Logo

सिद्धार्थ हस्पिटालिटीको ‘क्यान्सरविरुद्धको खाना’ अभियान

काठमाडाैं- सिद्धार्थ हस्पिटालिटीले ‘क्यान्सरविरुद्धको खाना’ अभियान सुरू गरेको छ । सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले विश्व क्यान्सर दिवसका अवसरमा माघ २२ गतेदेखि अभियान सुरू गरिएको घोषणा गरेका हुन् ।

सिद्धार्थ हस्पिटालिटीका अनुसार खानामार्फत क्यान्सर रोगविरुद्ध लड्न जागरुकता जगाउनका लागि ‘विशेष स्वस्थकर मेनु’को तयार गरिनेछ । ताजा फलफूल, हरियो सागपात, अन्न, ओमेगा–३ युक्त खाना, एन्टी इन्फ्लेमेटरी मसलाभएको खानालाई क्यान्सर रोगविरुद्धका खानाका रूपमा प्रचारप्रसार गरिनेछ । अभियानमा सेफहरूले स्वस्थकर खाना कसरी पकाउने भनेर प्रत्यक्ष रुपमा जानकारी दिनेछन् ।

अभियानअन्तर्गत नै सिद्धार्थ हस्पिाटलिटीअन्तर्गतका होटल तथा रेष्टुरेन्टका डाइनिङ टेबलमा पोषण खानासम्बन्धी जानकारी दिने कार्डहरू राखिनेछन् । साथै क्यान्सर रोग विशेषज्ञसँग कार्यशाला र पोडकास्ट अन्तर्वार्ता पनि सञ्चालन गरिनेछ । पोषण तथा क्यान्सरविद्सँग योजनाबद्ध खानपान, अस्वस्थकर खाद्यपदार्थ पहिचान तथा सही परिणाममा कसरी भोजन गर्ने विषयबारे जानकारी दिइनुका साथै छलफल गरिनेछ ।

त्यसअवसरमा सहभागीले विज्ञसँग अन्तक्रियात्मक छलफल गर्न पाउने कम्पनीको भनाइ छ । क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले समुदायको संलग्नतालाई पनि प्राथमिकता दिइनेछ । अभियानमा सहभागीले ‘कुक टु कम्ब्याट क्यान्सर’ शीर्षकमा आफूलाई मनपर्ने रेसिपीबारे अरुलाई बताउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्