२४ मा १२ करोड ८० लाख चिनियाँ पर्यटकले विश्वका विभिन्न मुलुकको भ्रमण गरेका छन् । यसैगरी सन् २०२४ मा ६ करोड ८८ लाख विदेशी पर्यटकले चीन भ्रमण गरेका छन् ।
नेपाल पनि चिनियाँ पर्यटकका लागि उत्कृष्ट गन्तव्य रहिआएको छ । सन् २०२३ मा नेपाल भ्रमणमा आएका कुल १० लाख १४ हजार ८ सय ८२ पर्यटकमध्ये चिनियाँ पर्यटकको हिस्सा ६ प्रतिशत रहेको छ । सो वर्ष ६० हजार ८ सय ७८ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यसअघि सन् २०१४ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकमा चिनियाँ पर्यटकको हिस्सा १५.७ प्रतिशत थियो ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ मा कुल ११ लाख ४७ हजार ५ सय ६७ पर्यटकले नेपाल भ्रमण गरेका छन्, जसमध्ये चिनियाँ पर्यटकको हिस्सा ८.८८ प्रतिशत रहेको छ । सो वर्ष कुल १ लाख १ हजार ८७९ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यद्यपि संख्यात्मकभन्दा गुणात्मक पर्यटन प्रवद्र्धनमा जोड आवश्यक छ । गुणात्मक पर्यटनले मात्रै राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गर्न सक्छ । राष्ट्रिय तथ्यांक कार्यालय, नेपाल पर्यटन बोर्ड, नेपाल राष्ट्र बैंक र विश्व पर्यटन संगठनले संयुक्त रूपमा गरेको ‘टुरिजम सेटेलाइट एकाउन्ट’ नामक प्रारम्भिक अध्ययन प्रतिवेदनले नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३.७५ प्रतिशत रहेको देखाएको छ । यसैगरी अन्तर्राष्ट्रिय यात्रा तथा पर्यटन परिषद्को ‘ट्राभल एन्ड टुरिजम ः इकोनोमिक इम्प्याक्ट–२०२४’ नामक प्रतिवेदनमा उल्लेख भएअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा समग्र पर्यटन क्षेत्रको योगदान ६.१ प्रतिशत रहेको छ । आगामी सन् २०३४ सम्ममा यस्तो योगदान ७.१ प्रतिशत पुग्ने प्रक्षेपण पनि सो प्रतिवेदनमा गरिएको छ ।

सरकारको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रका कार्यक्रमको पुनर्संरचना गर्ने र पर्यटकीय वस्तुको बजारीकरण र विकासमा सहज पहुँचको व्यवस्था गरी नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उल्लेख गरिएको छ । यसैगरी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा पनि १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । यसैगरी सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशकको रूपमा पनि घोषणा गरेको छ । सरकारको यस्ता घोषणा, नीति तथा कार्यक्रम र बजेटमा समेत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न नीति तथा कार्ययोजना तर्जुमा गरिएको अवस्थामा ती नीति, घोषणा तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा सरकार तथा निजी क्षेत्र प्रतिबद्ध भए पर्यटन प्रवद्र्धनको लक्ष्य र उद्देश्य पूरा हुनेछन् ।

सरकारले नीतिगत रूपमा र निजी क्षेत्रले कार्यगत रूपमा पर्यटन प्रवद्र्धनको सहकार्य गर्ने प्रयत्न भइरहेकै बेलामा चिनियाँ सरकारको समेत सहकार्य जोडिन आएको सन्दर्भमा कमसेकम विश्वका विभिन्न मुलुकमा छरिने चिनियाँ पर्यटकमध्ये केहीलाई नेपालमा आकर्षित गर्न सकियो भने नेपालको पर्यटन क्षेत्रको विकासमा ठूलो टेवा पुग्नेछ । अहिले भ्रमणका लागि निस्कने चिनियाँ पर्यटकमध्ये नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको हिस्सा ०.०८ प्रतिशतमात्रै छ । कुल चिनियाँ पर्यटकमध्ये कमसेकम १ प्रतिशतलाई मात्रै नेपाल भ्रमणका लागि आकर्षित गर्ने हो भने पनि झन्डै १३ लाख चिनियाँ पर्यटक नेपाल आउनेछन् ।

चीन सरकारले नै चिनियाँ पर्यटकका लागि ‘नेपाल भ्रमण वर्ष, २०२५’ घोषणा गरेको अवसरमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिलाई आक्रामक र प्रभावकारी ढंगले सञ्चालन गर्दै अधिकतम चिनियाँ पर्यटकको भ्रमणको गन्तव्य नेपाल बनाउन सक्ने हो भने नेपालको पर्यटन क्षेत्रले छलाङ नै मार्नेछ । असल छिमेकीको नाताले चीन सरकारले नेपालको पर्यटन प्रवद्र्धनका लागि दिएको यो अवसरलाई अधिकतम उपयोग गर्न सके नेपालको पर्यटन क्षेत्रले उल्लेख्य उपलब्धि हासिल गर्न सक्नेछ । यो वर्ष चीन सरकार र त्यहाँका निजी क्षेत्रसँग आवश्यक सहकार्य गर्दै पर्यटन प्रवद्र्धनका अधिकांश कार्यक्रमलाई चीनकेन्द्रित गर्न सके चीन सरकारले अत्यन्तै सदाशयतापूर्वक घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष, २०२५’ बाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रबाट अर्थतन्त्रमा उल्लेखनीय योगदान गर्न नेपाल समर्थ हुनेछ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारहरू निर्माण भइरहेका छन् भने भएका पूर्वाधारहरूको स्तरोन्नतिका काम पनि भइरहेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य आन्तरिक विमानस्थलहरूको स्तरोन्नति र विस्तार कार्य पनि भइरहेका छन् । नेपाल भ्रमणमा आउने झन्डै ९० प्रतिशत पर्यटक हवाईमार्गबाट आउने गर्छन् । यो तथ्यलाई दृष्टिगत गर्दा उपर्युक्त पूर्वाधारहरूको विकासले पर्यटक आगमनमा सहजता आउने र समग्र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्